काठमाडौं । पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।
झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने करिब १ हजार २५० किमि लोकमार्गको २५० किमि लामो यो खण्डमा सडक निर्माण ९५ प्रतिशत र पुल निर्माण ८५ प्रतिशत सकिएको छ । चालू आर्थिक वर्षभित्रै सो आयोजना सम्पन्न गर्न लक्ष्य लिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
पहिलो चौमासिकमा यो आयोजनामा तुलनात्मक रुपमा बढी काम भएको सडक विभागले जनाएको छ । धरान–चतरा–हेटौँडा खण्डको २५० किलोमिटर सडकमध्ये अहिले २५ किमी सडकमा कालोपत्रको काम भइरहेको निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले बताए। यो खण्डमा ७६ पुल निर्माण गर्नुपर्नेमा दुई पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी छ । उनले भने, “दुई पुल पनि चाँडै सकिने देखिएका छ ।”
भर्खर ठेक्का सम्झौता भएकाबाहेक अरू पुल निर्माण पूरा हुन लागेको हो । यही खण्डमा १८ पुल निर्माणका लागि गत असारमा ठेक्का सम्झौता भएको प्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने, “यी पुल सकिन अझै साढे तीन वर्ष लाग्नेछ ।”
पहिलो त्रैमासिकसम्ममा यो आयोजनाले ५४ करोड .(यो आवको बजेटको १८ प्रतिशत) भुक्तानी गरिसकेको छ । अर्थ मन्त्रालयले चालु आवमा विनियोजन गरेको बजेट पर्याप्त नहुने भएकाले थप बजेटको आवश्यकता पर्ने प्रमुख श्रेष्ठले बताए । उनका अनुसार विनियोजित बजेटभन्दा दोब्बर खर्च हुने देखिएको छ । उनले भन्नुभयो, “यही गतिमा काम हुँदा खर्च धेरै हुने देखिएको छ ।”
आयोजनालाई पूर्वी र पश्चिम खण्ड गरी बाँडिएको छ । जसमध्ये पूर्वी खण्डको निर्माण झण्डै सकिने चरणमा हुँदा पश्चिम खण्डमा भने डिजाइनको तयारी अघि बढाइएको आयोजनाले जनाएको छ ।
पश्चिम खण्डमा चालु आवभित्रै डिजाइन भएपछि कुनै कुनै खण्डमा निर्माणको प्रक्रियामा जाने उनको भनाइ छ । यो वर्ष तीन÷चार सडक खण्डको ठेक्कामा जाने योजना रहेको छ । उनले भने, “यो वर्ष डिजाइन र ठेक्का शुरु हुँदा आगामी वर्षबाट निर्माण शुरु हुनेछ ।”
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण निर्माणमा पनि बाधा पुगेको थियो । कोभिडको समयमा काम गर्न सहज नभए पनि प्रशासन र स्थानीय तहसँगको समन्वयमा निर्माणलाई अघि बढाइएको आयोजनाले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार अझै पनि सामान्य अवस्थामा जसरी काम गर्न वातावरण बनिसकेको छैन ।
आयोजनाको निर्माण विसं २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सरकारको उच्च प्राथमिकतामा रहेको पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
आयोजनामा पहिले नै भएका सडकको स्तरोन्नतिको काम भइरहँदा सवारीसाधन सञ्चालन भइरहको प्रमुख श्रेष्ठले बताए । राजमार्गको लम्बाइ एक हजार २५० किमी भए पनि अहिले आयोजनाले ७६५ किमी सडकमा मात्रै निर्माणको काम गरिरहेको छ ।
सडक निर्माणलाई गति दिनकै लागि आयोजनाले हाल चार ठाउँमा कार्यालय स्थापना गर्न लागिएको जनाएको छ । निर्देशनालयअन्तर्गत अहिले झापाको दमक, उदयपुरको गाईघाट, गुल्मीको तम्घास र मकवानपुरको हेटौँडामा कार्यालय छन् । दाङ, सुर्खेत लगायत डिभिजन सडक कार्यालयले पनि राजमार्गमा निर्माणको काम गरिररहेका छन् ।