काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक शुक्रबार ३ बजेदेखि सुरु हुने भएको छ । बिहीबारदेखि सुरु भएको दुईदेशीय ऊर्जा बैठकको दोस्रो दिन आज ऊर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइकाबीच दुई देशीय संयुक्त बैठक हुनेछ ।
बिहीबार नेपाल-भारत सहसचिव स्तरीय बैठकमा उठेका एजेन्डाभित्र नै रहेर छलफल हुने र सम्झौतामाथिका समझदारीपत्रमा हस्ताक्षर भइ आदान प्रदान हुने ऊर्जा मन्त्रालयका एक अधिकारीले क्यापिटल नेपालसँग बताए ।
‘आजको बैठक भर्चुअल हुनेछ । विगतमा उठाइएको एजेन्डा र सहसचिवस्तरमा भएका छलफल र प्रस्तावमा भएका बुँदाहरुमै केन्द्रीत रहेर छलफल हुनेछ’ ती अधिकारीले भने, ‘समझदारीपत्र हस्ताक्षर गरेर इलेक्ट्रिक माध्यम(स्क्यान) गरेर आदान प्रदान हुनेछ ।’
बैठकमा ऊर्जा खरिद बिक्री, निर्यात, उच्च क्षमताका प्रसारण लाइन, इनर्जी बैंकिङ लगायतका एक दर्जन एजेन्डामाथि छलफल भएको छ ।
यस्ता छन् मुख्य एजेन्डा
भारतको ‘इनर्जी एक्सचेन्ज बजार’मा नेपाल विद्युत प्राधिकरणलाई प्रवेश दिन आग्रह गर्नेछ । वर्षातको समयमा बढी हुने बिजुली भारत पठाउने र हिउँदमा ल्याउन नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’ प्रणालीको कार्यान्वयनमा पनि नेपाल पक्षले जोड दिँदै अाएकाे छ ।
बैठकमा भारत नेपाल-भारत–बंगलादेश ग्रिड कनेक्टीभिटीबारे पनि छलफल हुनेछ । त्यस्तै, भारतसँग न्यू बुटवल–गोरखखुर ४ सय केभी प्रसारणलाइन निर्माणका लागि भारत र नेपालको संयुक्त (जेभी) कम्पनी स्थापना गर्नेबारे छलफल भइ निष्कर्षमा पुग्ने नेपालकाे तयारी छ ।
भारतसँग यसअघि नै यो प्रसारणलाइन नेपाल र भारतको ५०र५० प्रतिशत लगानी रहने गरी निर्माण गर्ने सहमति भइसकेको छ । त्यसका लागि जेभी कम्पनी स्थापना गर्ने भनिएपनि अझै बनेको छैन ।
बैठकमा न्यू नौतन्वा–मैनया १३२ केभी नयाँ प्रसारणलाइनकाे बिषयमा पनि सचिवस्तरीय बैठकमा छलफल हुनेछ । प्रस्तावित इनरुवा(न्यू-पुणिर्या र न्यूलम्की)बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको अध्ययन प्रतिवेदनमाथि पनि बैठकमा छलफल भइ ठाेस सम्झाैता हुने मन्त्रालयका अधिकारी बताउँछन् ।
दुई देशले टनकपुरबाट नेपालले एक वर्षमा निःशुल्क पाउने ७ करोड युनिट बिजुलीबाहेक अन्य बिजुली आयात भए कति शुल्क लगाउने भन्नेबारे पनि छलफल हुँदैछ ।
कैटाया कुसाहा र रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई डबल सर्किटमा विस्तारको एजेन्डाले पनि बैठक प्रवेश पाउनेछ ।