कोरोना महामारीमा अन्य व्यवसाय घटे पनि बिमाको बजार विस्तार भइरहेको छ । सर्वसाधारणमा बिमाप्रति चेतना बढ्न थालेको छ । करिब २२ प्रतिशत जनसंख्यामा बिमा पुगेको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पनि बिमा शुल्क आर्जनमा वृद्धि भएको छ । कम्पनीको नेतृत्व नेपाल राष्ट्र बैंकमा ३ दशक अनुभव भएका नारायणप्रसाद पौडेलले गरेका छन् । केन्द्रीय बैंकबाट अवकाश पाएको केही समयभित्र पौडेल प्रभु लाइफको सीईओ भएका छन् । कम्पनीले मंसिर २९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । नेपालमा जीवन बिमा व्यवसाय र प्रभु लाइफको भावी योजनामा केन्द्रित रहेर क्यापिटल नेपालले सीईओ पौडेलसँग गरेको कुराकानीको अंश ।
कोभिडका बीचमा जीवन बिमा कम्पनीहरूले बिमाशुल्क राम्रो उठाइरहेका छन् । यो कसरी संभव भयो ? कोभिडका बेलामा पनि बिमितसँग कसरी पुग्नुभएको छ ?
कुल बिमा शुल्कमा पहिलोपटक बिमालेख जारी गर्दा प्राप्त हुने प्रथम बिमा शुल्क र जारी गरिसकिएको बिमालेखमा प्राप्त हुने नवीकरण बिमा शुल्क समावेश हुन्छ । नवीकरण बिमा शुल्कबाट कम्पनीको कायम रहेको बिमालेखमा बढोत्तरी आउँदैन । कम्पनी वा कम्पनीका अभिकर्ताले बढी प्रयत्न गर्नुपर्ने नयाँ बिमालेख जारी गरी प्रथम बिमाशुल्क संकलन बढाउनका लागि हो । कोभिडका कारण सबै क्षेत्र प्रभावित छ र यसबाट बिमा क्षेत्र पनि अछुत रहने प्रश्नै हुँदैन ।
बिमा क्षेत्रमा कोभिडको असर परेको छ । सामान्य अवस्था हुँदो हो त अहिलेको भन्दा राम्रो बिमा व्यवसाय हुन्थ्यो । बिमालेख व्यतित हुन नदिनका लागि हर्जना ब्याजमा छुट दिएर भए पनि बिमालेख जीवित राख्नुपर्नेमा नियामक निकाय बिमा समितिले आवश्यक सहजीकरण गरेको छ । कम्पनी आफैं पनि यसका लागि सजग छन् । भेटघाट वा प्रत्यक्ष सम्पर्क गर्न नसकिने अवस्थामा हामी हाम्रा अभिकर्ता तथा ग्राहक वर्गहरूसँग विद्युतीय माध्यमबाट सम्पर्कमा छौं । त्यसअनुरूप सकिने जति व्यवसाय वृद्धिमा पनि लागिरहेका छौं ।
प्रभु लाइफको बोनस दर कस्तो छ ?
जीवन बिमा कम्पनीको नाफामा सहभागिता जनाउने बिमालेखमा कम्पनीको नाफाबाट नियमानुसार प्रदान गरिने नाफालाई बोनस भनिन्छ । बिमाको प्रकार तथा अवधिअनुसार बोनस फरक–फरक हुन्छ । राम्रो प्रतिफलको अपेक्षासहित जीवन बिमा कोषको रकम विभिन्न क्षेत्रमा लगानी गरिएको हुन्छ र यसबाट दाबी भुक्तानीसमेत दिने व्यवस्था मिलाइएको हुन्छ ।
यही बिमा कोष र प्रतिफलको आधारमा बिमा खर्च र दायित्व पूरा गरी बाँकी रहेको खुद नाफाको आधारमा बिमालेख धारकलाई बोनस प्रदान गर्ने गरिन्छ । प्रभु लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ का लागि सावधिक, सावधिक तथा आजीवन र अग्रिम भुक्तानी तथा सावधिक प्रकारका बिमालेखमा अवधिअनुसार कायम रहेको बोनसदर ३० देखि ७० रुपैयाँसम्म छ ।
नयाँ जीवन बिमा कम्पनीहरूमा अधिक दाबी भुक्तानी देखिनुका कारण के हो ?
जीवन बिमा केही निश्चित सिद्धान्तहरूमा आधारित हुन्छ । जस्तै परम् सद्विश्वास, बिमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त आदि । बिमा गर्न गरिएको प्रस्तावउपर आम्दानी, स्वास्थ्य स्थिति र समग्र जोखिमको मूल्यांकन र विश्लेषण पश्चात् बिमा गर्न योग्य भए/नभएको निक्र्यौलमा पुग्ने विधिलाई अण्डरराइटिङ्ग भनिन्छ । यस्तो अण्डरराइटिङ्ग प्रभावकारी नहुँदा बिमा दाबी बढ्ने हुन्छ ।
बिमा व्यवसायको प्रकृति नै जोखिम विरुद्धको रक्षावरण भएकाले दाबी पर्नुलाई सामान्य रुपमा लिनुपर्छ । तर, समग्र बिमा व्यवसायको औसत दाबी तथा कम्पनीको आफ्नै विगतको प्रवृत्ति हेरेर पनि दाबीको अवस्था कस्तो रह्यो भन्ने आँकलन गर्न सकिन्छ । प्रभु लाइफको हकमा भन्नुहुन्छ भने २०७७ असोजसम्ममा कायम रहेको जम्मा बिमालेख संख्या १ लाख २० हजारभन्दा माथि छ । कुल दाबी भुक्तानी संख्या १७५ र रकम करिब २ करोड १७ लाख रुपैयाँ छ । यसलाई अधिक भन्न मिल्दैन तर, बिमा अण्डरराइटिङ्ग सम्बन्धी प्रावधानहरू प्रभावकारी र अद्यावधिक हुनै पर्छ ।
अहिले ब्याजदर घटेको अवस्था छ । निःसन्देह यो वर्ष ब्याज आम्दानी घट्ने छ । निक्षेपतर्फको ब्याजदर झण्डै ३÷४ प्रतिशत विन्दुले घटेको अवस्था छ । अहिले बिमा कम्पनीहरूको बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप रकम झण्डै ३ खर्ब रुपैयाँ जति छ । यो कुल निक्षेप दायित्वको करिब ७.५ प्रतिशत हुन आउँछ । बिमा समितिबाट जारी लगानीसम्बन्धी निर्देशिकाको अधिनमा रही अन्य वित्तीय उपकरणहरूमा समेत लगानी विविधीकरण गरी लगानीमा प्रतिफललाई वाञ्छित स्तरमा राख्नुपर्ने हुन्छ ।
बिमा कम्पनीको आम्दानीको स्रोत बैंकको ब्याजदर हो । अहिले घटेको छ । अब आम्दानीमा पनि असर गर्छ होला । लगानीलाई कसरी विविधीकरण गर्नुभएको छ ?
अहिले ब्याजदर घटेको अवस्था छ । निःसन्देह यो वर्ष ब्याज आम्दानी घट्ने छ । निक्षेपतर्फको ब्याजदर झण्डै ३÷४ प्रतिशत विन्दुले घटेको अवस्था छ । अहिले बिमा कम्पनीहरूको बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप रकम झण्डै ३ खर्ब रुपैयाँ जति छ । यो कुल निक्षेप दायित्वको करिब ७.५ प्रतिशत हुन आउँछ । बिमा समितिबाट जारी लगानीसम्बन्धी निर्देशिकाको अधिनमा रही अन्य वित्तीय उपकरणहरूमा समेत लगानी विविधीकरण गरी लगानीमा प्रतिफललाई वाञ्छित स्तरमा राख्नुपर्ने हुन्छ ।
उच्च ब्याजदर भएकाले बिमितलाई बोनसदर बढी दिनुभयो । यो दर आगामी दिनमा कसरी कायम गर्नुहुन्छ ?
बोनसदर कम्पनीको आम्दानी क्षमतामा भर पर्ने हो । तर, ब्याजदर उच्च भएकै कारणले मात्र बोनस दर बढी दिइएको भन्न पनि मिल्दैन । बिमा व्यवसायमा दीर्घकालीन प्रकृतिको दायित्व स्वीकार गरिएको हुन्छ र बोनसदर निर्धारण गर्दा वर्तमान अवस्थालाई मात्र नहेरी भविष्यको स्थिति कस्तो रहने वा कस्तो हुने भन्ने तथ्यलाई पनि ध्यानमा राखिएको हुन्छ ।
मुद्रास्फीतिको अवस्था, बजारको ब्याजदर, कम्पनीको आर्जन क्षमता र भावी आर्जन समेतलाई नियाली बोनसदर निर्धारण गरिएको हुन्छ । प्रत्येक आर्थिक वर्ष बिमांकीय मूल्यांकन गर्दा कम्पनीको बिमांकीले यी सबै पक्षहरूको अध्ययन गरी बोनसदर प्रस्ताव गरेको हुन्छ र यसमा नियामक निकाय बिमा समितिबाट स्वीकृत भएपछि लागू हुने हो । प्रत्येक वर्ष बिमांकीय मूल्यांकन हुँदा बोनसदर उपर पुनरावलोकन पनि हुनसक्छ । संक्षेपमा भन्नुपर्दा ब्याजदरमा हुने अल्पकालीन उतार–चढावले मात्र बोनसदर प्रभावित हुने भन्ने हँुदैन ।
प्राथमिक सेयर (आईपीओ) जारी गरेपछि चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्छ । यस्तो बेला लगानीकर्ताले कस्तो प्रतिफल पाउने छन् ?
अहिले कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । प्राथमिक निष्कासनपछि ६० करोडले बढेर चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.९४ रुपैयाँ र प्रतिसेयर आम्दानी ३.८३ रुपैयाँ छ । वृद्धि हुने नयाँ पुँजीलाई उपयुक्त ढंगबाट लगानी गरी यथोचित प्रतिफल आर्जन गर्नुपर्छ भन्नेमा कम्पनी पूर्ण सजग छ । लगानीकर्ताहरूको अपेक्षा पूरा गर्नेमा कम्पनी क्रियाशील छ ।
यो वर्ष बिमाशुल्क कति संकलन गर्ने लक्ष्य छ ?
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा करिब १ अर्ब ४८ करोड बिमाशुल्क संकलन गर्ने लक्ष्य रहेकामा प्रथम बिमा शुल्क ९१ करोड र नवीकरण बिमा शुल्क २८ करोड गरी जम्मा १ अर्ब १९ करोड रुपैयाँ अर्थात् लक्ष्यको ८१ प्रतिशत बिमा शुल्क संकलन भएको थियो । चालू आर्थिक वर्ष २०७७/७८ मा करिब २ अर्ब रुपैयाँको हाराहारीमा बिमा शुल्क संकलन गर्ने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको छ ।
बोनसदर कम्पनीको आम्दानी क्षमतामा भर पर्ने हो । तर, ब्याजदर उच्च भएकै कारणले मात्र बोनस दर बढी दिइएको भन्न पनि मिल्दैन । बिमा व्यवसायमा दीर्घकालीन प्रकृतिको दायित्व स्वीकार गरिएको हुन्छ र बोनसदर निर्धारण गर्दा वर्तमान अवस्थालाई मात्र नहेरी भविष्यको स्थिति कस्तो रहने वा कस्तो हुने भन्ने तथ्यलाई पनि ध्यानमा राखिएको हुन्छ ।
यो वर्ष प्रभु लाइफले कति नाफा गर्नेछ ?
यो वर्ष यति नै नाफा हुन्छ भनी यकिनका साथ भन्न सकिने अवस्था छैन । तापनि करिब १२/१३ करोड रुपैयाँसम्म खुद नाफा होला भन्ने कम्पनीको अपेक्षा र अनुमान छ । चालू आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सञ्चित जगेडा कोषबाट सेयरधनीहरूलाई थोरै नै भए पनि लाभांश दिने योजना कम्पनीको छ ।
प्रभु लाइफको आईपीओ कहिले आउँदै छ ?
सेयरको सार्वजनिक निष्कासन यही मंसिर २९ देखि सुरु हुँदैछ । छिटोमा पुस २ गते बन्द हुनेछ । मिति २०७७/८/२० गते आह्वानपत्र प्रकाशित भइसकेको छ । कम्पनीको विवरणपत्र कम्पनीको वेबसाइटमा पनि हेर्न सकिन्छ ।
जीवन बिमा कम्पनीहरूबीच प्रतिस्पर्धा कतिको छ ?
अहिले १९ वटा जीवन बिमा कम्पनीहरू सञ्चालनमा छन् । स्वाभाविक रूपमा बजार प्रतिस्पर्धी छ । स्वास्थ्य प्रतिस्पर्धाले सेवाग्राही लाभान्वित हुने अवस्था रहन्छ । प्रतिस्पर्धात्मक वातावरणमा बिमा सेवाको आवश्यकता महसुस गर्ने व्यक्तिहरूका लागि छनौटको पर्याप्त सुविधा हुने हुँदा आफ्नो आवश्यकता अनुरूपको बिमा सेवा सुविधा लिन सक्ने अवस्था हुन्छ । बजार प्रतिस्पर्धी हुँदा बिमाको पँहुच विस्तार गर्न पनि संभव भएको छ ।
अहिले करिब २२ प्रतिशत जनताको मात्र बिमामा पँहुच पुगेको अनुमान छ । यस्तो अनुपात बढाउँदै लैजानुपर्ने हुन्छ । यसका लागि आपूर्ति पक्ष अर्थात बिमा सेवा प्रदायक संस्थाहरूले आकर्षक विशेषता सहितको मानसिव मूल्यमा बजारको आवश्यकता अनुरुप बिमा सेवा दिन सक्नुपर्छ र यस अर्थमा बजार प्रतिस्पर्धी हुनै पर्छ । स्वस्थ्य ढंगको प्रतिस्पर्धाले सेवाग्राही, सेवा प्रदायक र समग्र बिमा व्यवसाय अभिवृद्धिमा सघाउ पुग्छ ।
लगानीकर्ताले प्रभु लाइफबाट कहिलेदेखि लाभांश पाउने छन् ?
बिमा कम्पनीले सर्वसाधारणमा सेयर जारी नगरी लाभांश वितरण गर्न पाउँदैनन् । प्रभु लाइफ इन्स्योरेन्सको हकमा हामी यो आर्थिक वर्ष २०७७/७८ मा सर्वसाधारणमा सेयर जारी गर्दैछौं । वित्तीय अवस्था सन्तोषजनक भई लाभांश दिन सकिने अवस्था हुँदा पनि सेयरधनीहरूलाई छिटोमा लाभांश दिने पहिलो वर्ष नै चालू आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणमा अन्तिम स्वीकृति प्राप्त भएपश्चात मात्र हो । त्यसर्थ, चालू आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट हाम्रा सेयरधनीहरूलाई केही न केही लाभांश वितरण गर्न कम्पनी प्रयत्नशील छ ।
नयाँ कम्पनीले लगानीकर्तालाई ४ वर्षसम्म लाभांश दिन सक्दैनन् भन्ने चर्चा पनि छ । किन होला ?
हो, बिमा कम्पनीको हकमा कम्तीमा पनि ४/५ वर्ष व्यतित नभइकन लाभांश दिन सकिने अवस्था रहँदैन । बिमा व्यवसायमा आम्दानीको प्रमुख स्रोत नै संकलित बिमा शुल्क हो । यसरी संकलित बिमा शुल्कबाट बिमाको अवधि हेरी २५ प्रतिशतसम्म अभिकर्ता कमिसनमा खर्च हुन्छ । बिमा कम्पनीले बेहोर्नुपर्ने अन्य खर्चहरूमा अभिकर्ता प्रोत्साहन खर्च, नियामक निकायलाई बुझाउनुपर्ने सेवाशुल्क, पुनर्बिमा कम्पनीलाई जाने पुनर्बिमा शुल्क, कर्मचारी खर्च र व्यवस्थापन खर्च आदि पर्छन् ।
जीवन बिमा व्यवसायमा भएको बचतको ठूलो अंश अर्थात् ९० प्रतिशत रकम बिमालेख धारकको कोषमा सार्नुपर्ने व्यवस्था छ । नियामकीय दृष्टिकोणबाट पनि बिमितहरूको अधीनमा रहने कोष अर्थात् जीवन बिमा कोष बलियो हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसर्थ, बचतको सानो हिस्सामात्र सेयरधनीहरूको कोषमा जाने हुँदा नयाँ–नयाँ जीवन बिमा कम्पनीको हकमा लाभांश दिन कम्तीमा पनि ४/५ वर्ष लाग्ने अवस्था सामान्य हो ।