काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन फोरमले लामो गृहकार्यपछि ब्रोडब्यान्ड मोबाइल नेटवर्क प्रविधिको पाँचौं पुस्ताको फाइबजीका लागि उपयुक्त फ्रिक्वेन्सी ब्यान्डको पहिचान गरेको छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य मणि चौलागाईं संयोजकत्वमा शुक्रबार बसेको फोरमको बैठकले तीन चरणमा फाइबजीका लागि विभिन्न फ्रिक्वेन्सी ब्यान्ड निर्धारण गरेको हो । फोरममा वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहितको टिम छन् ।
हाल फाइबजीका लागि ७००, ९००,२३०० र २६०० मेगाहर्ज ब्यान्ड फ्रिक्वन्सी तल्लो ब्यान्डअन्तर्गत र ३३००, ३४०० र ३६०० र ४७०० मेगाहर्जलाई मध्यम ब्यान्डअन्तर्गत राखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्यान्डको रूपमा राखेर नेपालमा फाइबजीका लागि उपयुक्त फ्रिक्वेन्सीको पहिचान गरेको बताए । ‘हामी विश्वव्यापी ट्रेन हेरेर नेपालमा फाइबजीका लागि आवश्यक तयारी गरिरहेका छौं,’ उनले क्यापिटल नेपासँग भने ‘शुक्रबारको बैठकले फिक्वेन्सी ब्यान्डको उपयुक्त खाका तयार गरेको छ ।’
उनका अनुसार फ्रिक्वेन्सी व्यवस्थापन फोरमले प्राधिकरण बोर्डमा पठाउनेछ । फोरमले सिफारिस गरेका फ्रिक्वेन्सी ब्यान्डलाई आवश्यक छलफल र परिमार्जनसहित दूरसञ्चार प्राधिकरणले सञ्चार मन्त्रालयलाई पठाउने स्थापितको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री संयोजक रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले प्राधिकरणले सिफारिसको अध्ययन गर्ने बताइएको छ । अध्ययनपछि मात्रै टेलिकम सेवा प्रदायक कम्पनीहरूले फ्रिक्वेन्सी पाउने नपाउने निर्धारण हुनेछ । हाल फाइबजीका लागि फ्रिक्वेन्सी पहिचान भए पनि मूल्य तथा मोडालिटिबारे कुनै निर्णय गरेको छैन ।
विकसित देशहरूमा फाइबजी सुरु भएको महिनौं भइसकेको छ । तर, नेपालमा यसको पूर्वतयारी तथा अध्ययन हुन सकेको थिएन । अब भने नेपालमा फाइबजी भित्र्याउने विषयले चर्चा पाउन थालेको छ । निर्देशक स्थापितले कुन मोडालिटी तथा मूल्यमा अगाडि बढ्ने भन्ने बिषय पनि टुङ्ग्याउँदै जाने बताए । फाइबजीका लागि अवश्यक तयारी थालिसकेको पनि नेपालमा अहिलेसम्म चौथो पुस्ताको फोरजी देशभर पुग्न सकेको छैन ।