काठमाडौं । साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको ५७ प्रतिशत काम सकिएको छ ।
आयोजनाबाट आगामी एक वर्षभित्र बिजुली उत्पादनको लक्ष्य राखिएको छ । हालसम्म आयोजनाको सुरुङ खन्ने काम ७२ प्रतिशत सकिएको छ । आयोजनाको सुरुङको लम्बाइ ७ किलोमिटर छ । यस्तै पेनस्टक पाइपको काम सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको लमाने तिङला सवस्टेशनमा जोड्नेछ । कम्पनीले १२ किलोमिटर लामो प्रसारण लाइन बनाउनेछ ।
यो पनि हेर्नुहोस
साहस ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने
आयोजनाबाट वार्षिक ५२ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । कोरोना भाइरस महामारीले गर्दा आयोजनाको काम केही प्रभावित भएको छ । यसअघि इटालियन ठेकेदार सीएमसीले छाडेपछि नेपाली कम्पनी सीई कन्ष्ट्रक्सनले आयोजनाको सिभिल निर्माणको काम गरिरहेको छ ।
आयोजना सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा पर्छ । आयोजनाको बाँध सोलुखोला र विद्युतगृह दुधकोसी नदी किनारमा पर्छ ।
आयोजना बनाउन ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी भएको छ । कम्पनीमा संस्थापक सेयर लगानी २ अर्ब ४५ करोड रुपैयाँ छ ।
आयोजनाले थप लगानी जुटाउन प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सर्वसारण, कर्मचारी र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । आईपीओको प्रत्याभूतिकर्ता (अण्डरराइटर) मा नागरिक लगानी कोष रहेको छ । आईपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा बीबी प्लस रेटिङ गरेको छ ।