काठमाडौं । बजार सक्रिय भइरहेका बेला नियामक निकाय धितोपत्र बोर्डले कालोधनको अफवाह फैल्याएको छ । जबकि, सेयर कारोबार प्रणालीमा कालोधनको प्रश्न आउँदैन । यसमा बैंक तथा वित्तीय संस्थामार्फत अनलाइनबाट भुक्तानी हुने भएकाले कालोधन भए पनि त्यो छानबिन गर्ने अधिकार बोर्डको हातमा हुँदैन ।
तर, यहाँ बोर्डले सेयर बजारमा कालोधन भित्रिएको हुनसक्ने भन्दै अध्ययन गर्ने भन्ने जस्ता समाचार बाहिरिएपछि बजार प्रभावित भएको छ । तर, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कालोधनको विषयमा बोर्डलाई हेर्न कुनै अधिकार नभएको बताएका छन् ।
‘यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन,’ उनले भने, ‘बोर्डले कालोधनको विषय अहिलेसम्म केही पनि नबोलेको र बोल्न पनि मिल्दैन ।’ कालोधनका बारेमा बोर्डले अध्ययन गर्ने भनेर अफवाह मात्रै फैल्याइएको गिरीले जानकारी दिए ।
बजारमा कालोधन भित्रिएको भए पनि त्यसको अध्ययन केन्द्रीय बैंकले गर्छ । कालोधन भएको राष्ट्र बैंकले पुष्टि गरेको अवस्था र त्यस्तो धनले सेयर किनेको रहेछ भने मात्रै बोर्ड आकर्षित हुने हो । बैंक तथा वित्तीय संस्थामा आउने ठूला रकमहरूको विवरण हरेक दिन तथा साताभित्र राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइ, सम्बन्धित सुपरीवेक्षण विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा जान्छ ।
सेयर ब्रोकरमार्फत कति कारोबार हो भयो भन्ने कुरा मात्रै बोर्डले हेर्न सक्छ । तर, कुन बैंकमार्फत कति रकम परिचालित भयो भनेर बोर्ड मिल्दैन र सक्दैन ।
याे पनि पढ्नुस् ः सेयर बजार अफवाहको सिकार, पुरानो उच्च अंक (१८८१.४५) तोड्ला ?
त्यस्तो शंकास्पद रकम आएको देखिएमा तत्कालै केन्द्रीय बैंकले त्यस्तो रकम रोक्का राख्न (कारोबार नगर्न) बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा नै प्रयोजन खुलाउनुपर्छ । १० लाख रुपैयाँभन्दा बढीको नगद लगेर जम्मा गर्न पाइँदैन ।
तर, केही दिनयता बोर्डले कालोधनको विषयमा अध्ययन गर्ने भनेर हल्ला फिजाइएको छ । बोर्डको अधिकारका बारेमा नबुझी सूचना प्रवाह गरेको बोर्डका कार्यकारी निर्देशक गिरीले बताए ।
अहिले सेयर बजारमा नगद कारोबार हुँदैन । हरेक कारोबार बैकिङ प्रणालीबाट हुन्छ । केही वर्ष अघिसम्म सेयर खरिद बिक्री गर्दा नगद नै बुझाउने प्रचलन थियो । त्यो बेला कालोधनको प्रयोग हुन सक्थ्यो । तर, अहिले बैंकिङ प्रणालीबाट किनबेच हुने भएकाले यहाँ कालोधन प्रयोग भए केन्द्रीय बैंकले हेर्न सक्नेछ । तर, बोर्डले होइन् । यहाँ, बोर्डले सेयर बजारमा कालोधन भित्रिए÷नभित्रिएका बारेमा केही बोल्न सक्दैन ।