काठमाडौं । सडक निर्माण कार्य अलपत्र छाडेपछि सर्वसाधारणबाट विभिन्न स्वरुपका विरोध हुँदै आएका छन् । कहिँले ठेकेदारको फोटो पोल-पोलमा त कहिले मानव सांग्लो बनाएर नै ठेकेदारको विरोध गर्ने गरिएको छ ।
यसैबीच , कञ्चनपुरमा पनि हुलाकी सडक निर्माण कार्य अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसिएको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिँदा पनि काम पूरा नभएपछि त्यहाँका स्थानीयले ठेकेदार हराएको भन्दै फोटो सार्वजनिक स्थानमा टाँसेका हुन ।
निर्माण व्यवसायीको ढिलासुस्ती र लापरवाहिका कारण बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा हालसम्म ४ किलोमिटर पनि काम नभएको स्थानीयको आरोप छ ।
गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हुलाकी सडकको हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । जसले गर्दा स्थानीयले दक्षिण बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रका स्थाहरुले सास्ती खेप्दै आएका छन् ।
उनीहरुले ठेकेदारलाई नैतिक दवाव दिन आफूले उनीहरुको फोटो सार्वजनिक स्थानमा टाँसेको बताएका छन् ।
यता, हुलाकी सडक योजना कार्यालय धनगढीले गत मंसिरमा नै योजनाको म्याद सकिएको बताउँदै म्याद थप नभएकोले निर्माण कम्पनीहरु दसैंपछि काममा नफर्किएको जनाएको छ ।
डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर र बेल्डाडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ ।
यस्तै बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक निर्माणका लागि बाबा–हंश– सिद्धीसाइ जेभीसँग सम्झौता भएको छ ।
तीनवटै प्याकेजको तीन वर्षका काम सम्पन्न गर्नेगरी २०७३ फागुनमा ठेक्का सम्झौता भएको थियो ।
यसअघि, सुर्यबिनायक धुलिखेल सडक अलपत्र छाडेको भन्दै त्यहाँका स्थानीयले पनि ठेकेदार शैलुङ कन्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो पोल पोलमाट टाँसेका थिए ।