काठमाडौं । कोरोना कहरका कारण यातायात क्षेत्र सुस्ताएपछि बैंक तथा वित्तीय संस्थाबाट जाने सवारी कर्जा ‘अटो/हायर’ पर्चेज लोन खुम्चिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रमासिक वित्तीय विवरणअनुसार पछिल्लो तीन महिनामा मात्रै अटो लोनमा ४ अर्ब ७३ करोड ४४ लाख रुपैयाँले कमी आएको छ । गत वर्षको पहिलो तीन महिनामा भने ६६ करोड ५ लाख रुपैयाँले अटो लोन बढेको थियो ।
गत चैतदेखि कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकभर भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सार्वजनिक सवारी सञ्चालन नहुँदको असर हायर पर्चेज कर्जामा परेको छ ।
ऋणमा लिएका पुराना सवारीसाधन धनीले जसरी बाँकी बक्यौता किस्ताका रूपमा भुक्तानी गर्नुपर्ने बाध्यता र नयाँ सवारीसाधन खरिद गर्ने अवस्था नभएका कारण सवारी कर्जा खुम्चिएको हो ।
दसैं तथा तिहार जस्ता पर्वका अवसरमा अटो क्षेत्रमा केही सुधार भएको आँकलन गरिए पनि त्यसको लेखाङ्कन सार्वजनिक नहुँदा गत असोजसम्म सवारी कर्जामा कमी आएको छ । चालू आर्थिक वर्र्षको पहिलो त्रैमास असोजसम्म अटो लोन २.७ प्रतिशतले घटेको छ । गत आव सोही अवधिमा ०.४ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट गत असारसम्म १ खर्ब ७४ अर्ब ५७ करोड रुपैयाँ अटो लोन गएकोमा असोजमा आइपुग्दा घटेर १ खर्ब ६९ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । २०७६ असोजमा भने १ खर्ब ८१ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी भएको थियो ।
व्यावसायिक प्रयोजनमा जाने सवारी कर्जा गत असारमा १ खर्ब १५ अर्ब १३ करोड रुपैयाँ रहेकोमा असोजमा आइपुग्दा १ खर्ब १३ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, व्यक्तिगत प्रयोजनको सवारीमा गएको ऋण पनि गत असारमा ५९ अर्ब ४४ करोड रहेकोमा असोजमा ५६ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।
अर्कोतिर बैंक तथा वित्तीय संस्थाबाट सवारी क्षेत्रमा जाने कर्जा कमी हुनुमा हायर पर्चेज कम्पनीहरूले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । केही समय अघिदेखि राष्ट्र बैंकले हायर पर्चेज कारोबार गर्दा ऋण दिने प्रयोजनका लागि विभिन्न कम्पनीहरूलाई अनुमति दिएको छ ।
ती कम्पनीहरूले सवारी किन्न दिएको ऋण बैंक तथा वित्तीय संस्थाको विवरणमा आउँदैन । अहिले ९ वटा कम्पनीले हायर पर्चेज कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिएका छन् ।
पछिल्लो समय सवारीकर्जा लिनेहरू बैंक तथा वित्तीय संस्थामा नगई यी कम्पनीमा जाने गरेको पाइएको छ । तथापी कोरोना कहरका कारण भएकै सबै सवारीसाधन अहिले पनि सञ्चालनमा छैनन् ।
खासगरी सार्वजनिक सवारीसाधन (बस, ट्रकजस्ता)को प्रयोग पुरानो अवस्थामा नफर्किएका कारण नयाँ सार्वजनिक सवारी खरिद बिक्री भएको छैन ।
उपत्यकामा अहिले पनि जोरबिजोर प्रणाली लागू छ । त्यसले यातायात व्यवसायीहरू नयाँ सवारी थप्ने योजनामा सरिक नहुँदा थप ऋणको माग गर्ने अवस्था नरहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कारोबार गर्न प्रयोजनका लागि ओम्नी प्रालि, हुलास इन्भेस्मेन्ट प्रालि, सिप्रदी हायर पर्चेज प्रालि, एमएडब्ल्यू इन्भेस्मेन्ट प्रालि, बतास इन्भेस्टभेन्ट प्रालि, स्याकार इन्भेस्टमेन्ट कम्पनी प्रालि, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टभेन्ट प्रालि, भेन्चर हायर पर्चेज प्रालि र मनोकामना हायर पर्चेज प्रालिलाई अनुमति दिएको छ ।