काठमाडौं । बजारमा एकपछि अर्को अफवाहहरु फैलिने र फैल्याउने प्रवृत्ति बढेपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) घट्दो क्रममा देखिएको छ ।
२०७१ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सनको बाटो समाएकै अवस्थामा केन्द्रीय बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेर मार्जिन कर्जा धितो पुनरावलोकन गर्ने घोषणासँगै फैलिएका अफवाहहरुले एकपछि अर्को गर्दै बजार प्रभावित भएको छ ।
गत शुक्रबार मौद्रिक समीक्षा भएपछि आइतबार १२३ अंकले बजार घटेको थियो । यद्यपि, विभिन्न अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले राष्ट्रबैंकले मार्जिन धितोमा पुनरावलोकन नगर्ने भन्ने खालका खबरहरु ल्याए । त्यसैको आधारमा टेकेर सोमबार बजार ७० अंकले माथि उक्लिएको थियो । तर, मंगलबार र बुधबार भने बजार निरन्तर ओरालो लागेको छ ।
बुधबार नेप्से सूचक ३९ दशमलव ६ अंकले घटेर १९५५ दशमलव ७५ अंकमा रोकिएको छ । यद्यपि, कारोबारको अन्त्यतिर १९४८ दशमलव ९९ अंकसम्म झरेको थियो । कारोबारको सुरुमै २००८ दशमलव ७४ अंकमा चढेको नेप्से दिनभर ६० अंकको उतार चढाबभित्र कारोबार भएको छ । मंगलबार पनि नेप्से सूचक ९ अंकले घटेको थियो ।
याे पनि पढ्नुहाेस, सेयर धितो कर्जा नीति परिवर्तन र लगानीकर्ताको मनोदशा
बजार सक्रिय भइरहेका बेला धितोपत्रबोर्डले कालो धनको अफवाह फैल्याएको छ । जबकि, सेयर कारोबार प्रणालीमा कालो धनको प्रश्न आउँदैन । यसमा बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन भुक्तानी हुने भएकाले कालो धन भए पनि त्यो छानबिन गर्ने अधिकार बोर्डको हातमा हुँदैन ।
त्यो कालो धन भए पनि राष्ट्र बैंकले नै खोजी गर्छ । कालो धन भएको राष्ट्र बैंकले पुष्टि गरेको अवस्था र त्यस्तो धनले सेयर किनेको रहेछ भने मात्रै बोर्ड आकर्षित हुने हो । बैंक तथा वित्तीय संस्थामा आउने ठूला रकमहरुको विवरण हरेक दिन तथा साताभित्र राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइ, सम्बन्धित सुपरीवेक्षण विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा जान्छ ।
याे पनि पढ्नुहाेस, योजना आयोगका उपाध्यक्ष कँडेलले भने, ‘सेयर बजार अस्वाभाविक बढ्यो, नियन्त्रण गर्नुपर्छ’
त्यस्तो संकास्पद रकम आएको देखिएमा तत्कालै केन्द्रीय बैंकले त्यस्तो रकम रोक्का राख्न (कारोबार नगर्न) बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा नै प्रयोजन खुलाउनुपर्छ । १० लाख रुपैयाँभन्दा बढीको नगद लगेर जम्मा गर्न पाइँदैन ।
राष्ट्र बैंकको सेयर धितो पुनरावलोकनले पनि बजारलाई ठूलो असर पुर्याउँदैन । किनभने, सेयर धितोमा कर्जा एकदमै न्यून छ । अहिले पनि सेयर लगानीकर्ताहरुले सेयर धितो राखेर कर्जा लिन खासै इच्छा देखाउँदैनन् ।
सेयर धितो राखेपछि आफूलाई मन लागेको बेलामा त्यस्तो सेयर बेच्न सकिँदैन । किनभने, धितो राखिएको सेयरको पैसा तिर्न (सावाँ तथा ब्याज) र रोक्का फुकुवा गर्न भनेजति सजिलो छैन । त्यसका लागि कम्तीमा एक दिन नत्र दुई दिन समय लाग्छ । रोक्का फुकुवा हुँदासम्म बढेको सेयर मूल्य घटेर तल झरिसकेको हुन्छ ।
यस्तो पीडा भोग्नुपर्ने भएकाले सामान्यतयः छिटो कारोबारी गर्नेहरुले बैंकबाट कर्जा लिएर लगानी गर्दैनन् । यो बेला कतिपय कम्पनीहरुले लाभांश घोषणा गरेर साधारणसभा पनि सकिएको भने कतिपय साधारणसभाका लागि बुक क्लोज गरेको अवस्थामा छन् । लाभांश दिएका कम्पनीहरु सेयर मूल्य समायोजनले पनि बजार सूचक घटाउन केही हदसम्म सहयोग गरेका छन् ।
अर्कोतिर कतिपय कम्पनीबाट लगानीकर्ताले आशातित प्रतिफल नपाएपछि केही निराश देखिएका छन् । त्यसको असर पनि बजारमा परेको छ । भोलिका दिनमा लाभांश घोषणा नगरेका कम्पनीहरुले पनि लाभांश कटौति गर्ने हुन कि भन्ने चिन्ता लगानीकर्तामा छ । बजार बढे पनि यो सिजन सामान्यतयः उच्च गतिले अघि बढ्ने बेला होइन । किनभने, यस अघिका उछालहरु विशेषा गरी वैशाखपछि साउन-भदौसम्म देखिएका छन् । अहिले सेयर खरिद गर्नु भनेको थारो गाई पालेजस्तै ठान्छन् कतिपय लगानीकर्ताहरु । त्यसैको प्रभाव पनि बजारमा परेको मान्न सकिन्छ ।
महत्वपूर्ण कुरा, बजार घट्नुमा लगानीकर्ताहरुले विगतको कारोबारबाट क्षणिक नाफा देखेर त्यो नाफा बुक गर्न खोज्दाको परिणाम सेयर मूल्यमा परेको हो । अहिले पनि कतिपय कम्पनीहरुको सेयर मूल्य न्यूनतम विन्दूमै छन् । निरन्तर लाभांश दिइरहेको कम्पनी भन्दा बर्षौदेखि लाभांश नदिएका तत्कालै लाभांश दिने अवस्था पनि नरहेका कम्पनीको सेयर मूल्य बढाएर कारोबार गराउने प्रवृत्ति पनि देखिएको छ ।
यसको असर पनि बजारमा परेको छ । त्यस्ता कम्पनीहरुको सेयर मूल्य बढी बढे पनि बजार हिस्सा कम हुने तर, बजार हिस्सा बढी भएका कम्पनीहरुको सेयर मूल्य घट्ने कारणले बजारमा गिरावट आएको हो ।
बुधबार कारोबार रकम ४ अर्ब ७४ करोडमा सीमित भएको छ । घटेको बजारमा कारोबार रकम पनि विस्तारै घटेको अनुभूति दिलाएको छ । यसले बजार अझै केही घट्छ भन्ने संकेत गर्छ । मंगलबार पनि कारोबार रकम घटेर ५ अर्ब ७१ करोडमा सीमित भएको थियो । बजारले बुल ट्रेण्ड समाएको हो भने पुरानो उच्च अंक १८८१ नछुँदै माथि चढ्न थाल्छ ।
यसको संकेत बुधबारको कारोबार प्याट्रनले पनि देखाउँछ । उच्च अंकबाट घट्दै गरेको बजार न्यूनतम विन्दूबाट कारोबार समय सकिँदा केही उकालो लागेर रोकिएको छ ।