काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले काभ्रेको तेमाल गाउँपालिकामा गत भदौ ७ मा पुगेर विद्युत्तीय चुलो (इन्डक्स) वितरण गरे । ग्राहकलाई इन्डक्सन चुलोेको प्रयोग गर्न जोड दिँदै पहिलो पटक अभियान सुरु भएको बताएका थिए ।
उनले डन्डक्सन चुलो अभियानलाई देशैभर पुर्याउने बताउँदै भनेका थिए ‘उत्पादिन विद्युत् खपत गर्न सकेनौं भने बिजुलीखेर जाने स्थिति आउँछ । त्यसो भयो भने महसुल बढ्न जान्छ । अब खपतमा जोड दिनुपर्ने छ । यो हिजोको भन्दा फरक चुनौती हो ।’
उनले हरेक नेपालीका घरमा इन्डक्सन चुलो प्रयोगतर्फ आकर्षित गर्न देशैभर अभियान सुरु गर्ने बताएका थिए ।
इन्डक्सन चुलो वितरण सुरुवात गरेको तीन सातापछि उनी प्राधिकरणको कार्यकारी निर्देशकबाट ४ वर्षे कार्यकाल पूरा गरी बिदा भए । त्यसयता, न कुनै विद्युत्तीय चुलो वितरण भयो, न कतै इन्डक्सन चुलाे प्रयोगतर्फको कुनै अभियान नै । त्यतिमात्र होइन्, झ्याप्प-झ्याप्प बिजुली जाने र लामो समय बिजुली नआउने समस्याबाट मुक्त हुन सकेका छैनन् ग्राहक ।
बिजुली आपूर्ति विश्वसनीय र भरपर्दो नहुँदा पनि ग्राहकले ढुक्क भएर इन्डक्सन चुलोको प्रयोग बढाउन सकेका छैनन् । फलस्वरुप, अहिले पनि ग्राहकका घरमा ग्याँस सिलिन्डर नै पुगिरहेको छ । इन्डक्सनको प्रयोग पनि बढ्न सकेको छैन ।
यता, विद्युत् खपत बढाउन भन्दै प्राधिकरणले देशभरका विभिन्न ५० ठाउँमा चार्जिङ स्टेसन बनाउँदैछ । तर, प्रक्रियागत ढिलाइ र कोरोना महामारी बहाना बनिदिँदा चार्जिङ स्टेसन निर्माण कहिलेसम्म बनिसक्ने हो, टुंगोे छैन् ।
सबैैभन्दा बढी बिजुली खपत गर्ने क्षेत्र उद्योग हाे । तर, अहिले पनि उद्योगले चाहे जति बिजुली पाउन सकेका छैनन् । अहिलेकै अवस्थामा ३ देखि ४ सय मेगावाट बिजुली उद्योग क्षेत्रले खपत गर्न सक्ने प्राधिकरणका कर्मचारी नै स्वीकार्छन् । तर, कुन–कुन उद्योगलाई बिजुली पुगेको छैन् ?, कुन-कुन उद्योगमा बढी बिजुली खपत हुनसक्छ ? र नयाँ उद्योग आए भने बिजुली दिने क्षमता छ कि छैन भन्नेतर्फ प्राधिकरणको ध्यान गएको देखिँदैन् ।
अहिलेकै अवस्थामा हेर्ने हो भने रातिको समयमा बिजुली खपत हुन नसक्दा खेर गइरहेको छ । अहिले नै प्राधिकरण र निजीक्षेत्र गरी १३६२ मेगावाट जडित उत्पादन क्षमता ग्रीडमा छ । देशभर बिजुलीको माग १३ सय मेगावाट हाराहारी छ ।
यसवर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही निजी क्षेत्रका जलविद्युत् आयोजना सम्पन्न हुँदा ६ देखि ७ सय मेगावाट बिजुली थपिँदैछ ।
अहिले नै खेर गएको र आगामी दिनमा थपिने बिजुलीको खपत बढाउनेतर्फ प्राधिकरणको ध्यान पुगेको देखिँदैन् । प्राधिकरणलाई खपत बढाउने खपत बढाउने चिन्ता होला तर, त्यसका लागि योजना र तयारी भने छैन् ।
विद्युत् प्राधिकरणले खपत बढाउने कुनै कार्यक्रम नल्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) नेपालका अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।
‘प्राधिकरणले बिजुलीको खपत बढाउने केही कार्यक्रम पनि ल्याएको छैन । औद्योगिक र व्यावसायिक क्षेत्रसँग नयाँ क्षेत्र खोजेर बिजुलीको खपत बढाउन सकिन्छ’ उनले भने, ‘अहिले टिभी र कुनै पनि सञ्चारमाध्यमका सिमेन्ट, छड, बिस्कुट, मोटरसाइकल, तेल लगायतका उद्योगले आफ्ना उत्पादन वितरणका लागि विज्ञापन गरेका हुन्छन् । अरु, कति कार्यक्रम ल्याएका छन् । तर, बिजुली खपत बढाउ भनेर वा इन्डक्सन चुल्हो प्रयोग बढाउन केही कार्यक्रम छैन ।’
बिजुलीको खपत बढाउन त्यसकाे विश्वसनीयता र गुणस्तरीयतामा भर पर्छ । गुणस्तरीय र भरपर्दो बिजुली प्रदान गर्ने दायित्व विद्युत् प्राधिकरणको हो । तर, अहिले पनि ग्राहक तथा उपभोक्ताले गुणस्तरीय बिजुलीको प्रत्याभूति गर्न सकेका छैनन् । छिनछिनमा लाइन झ्याप्प-झ्याप्प जाने र ट्रिपिङ समस्या अहिले पनि पूर्णरुपमा हट्न सकेको छैन ।
गुणस्तरी र भरपर्दो बिजुली आपूर्ति प्राधिकरणको दायित्व भएकाले त्यसतर्फ कार्ययोजना बनाएर अघि बढेको नेपाल विद्युत् प्राधिकरणका उप–कार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।
प्राधिकरणले बिजुली खपतका लागि प्रवद्र्धनात्मक कार्यक्रम मात्रै गर्न सक्ने उनले बताए । करिब ५ हजार मेगावाट बिजुली खपत गर्ने क्षेत्रगत रुपमा पहिचान गरी प्राधिकरणले कार्ययोजना बनाएर अघि बढाएको उनको तर्क छ ।
तर, उनले सरकारको अस्थिर नीतिका कारण विद्युत्तीय सवारीको प्रयोग वा आकर्षणमा चुनौती थपिएको उनले बताए । ‘विद्युत्तीय सवारीतर्फ सरकारको स्थिर नीति हुनुपर्छ । गत बजेटमा त्यो सम्बोधन भएन् । चिन्ता हामीलाई पनि छ । ट्याक्स बढाइयो’ उनले भने, ‘सरकारले नै प्रवद्र्धनात्मक कार्यक्रम नगर्दिएसम्म इन्डक्सन चुलाेमा खपत हुनेपर्ने लोड नआउन सक्छ ।’