काठमाडौं । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनामा देखिएको प्राविधिक त्रुटि हेर्न रिम्भु विज्ञ टोली पठाएको छ ।
उक्त टोलीले शुक्रबारदेखि मेलम्ची खानेपानी आयोजनाको टनेल गेट र सुरुङमार्गको अध्ययन गर्नेछ ।
टोलीले १० दिनसम्म अध्ययन गरेर आयोजना पक्षलाई सुझाव दिने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
‘एडीबी आफैँले रिभ्यू टिम पठाएको छ । बिज्ञहरुको उक्त टोलीले आजदेखि फिल्ड अध्ययन गर्दैछ । अडिट टनेल गेटको मात्रै नभइ समग्र काम हेरेर सुझाव दिन्छ । सुझावका आधारमा गेट फेर्ने काम भए पनि सुरुङमार्गमा पानी हाल्ने काम हुन्छ’ उनले भने, ‘उक्त टोली १० दिनसम्म रहन्छ, उसले ‘गो अहेड’ भनेपछि पानी हाल्ने काम हुन्छ, र पुरानै तालिकाअनुसार काम हुन्छ ।’
यसअघि आयोजनाको सुरुङमार्गमा पानी परीक्षणका क्रममा भत्किएको टनेलको गेट फेर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले मंसिर १५ भित्र सुरुङमार्गमा पानी परीक्षण गर्न सकिने कार्यतालिका बनाएको थियाे । तर, साे कार्यतालिका अनुसार काम हुन सकेन ।
अडिट टनेलमा चारवटा गेट जडान गर्नुपर्छ । यसअघि अस्थायी बाँधबाट पानी परीक्षण गर्ने क्रममा १७ नम्बर अडिट टनेलको गेट फुटेपछि पानी परीक्षण कार्य स्थगित भएको थियो ।
आयोजनाको गेट गम्भीर प्राविधिक त्रुटिका कारण फुस्किएको यसअघिको छानबिन समितिले समेत निष्कर्ष निकालेको थियो ।
त्यतिबेला अस्थायी बाँधबाट पानी परीक्षण गर्दा एउटा अडिट टनेलमा रहेको गेट भत्किदा अन्य ४ वटा अडिट टनेलका गेट काम नलाग्ने भएका थिए ।
आयोजनाको सुरुङमार्गबाट पानी हालेर स्थायी रुपमा परीक्षण पूरा गरी सुन्दरीजलमा पानी झार्न दुई महिना लाग्ने देखिन्छ ।
त्यस हिसावले हेर्ने हो भने, माघको मसान्तसम्म सम्म सुन्दरीजलमा पानी झर्नुपर्छ । माघ अन्त्यसम्म सुन्दरीजलमा पानी झर्ने कुरामा अझै पनि सरकारी कर्मचारी ढुक्क छैनन् ।