काठमाडौं । बुटवलबाट बुधबार साँझ ८ बजे रात्री बसमा काठमाडौंका लागि हिँडेका रविन श्रेष्ठ दाउन्ने नजिकै आएर जाममा परे । उनी एकदुई घन्टा होइन १२ घन्टा जाममा परेपछि बस अघि बढ्यो ।
साढे ३ किलोमिटर जाममा सयौं बस, कार, जिपमा हजारौं यात्रु रातभर बस्नुपरेको श्रेष्ठको गुनासो थियो । जाम खुलाउने प्रयासमा स्थानीय प्रहरी, प्रशासन र जनप्रतिनिधिले चासो नदेखाएको अर्का यात्रु रोहन श्रेष्ठको दुखेसो थियो ।
बुधबार नै बुटबलबाट काठमाडौंका लागि गाडी चढेका पत्रकार भागवत भट्टराईले पनि यस्तै नियति भोग्नुपर्यो । लामो समय जाममा पर्दा उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै भनेका छन्, ‘हैट, यात्रा १० घण्टामा पनि बुटवलबाट दुम्किबास आउँदैन ।’
लामो समयसम्म पनि नारायणघाट–बुटवल सडकअन्तर्गत पर्र्नेे नवलपरासी–बर्दघाटदेखि सुस्ता पूर्व) गैंडाकोटको दाउन्नेसम्मको सडकखण्ड मर्मत हुन नसक्दा अहिले संयांै यात्रुले दैनिक रूपमा यस्तै सास्ती भोग्नुपरेको छ ।
विगत १० वर्षदेखि सो सडकखण्ड मर्मत भएको छैन । फलस्वरूप, दैनिक जाम, धुँलो, हिलो र दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मर्मत हुनुपर्नेमा झन जीर्ण बन्दै गएको छ ।
सडक विभागका अनुसार, प्रत्येक ५/५ वर्ष सडक मर्मत हुनुपर्ने हो । तर, सो सडकखण्ड वि.सं २०६७ सालमा कालोपत्रेपछि अहिलेसम्म मर्मत भएको छैन । त्यसयता मर्मत हुन नसक्दा अहिले कालोपत्रेको कुनै नाम निशान देखिँदैन ।
२०७२ सालमै मर्मत भइसक्नुपर्ने सडकखण्ड सरकारको उदासीनताले हालसम्म पनि मर्मत तथा विस्तार काम अघि बढ्न सकेको छैन ।
ठूला—ठूला खाल्डाखुल्डीसँगै वर्षायाममा हिलो र हिउँदमा सडक धुलाम्मे हुने गरेको छ । अहिले उक्त सडकको बीचमै कुनै मालबाहक गाडी वा ट्रक बिग्रियो भने घण्टौं सवारी जाम हुने गरेको यात्रुहरुको गुनासो छ ।
निकै ढिलो गरी वि.सं. २०७५ माघमा उक्त सडकखण्ड मर्मत गर्न ठेक्का लगाइएको थियो । ठेक्का लागेको दुई वर्ष बित्नै लाग्दा सडकको भौतिक प्रगति २ प्रतिशत मात्रै छ । ४२ महिनामा सक्नुपर्ने गरी सडकको मर्मत तथा निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको थियो । उक्त सडकखण्डको मर्मत गर्न झन्डै साढे ६ अर्ब लागत अनुमान गरिएको छ ।
ठेक्का लिएको कम्पनीले २२ महिनामा २ प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए । वन, जग्गालगायतका समस्याका कारणले मुख्य निर्माणको काम प्रभावित भएको उनको तर्क छ ।
कोरोना महामारीका कारण मजदुर र निर्माण सामग्री आपूर्तिमा असहजता हुँदा पनि अपेक्षित रूपले काम हुन नसकेको उनी बताउँछन् ।
गत भदौमा दाउन्नेमा सडक नै भाँसिएर पहिरो गएपछि यातायात एकतर्फी चलेको थियो । तर, अहिले पनि सो सडक मर्मत भएको छैन । जसका कारण पूर्णरूपमा दुईतर्फी रूपमा आवत–जावत नखुल्दा सवारी जाम हुने गरेको छ ।
साढे ३ किलोमिटर सडक साँघुरो र जीर्ण हुँदा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । दाउन्नेमा ३ लेन र अरू ठाउँमा ४ लेनको बनाउने आयोजनाले जनाएको छ ।
तर, अहिलेसम्म पनि सडकको मुख्य मर्मतको काम भने अघि बढ्न सकेको छैन । जीर्ण अवस्था नहुँदा नारायणगढदेखि बुटवल पुग्न दुई घण्टा लाग्थ्यो । तर, अहिले बुटवल पुग्न १० देखि १२ घण्टा लाग्ने गरेको यात्रुको दुखेसो छ ।
कुल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको हो ।
नारायणी पुलदेखि दुम्कीबाससम्मको सडक अन्त्यन्त जोखिमपूर्ण छ । यातायात बन्द गरेर सडक मर्मत गर्न नसकिएको आयोजना पक्षले जनाएको छ ।
बुटवलबाट पूर्व आउने ठूला तथा साना यातायातका साधन यही सडक हुँदै गुड्ने गर्छन् । सडकको क्षमताभन्दा बढीका मालबाहक गाडी, ट्याक्टर, ट्रक लगायतका ‘हेभी इकुप्मेन्ट’का सवारी नरोकिँदा सडकको अवस्था बिग्रेको नवलपरासीका स्थानीय सुरेश विश्वकर्मा बताउँछन् ।
सडक निमार्ण कार्य सुरु भएदेखि कहिले वन, विद्युत्, टेलिकम र निकुञ्ज जस्ता सरकारी कार्यालयहरुको असहयोगले ढिला भएको आयोजना पक्षले जनाएको छ ।
सडक विस्तारमा ६ वटा वन्यजन्तुमैत्री पुल, ८७ वटा ठूला कल्भर्ट, २८ वटा साना आकारका कल्भर्ट निर्माणको काम भइरहेको छ । गैंडाकोट दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने गरिने भए पनि तर अहिले एउटा पुलको मात्रै निर्माण कार्य सुरु भएको छ ।