काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक सम्पन्न भएको छ । नेपाल र भारतबीच ऊर्जा खरिद विक्रि, निर्यात, उच्च क्षमताका प्रसारण लाइन, इनर्जी बैंकिङ लगायतका धेरै एजेन्डामाथि छलफल सँगै विगतमा भएको सम्झौता र भएका पहलहरुको बारेमा समिक्षा भएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए ।
नेपालले बढी हुने बिजुली निर्यातका लागि छिट्टै कानुनी बाटो खुल्ला गर्न भारत तयार देखिएको, उच्च क्षमताका प्रसारण लाइन, इनर्जी एक्सचेन्ज बजार लगायतका विषयमा पनि भारतले सकारात्मक प्रतिक्रिया दिएको उनले बताउ ।
नेपाललाई बढी हुने बिजुली बर्षायामअघि नै भारतीय बजारमा पुर्याउनका लागि कानुनी बाटो खुलाउन भारत सहमत भएको बुझिएको छ ।
इनर्जी बैंकिङ प्रणालीलाई पनि भारतले सकारात्मक रुपमा लिएको बुझिएको छ । नेपालको बिजुली भारतको इनर्जी एक्सचेन्ज बजारमा पहुँच विस्तार गर्न भारतको विद्युत् व्यापार निगम र नेपाल विद्युत् प्राधिकरण सम्झौता गर्ने सहमति भएको छ ।
प्राधिरकणले निर्यात गर्ने बिजुलीको परिमाण, विद्युत् महशुल रेट(दर) लगायतका कुरा निर्धारण गरी दुवै देशका विद्युत् व्यापार गर्ने निकायबीच सम्झौता गर्ने निर्णय भएको छ ।
त्यस्तै, भारतसँग न्यू बुटवल–गोरखखुर ४ सय केभी प्रसारणलाइन निर्माण गर्न भारत र नेपालको संयुक्त (जेभी) कम्पनी स्थापना गर्न सहमति भएको छ ।
त्यस्तै, न्यू नौतन्वा–मैनया १३२ केभी नयाँ प्रसारणलाइनको काम अघि बढाउन ‘ज्वाइन्ट फिल्ड भिजिट गर्ने सहमति भएको छ । नौतन्वामा सवस्टेशन कहाँ राख्ने भन्ने बिषयमा फिल्ड भिजिट गर्ने र त्यसपछि त्यस्को डीपीआर र लागत कति लाग्ने भन्ने बारेमा सहमति भएको अर्यालले क्यापिटल नेपाललाई जानकारी दिए ।
कोहलपुर नामपारा प्रसारण लाइन १३२ केभीको डबल सर्किटअन्र्तगत भारतीय भूभागमा बन्ने लाइन ‘डिपोजिट वर्क बेसिस’मा गर्ने भन्ने सहमति भएको छ । त्यस्का लागि डिजाइन र लागत अनुमानको विवरण भारततर्फबाट प्राप्त भएको अर्यालले बताए । विद्युत् प्राधिकरणले सम्झौता गरेर प्रसारण लाइन निर्माण अघि बढाउने सहमति भएको छ ।
स्तावित इनरुवा—न्यू पुणिर्या र न्यू लम्की—बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको अध्ययन प्रतिवेदनमाथि समिक्षा भएको छ । दुवै प्रसारण ग्रीड तथा लाइन निर्माण अघि बढाउन संयुक्त फिल्ड भिजिट गर्ने सहमति भएको छ
दुई देशले टनकपुरबाट नेपालले एक वर्षमा निःशुल्क पाउने ७ करोड युनिट बिजुली नेपालको माग र आपूर्तिका अवस्था हेरेर कुन महिनामा कति बिजुली पाउने भन्ने पुरानो कार्यतालिकालार्य पुनरावलोकन गरी नयाँ तालिका बनाउने भन्ने बिषयमा सहमति भएको छ ।
कैटाया—कुसाहा र रक्सौल—परवानीपुर १३२ केभी प्रसारण लाइनलाई डबल सर्किटमा विस्तार गर्न दुवै देशबीच सहमति भएको छ । दुवै प्रसारण लाइन छिट्टै अघि बढाउन र ‘प्रोगेस रिभ्यू’ भएको ऊर्जा मन्त्रालयका अधिकारीले बताएका छन् ।
दुवै देशले उर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने र द्विपक्षीय रुपमा विगतमा भएका पहल तथा प्रयासका प्रगतिबारे समीक्षा भएको छ । दुवै पक्षबीच अन्य विषय लगायत नेपाली उर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकीङ्गको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे पनि छलफल भएको थियो ।
एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरिएको र कार्यान्वयनमा द्रुत गतिमा अघि बढाउन सहमति भएको छ ।
बैठकमा भएका निर्णय र सहमतिका मुद्धाहरु अर्को बस्ने बैठकमा सम्झौता हस्ताक्षर आदान प्रदान हुने जनाएको छ । सहमतिबारे माइन्युटिङ आदानप्रदान नभएको र त्यसलाई अर्को बैठकमा अन्तिम रुप दिएर हस्ताक्षर हुने अर्यालले बताए
नेपालका तर्फबाट ऊर्जा सचिव दिनेश घिमिरे र भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइको नेतृत्व १७ सदस्यीय टोली भिडियो भर्चुअल बैठकमा सहभागीता थियो ।