कोरोनाले पूर्वाधार क्षेत्रमा पारेको असरलाई सामान्यतयाः तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव भनेर हेर्न सकिन्छ । कोरोनालाई झट्ट हेर्दा यो जनस्वास्थ्यको महामारी हो ।
यस प्रकारको महामारी लगभग सय वर्षपछि अहिले सिंगो संसारले एकसाथ भोगिरहेको छ । योभन्दा पहिले पनि सार्सलगायत यस्ता थु्रप्रै महामारी आएका थिए । तर, तिनीहरूले मुख्यतः जनस्वास्थ्यमा मात्र ठूलो असर पारेका थिए । तर, यति बृहत् रूपमा विकासको स्वरूपमै फेरबदल ल्याउने गरी प्रभाव अनुभव गरिएको थिएन ।
कोरोनाले संसारभर नै आधुनिक समाजले अभ्यास गरिरहेको विकासको मोडेलमाथि नै धक्का दिइरहेको छ । यसपटक आर्थिक वृद्धि, भौतिक विकास, अन्तर्राष्ट्रिय व्यापार, विश्वव्यापीकरण, विश्व उत्पादन श्रृङ्खला र वितरण प्रणालीमै प्रहार भएको छ । उदाहरणका लागि चीनमा बन्ने मोबाइल फोनका विभिन्न पार्टस्हरू संसारका विभिन्न देशमा तयार गरिन्छन्, ती पाटर््सलाई चीनमा लगेर जोडजाड पारिन्छ र हाम्रो हातमा भएको मोबाइल फोन तयार हुन्छ । यसरी बनेको फोन फेरि चीनबाट विभिन्न देशमा पठाइन्छ । यस प्रकारको विकेन्द्रीकृत उत्पादन प्रणालीलाई कोरोनाको ठूलो प्रभाव पारिरहेको छ, र यसमा उल्लेख्य फेरबदल आउने आँकलन गरिँदैछ ।
भौतिक पूर्वाधारको हकमा पनि सहरी पूर्वाधारका रूपमा रहेको एक सहरदेखि अर्को सहर जोड्ने अन्तरआबद्धता, एक देशदेखि अर्को देशमा हुने हवाई उडानलगायतका विषय पछिल्ला सय वर्षको विकास अवधारणा र त्यसबाट निस्सृत सोचका परिणाम हुन् । यसरी हामीले अपनाएको विकासको शैलीलाई विभिन्न तहमा फेरबदल वा परिस्कृत गर्नुपर्ने देखिँदैछ ।
विशेषगरी देश–देशबीच हुने विभिन्न क्षेत्रको अन्तरआबद्धता र सेवा सञ्चालन प्रणाली कस्तो हुने भन्ने नयाँ बहसको विषय उठान भएको छ । यसले जलवायु परिवर्तनसम्मको विषयलाई उठाएको छ । खासगरी वातावरण र विकासको सन्तुलन नहुँदा अहिलेको संकट आएको हो कि भन्ने सोच पनि विकास हुँदै गएको छ । यसकारण भौतिक विकासको प्रक्रियामा त्यसलाई पनि फरक हिसाबले सन्तुलन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
यसकारण तत्कालीन प्रभावको रूपमा हाम्रा राष्ट्रिय गौरवका आयोजनादेखि विभिन्न तहका आयोजनामा सम्पन्न हुनमा ढिलाइ भएको छ । तर, नेपालमा विकास आयोजनाहरू समयमा सम्पन्न नहुने पुरानै समस्या पनि थियो । विनियोजित बजेट खर्च नहुने र गुणस्तरलगायतका समस्या पनि थिए । मेलम्चीजस्ता आयोजना हरेक वर्ष दसैंमा पानी आउँछ भन्ने तर, नआउने प्रवृत्ति रहस्यमय बन्दै गएको थियो ।
कोरोना र त्यसपछि सरकारले गरेको लकडाउनले काम हुन पाएन । हाम्रा अधिकांश पूर्वाधार आयोजना श्रममा नै आधारित भएकाले पनि संक्रमणको जोखिम हुने भएपछि त्यसको प्रभाव पर्यो । निर्माण सामग्री निर्माण स्थलमा पुर्याउने ल्याउने लैजाने समस्या आए । ती काम बन्द हँुदा स्वाभाविक रूपमा पूर्वाधारमा पूर्वाधार क्षेत्रमा नकारात्मक प्रभाव पर्यो ।
ढिलाइ भएपछि फेरि म्याद थप गर्ने प्रक्रिया थालनी गर्ने र अन्य व्यवस्थापन मिलाउने जस्ता विषय पनि सम्बोधन गर्न समय लाग्ने भयो । यसरी पूर्वाधार आयोजना ढिलाइ हुने बित्तिकै त्यसको प्रत्यक्ष असर हाम्रो अर्थतन्त्र (प्रणाली) पर्ने नै भयो ।
पूर्वाधार आयोजनाको बजेट खर्च हुँदा भौतिक संरचना बन्ने मात्र होइन यसले गर्दा हुने वित्तीय प्रवाहले अर्थतन्त्रलाई उद्वेलित (भाइब्रेट) गर्ने पनि हो । त्यसैले पूर्वाधार आयोजनाको काम रोकिएर सरकारी बजेट कम खर्च हुँदा यसले निजी क्षेत्रमा नगद प्रवाहको समस्यालगायत अर्थतन्त्र नै शिथिलताको अवस्थामा जाने परिस्थिति आउन सक्छ । जसको असर बैंकिङ क्षेत्रदेखि निर्माण सामग्री उत्पादन गर्ने उद्योगसम्मले भोग्नुपर्छ ।
पूर्वाधारमा कोरोनाः चुनौतीसँगै अवसर
अहिलेको संकटलाई समस्या र चुनौतीसँग मात्र जोड्ने गरिएको छ । तर, हामीले भविष्यतर्फ फर्केर हेर्ने हो भने अवसरको रूपमा पनि यसलाई लिनुपर्छ । हाम्रा पूर्वाधार कस्ता छन् र तिनीहरूमा कस्तो परिवर्तन ल्याउने पर्नेछ भन्ने विषयलाई पनि ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ । खासगरी नेपालजस्तो देशका लागि यो विषय महत्वपूर्ण छ । जहाँ भौतिक विकासको प्रारम्भिक चरणमा हामी छौं ।
हामीले अन्य विकसित देशले गरेका गल्तीहरूबाट सिक्ने र त्यस्तो गलत गर्नबाट रोक्ने सक्नेछौं । अहिलेको महामारीले विकासित देशले विकास गरेका सहरी विकासका कतिपय स्वरूप यही नभएको देखाएको छ । जस्तो कि, करोडाैं जनसंख्याका ठूलाठूला केन्द्रीकृति सहर, उच्च जनघनत्व, अत्याधिक मात्राको सहरी आवागमन आदि । अब त्यसलाई परिवर्तन गर्न पनि सजिलो छैन । किनभने, त्यसले एउटा आकार ग्रहण गरिसकेको छ । तर, नेपालजस्तो देशले तमाम अनुभवबाट सिकेर पूर्वाधार विकासको नयाँ मोडेल प्रस्तुत गर्न सक्छ । यो महामारीलाई ठूलो सिकाइ अनुभवको रूपमा लिन सकिन्छ ।
अर्को महत्वपूर्ण विषय भनेको अहिलेसम्म हामीले दिगो विकास भनिरहेका थियाैं। तर, अब लचक (रिजिलियण्ट) सहितको दिगो विकास मोडेललाई पनि अपनाउनुपर्ने भएको छ । अब दिगो मात्र भएर पुगेन त्यो रिजिलियण्ट पनि हुनुपर्ने देखियो । जसले ठूला–ठूला महामारी र प्रकोपलाई पनि थेग्न सकोस् । त्यस्तो भौतिक प्रणालीको विकास गर्ने यात्रातर्फको यो प्रस्थान विन्दु हुनसक्छ । यसकारण हाम्रो जस्तो देशका लागि त विकास प्रणालीमै परिवर्तन गर्ने अवसरका रूपमा पनि महामारीलाई लिन सकिन्छ । विशेष गरी अहिलेसम्म पूर्वाधार विकासको जे–जस्तो पद्धति अबलम्बन गरिरहेका छांै, त्यसमै पुनर्विचार गर्नुपर्ने भएको छ ।
महामारीसँग लड्ने रणनीति र योजना
नेपालको पूर्वाधार क्षेत्रमा अहिले भोगिरहेको महामारी नहुँदा पनि नीतिगत र व्यवस्थापनको विषय सबैभन्दा कमजोर कडीको रूपमा रहेको थियो । सबैभन्दा धेरै समस्या भोगिरहेको क्षेत्र यही हो । कानुनी, नीतिगत र आयोजना व्यवस्थापनको हरेक तह समस्यामा रुमल्लिरहेको छ । त्यो किन यसरी समस्याग्रस्त भइरहेको छ भन्ने विषय छुट्टै छलफलको विषय हुनसक्छ ।
हामीसँग पूर्वाधार विकासको एउटा प्रभावकारी प्रणालीगत संरचना नै बनेको देखिदैन । हामीले मानेको विकासको पद्धति भनेको तदर्थ हिसाबले टीपीएका टुक्रे आयोजनालाई बजेट विनियोजन गरेर त्यसैलाई पूर्वाधार विकासको मोडेल भनिरहेका छाैं। चाहे त्यो ठूला–ठूला रंगशाला बनाउने विषय होस, वा अन्तर्राष्ट्रिय सभाहल निर्माण होस् वा राष्ट्रिय गौरवकै आयोजना किन नहोस् ।
पूर्वाधार आयोजनाहरू कुनै गुरुयोजनामा आधारित छैनन् । रेल, सडक, हवाई जहाजलगायतका पूर्वाधारबीच प्रभावकारी समन्वय भएको पाइँदैन । योजना र गुरुयोजनाको तहमा बृहत् गृहकार्य गरेपछि मात्र पूर्वाधार संरचना बनाउनु सबैभन्दा प्रभावकारी हुन्छ । तर, अहिले जथाभावी निर्माण गर्ने गरेको कारण पनि पछि समस्या आउने सम्भावना बढ्दै गएको छ ।
कतिपय अवस्थामा दृष्टिकोण बिनाको आयोजना निर्माण गर्नु पनि ठूलो समस्या बन्न पुग्छ । गृहकार्य बिना आयोजना बनाउने हाम्रो परिपाटीले गर्दा त्यसले पार्ने सामाजिक, आर्थिक र अन्य पक्षको प्रभाव अनुमान हुन सक्दैन । यसले अन्ततः समस्या ल्याउन सक्छ । यसकारण जसरी पूर्वाधार आयोजना अगाडि बढाउनुपर्ने थियो । त्यसरी काम भइरहेको छैन ।
अब यो महामारी भएपछि गर्नुपर्ने काम अझ थपिएको छ । कोरोना सुरु भएपछि भौतिक पूर्वाधार मन्त्रालय मातहतका तथा अन्य निकायले काठमाडौंमा सडक कालोपत्र गर्ने र कतिपय ठाउँमा सुधारको काम गरे । त्यो सकारात्मक छ । त्यस्तै, सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएर स्वास्थ्य मापदण्ड पूरा गरी काम थाल्ने प्रक्रिया थाल्यो, त्यो राम्रो हो । तर, यो पर्याप्त छैन ।
यो महामारीको बेलामा त तयारी धेरै गर्नुपर्ने छ । त्यो अझै पनि समय छ । कोभिडपछि कस्तो पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा योजनागत, क्षेत्रगत र नीति तथा कानुनी तयारी गर्नुपर्ने सुर्वण अवसर हो । तर, त्यतापट्टि सम्बन्धित निकायको पर्याप्त मात्रामा ध्यान गइएको देखिँदैन । अबको नयाँ अवस्थामा भौतिक नयाँ भौतिक स्वरूपको माग गर्नेछ । त्यो शैलीअनुसार कसरी अगाडि बढ्ने भन्ने विषय अहिले छलफलमा आउनुपर्ने छ । तर, आइरहेको छैन । अहिले अध्ययन अनुसन्धान गर्ने साच्चिकै उपयुक्त बेला पनि हो ।
अहिले संसारभर नै भर्चुअल कार्यक्रम गरी कोभिडपछिको पूर्वाधार कस्तो हुने भन्ने विषयमा केन्द्रित भई विभिन्न पाटो र क्षेत्रलाई लिएर छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा अहिले यही विषयले प्राथमिकता पाइरहेको छ । तर, हामी अहिल सुस्त भएका छौं । जस्तो कि हाम्रो सार्वजनिक यातायातमा धेरै समस्या छ ।
त्यसलाई कसरी समाधान गर्ने भन्ने एउटा छलफल गर्न सकिने विषय हो । अहिले संसारभर नै सार्वजनिक यातयात घाटामा छ । यसमा निजी क्षेत्र आर्कषित भइरहने देखिँदैन । त्यसमा सरकारको के भूमिका हुने, कसरी सरकार र निजी क्षेत्र सहकार्य गर्ने भन्ने विषयमा छलफल आवश्यक छ । त्यस्तै, सार्वजनिक सवारी साधनमा भाडा कति राख्ने जस्ता अन्य धेरै विषय छन् । जसमा निरन्तर मन्थन गर्न आवश्यक देखिएको छ । हाम्रो नीति निर्माण तह भने सनातनी अवस्थामै छ ।
अहिले निजी क्षेत्रलाई निमोठेर वा अप्ठ्यारो पारेर अर्थतन्त्र सबल बन्न सक्दैन । तर, नाजायज नाफा गर्न खोज्ने देखियो भने सरकारले नियमन गर्नुपर्छ । तर, निजी क्षेत्र सकसमा छ भने त्यस्तो बेला सरकारले राहत दिनुपर्छ । कतिपय अवस्थामा हाम्रो सरकारी संयन्त्र गैरजिम्मेवार बनेको छ । तर, पनि राम्रो चाहिँ के भने सरकारी संयन्त्रबाट सामान्य चासो देखिएको छ । त्यो राम्रो हो । तर, त्यो पर्याप्त भने छैन ।
पूर्वाधार क्षेत्रको पुनरुत्थान
महामारी आफैंमा विशेष परिस्थिति हो । यो परिस्थितिले भौतिक पूर्वाधार निर्माणको स्वरूपदेखि लिएर सेवा सञ्चालनसम्मै फेरबदल खोजेको छ । पूर्वाधार क्षेत्रलाई असर गरेको यस बेलामा पुनरुत्थान गरेर पहिलेकै अवस्थामा फर्किनुपर्नेछ । त्यो तत्कालको योजना भयो । त्यसबाहेक कोभिड समाप्त भएपछि पनि कसरी अगाडि बढ्ने भनेर दीर्घकालीन रणनीति आवश्यक पर्नेछ ।
रणनीतिक फेरबदल खोजिरहेको यो अवस्थामा दीर्घकालीन रूपमा आयोजनालाई ढिलासुस्तीलाई कसरी गति दिने भन्ने विषय महत्वपूर्ण छ । यसले पुनरुत्थानलाई सहयोग गर्नेछ । त्यसबाहेक पूर्वाधारका विभिन्न आयामहरू छन् । तिनीहरूमा गर्नुपर्ने परिवर्तन के हुने भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्नेछ । स्पष्ट नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) खोज्नुपर्नेछ ।
महामारीले गर्दा आर्थिक र वित्तीय संकटहरू देखिन थालेका छन् । पूर्वाधार क्षेत्रलाई गति दिनका लागि सरकारले ‘स्टिमुलस प्याकेज’ ल्याउन आवश्यक छ । अर्थतन्त्र शिथिल भएको अवस्थामा त्यसलाई पुनः भाइबे्रट सिर्जना गर्न सार्वजनिक (सरकारी) क्षेत्रको ठूलो भूमिका रहन्छ । निजी क्षेत्र समस्यामा हुन्छ ।
त्यसकारण हामीले १९३० का दशकको ग्रेट डिप्रेसनदेखि नै हेर्दा पनि आर्थिक मन्दी भएको बेलामा सरकारी संयन्त्र बढी सक्रिय हुनुपर्छ । यस्तो बेला सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने होइन, बरु ढाडस र राहत दिने हो । यस सन्दर्भमा रोकिएका आयोजनालाई अघि बढाउनका लागि कति खर्च भयो, कति प्रगति भयो भन्ने विषयलाई मिहिन रूपमा अध्ययन गर्ने आयोजनागत चुनौती र अफठ्यारालाई सजिलो बनाउने र समग्रगत नीतिका साथै आयोजनाअनुसार सुहाउँदो व्यवहार गर्नुपर्नेछ ।
अहिले बैंकमा तरलता जम्मा भएर बसेको छ । महामारीले गर्दा आर्थिक प्रणालीमा वित्तीय प्रवाह रोकिएको छ । निजी क्षेत्रले नगद प्रवाहको समस्या बेहोरेको छ । यस्तो अवस्था लामो समय रहँदा आर्थिक मन्दी अझ गहिरिँदै जान्छ । त्यसैले सरकारले यस्तो बेलामा वित्तीय प्रवाह वृद्धि गर्नुपर्छ । त्यसलाई गति दिनुपर्छ ।
त्यसका लागि सरकारले पूर्वधारमा लगानी वृद्धि गर्ने र आयोजना कार्यान्वयन (बजेट खर्च गर्न) सहज हुने कानुनी व्यवस्था मिलाउनु जरुरी छ । त्यस्तै, बेरोजगार भत्ता भन्दै कार्यकर्तालाई सरकारी बजेट बाड्ने होइन । बरु गाउँ–गाउँमा रोजगारीमूलक स्थानीय पूर्वाधारका काम गर्न सकिन्छ । त्यो उत्पादनमूलक हुन सक्छ । रोजगारीमूलक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ ।
त्यस्तै, सूचना प्रविधि (आइटी) को पूर्वाधारमा पनि ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ । हामीले सनातनी रूपमा पानी, बिजुली, सिँचाइ, सडक, विमानस्थललाई मात्र पूर्वाधारको रूपमा लिइरहेका छौं । तर, अब हाम्रो आर्थिक र सामाजिक विकासलाई डिजिटल स्वरूपमा परिवर्तन गर्नुपर्नेछ । त्यो भनेको आईटीको विकास हो । सफ्टवयर र हार्डवयरहरूको आवश्यक पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेछ ।
उदाहरणका लागि हाम्रा सहर र बस्तीहरूमा उच्च क्षमताको इन्टरनेट पूर्वाधारको विकास गरेका हुन्थ्यो भने अहिलेको यो महामारीमा दूर शिक्षाका लागि विद्यार्थीलाई अहिलेको कठिनाइ भोग्नुपर्ने थिएन । तर, अहिले हामीसँग भएको इण्टरनेट पूर्वाधार विश्वासनीय र भरपर्दो छैन । भर्चुअल मिटिङमा बस्दा पनि पूरै मिटिङमा सहभागी हुन वा विद्यार्थीको कक्षा छुट्ने समस्या छ ।
यसकारण कोरोना नभएको भए पनि हाम्रो अर्थतन्त्र ढिलोचाँडो डिजिटल स्वरुपमा जानुपर्ने नै थियो । यो महामारीले हामीलाई यो काम अझ छिटो गर्नको लागि झड्का दिएको छ । यसबाहेक अहिले अन्तर सहरी विकास, संघीय संरचना र हाम्रो समग्र प्रणालीले पनि आइटीको प्रयोग खोजिरहेको छ । त्यसले काठमाडाैं केन्द्रित हुने अहिलेसम्मको जुन परम्परा छ । त्यसलाई घटाउन पनि सहयोग गर्छ । विशेष गरी ‘न्यून नर्मल’ ले खोजेको पूर्वाधार कस्तो भन्ने विषयमा अध्ययन गर्ने र त्यसअनुसार विकास गर्नेतर्फ जानुपर्नेछ ।
अर्को महत्वपूर्ण विषय भनेको यी सबै पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिकालाई अझ बढाउनुपर्नेछ । अहिलसम्म सरकारको परम्परागत भूमिका भनेको नियन्त्रणमुखी रहँदै आएको छ । निजी क्षेत्रलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिएको पनि छ । तर, आगामी दिन भनेको निजी क्षेत्रसँग सरकारको साँच्चैको साझेदारी आवश्यक छ ।
यसको साथै यो महामारीको बेला निजी क्षेत्रलाई जुन साथ र सहयोग चाहिएको छ । त्यो उपलब्ध गराउनुपर्नेछ । निजी क्षेत्र पनि अझ बढी जिम्मेवार र सहयोगी हुन आवश्यक छ । यी दुई पक्षबीचको साझेदारीबाट नै सेवा विस्तार होस् वा पूर्वधार निर्माण वा लगानी भित्राउने विषय नै किन नहोस् । सजिलो बनाउनेछ ।
अन्तमा, महामारीले गर्दा सिर्जना हुन पुगेको नयाँ स्वरुपको व्यवस्थामा गर्नुपर्ने अल्पकालीन, मध्यकालिन र दीर्घकालीन सुधारका काम अघि बढाउन नीतिगत, कानुनी व्यवस्था, व्यवस्थापकीय र कामको प्रकृतिको तहमा खोजेको फेरबदलअनुसार अघि बढ्नुपर्नेछ । त्यस्तै, पूर्वाधार विकासका लागि आवश्यक हाम्रो आन्तरिक क्षमता विस्तार र वृद्धि गर्नुपर्ने भएको छ । यसमा सरकारको पर्याप्त ध्यान पुगेको छैन ।
पूर्वाधार विकासका धेरै पक्षमा विदेशी स्रोत, साधन र जनशक्तिमा निर्भर हुने वर्तमान कार्यशैलीले अपेक्षित परिणाम दिँदैन । त्यसले गर्दा बरु हामीसँग भएको स्रोत पनि बाहिरिन्छ । त्यसैले आन्तरिक क्षमता वृद्धिमा लगानी गर्दा तत्कालमा महँगो पर्ने देखिए पनि त्यसले राष्ट्रिय क्षमता वृद्धि गर्नमा सहयोग पुर्याउँछ । यसकारण पूर्वाधार क्षेत्रमा आन्तरिक क्षमता वृद्धि पनि अहिलेको अहम् महत्वको विषय बनेको छ ।
अतः महामारीलाई समस्यामात्र होइन, अवसरका रूपमा पनि देख्न सक्याैं भने कोरोनाले खडा गरेको चुनौतीको ‘जग’बाटै हामीले पूर्वाधार विकासको नवीन सोच र पद्धतिलाई संस्थागत गर्ने ‘पिलर’ उठाउन सक्छौं ।
सेजन स्मारिकाबाट