सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । २० लाख विदेशी पर्यटक भित्र्याउने र विदेशमा नेपालबारे प्रचारात्मक अभियानमार्फत हाम्रा गन्तव्यहरू विश्वभर चिनाउने प्रमुख लक्ष्य थियो । सरकारले सन् २०१९ देखि नै नेपाल भ्रमण वर्षको व्यापक तयारी गरिएको थियो ।
दशरथ रंगशालामा भ्रमण वर्षको भव्य उद्घाटन भएको एक सातापछि नेपालसहित विश्वका ५० भन्दा बढी मुलुकमा एकसाथ भ्रमण वर्षको शुभारम्भ गरिएको थियो । हाम्रा विदेशस्थित दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना महत्वपूर्ण सहयोग गरेका थिए । सरकारले भ्रमण वर्ष सफल बनाउन प्रमुख पर्यटकीय बजारलाई केन्द्रित गरेको थियो ।
यी सबै परिस्थितिमा हामी सबै उत्साहित भएका थियौं । यता भ्रमण वर्षको सुरुवात नहुँदै सन् २०१९ को नोभेम्बरमै चीनको वुहानमा कोभिड–१९ को संकेतहरू देखा परिसकेका थिए । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनायो । र, जनवरीसम्म आइपुग्दा विश्वका धेरै देशहरूमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको थियो । कतिपय देशहरूले जनवरीको अन्तिमसम्म आइपुग्दा हवाई यातायात र सीमाहरू बन्द गरिसकेका थिए ।
जोखिम बढ्दै गएपछि सरकारले २०७६ चैत ११ देखि देशव्यापी लोकडाउन घोषणा ग¥यो । हवाई यातायात, सडक यातायातसहित सबै सीमा नाकाहरू बन्द गर्नुपर्यो । त्यसपछि नेपाल घुम्न आएका विदेशी र विदेशमा रोजगारी गुमाएका नेपालीलाई अलपत्र अवस्थाबाट उद्धार गर्नेमा ध्यान दिनुपर्यो।
एकपछि अर्को प्रभाव देशभित्र र देशबाहिर बढ्दै गयो । जसले गर्दा पर्यटन चल्न सक्ने अवस्था भएन । अन्तर्राष्ट्रिय नाकाहरू ठप्प भए । पर्यटनका गतिविधिहरू ठप्प हुन पुगे । हिमाल आरोहण, सहासिक खेलका गतिविधिहरू बन्द भयो । पदयात्राहरू बन्द भयो । हवाई यातायात र सडक यातायात लामो समय बन्द हुन थाल्यो । त्यसपछि पर्यटन पनि अघि बढ्ने अवस्था रहेन ।
नेपालको सन्दर्भमा पर्यटन क्षेत्र अर्थतन्त्रको प्रमुख मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको कृषि, ऊर्जापछि पर्यटननै महत्वपूर्ण हो । पर्यटन क्षेत्र अन्य क्षेत्रको तुलनामा थोरै लगानीमा छिटो आम्दानी गर्न सक्ने क्षेत्र हो । थोरै लगानीमा तत्काल लाभ कमाउन सकिने माध्यमनै पर्यटन हो । नेपालको सन्दर्भमा डलर आम्दानीको हिसाबले पनि पर्यटन एक मात्र प्रमुख माध्यम हो ।
विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर धक्का
कोभिड–१९ नाम दिइएको कोरोना भाइरसका कारण सबैभन्दा ठूलो असर पर्यटन र वायुसेवा कम्पनीमा परेको छ । कोरोना संक्रमणको असर विश्वका अधिकांश मुलुकमा परेको छ । जसले गर्दा विश्वभर आन्तरिक र बाह्य घुम्न जानेक्रम ठप्प भयो । विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घट्ने अनुमान गरेको छ । विश्वभर करिब ९ देखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने विभिन्न अध्ययनले देखाएको छ ।
यता, अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आएटा)ले पनि विश्वभरका एयरलाइन्स कम्पनीमा पर्ने असरको प्रक्षेपणहरू गरिरहेको छ । दुवै क्षेत्रले गरेर सन् २०२० मा ९ देखि १२ खर्ब डलर गुमाएको अनुमान गरिएको छ । यूनडब्लूटीओले सन् २०२० पर्यटक आगमन र पर्यटन क्षेत्रमा पर्ने असरलाई शताब्दीकै खराब वर्ष भएको जनाइसकेको छ ।
सन् २००९ मा विश्वभर आर्थिक मन्दी आउँदा पर्यटक आगमनदर ४ प्रतिशतले मात्रै घटेको थियो । सन् २०२० पर्यटन क्षेत्रका लागि शताब्दीकै खराब वर्ष हुने र जसको परिपूर्ति हुन ५ देखि ७ वर्ष लाग्ने अनुमान गरेको छ । सन् २०१९ मा १ अर्ब ४६ करोड पर्यटक विश्व भ्रमणमा निस्केका थिए । सन् २०१२ मा १ अर्ब ४४ लाख पर्यटकले विश्व भ्रमण गरेका थिए । सन् २०२० को पर्यटक आगमन ८ वर्षयताकै कम हुनेछ ।
नेपालमा हालसम्म पर्यटन क्षेत्रको ८० अर्ब गुम्यो
नेपालको पर्यटन क्षेत्रमा मात्रै १५ खर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ । जुन विभिन्न समयमा भएका अध्ययन र अनुसन्धानले देखाएको छ । पर्यटन बाट १० लाखभन्दा बढी मानिसले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीले पर्यटनबाटै जीवन निर्वाह गरेका छन् । करिब ५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रबाट योगदान रहेको छ । सरकारी तथ्यांकमा अझै कम भए पनि सबै अध्ययन र तथ्यांक हेर्ने हो भने अहिले पनि ७ देखि १० प्रतिशतसम्म पर्यटनबाट जीडीपीको योगदान छ । वार्षिक रूपमा ८० अर्ब रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको छ ।
दुर्भाग्यवस कोभिड–१९ का कारण यो सबै आम्दानीहरू गुमेको छ । कोरोना भाइरस हाम्रो वशभन्दा बाहिर थियो । स्वास्थ्यनै मानिसको जीवनको पहिलो शर्त हो । जनताको जीवन रक्षामा नै ध्यान दिनु सरकारको पहिलो कर्तव्य हो ।
अहिले पर्यटन क्षेत्रबाट १० अर्ब रुपैयाँ मासिक गुमेको छ भने ८ महिनमा पर्यटन क्षेत्रले ८० अर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको छ । फेरि पनि पर्यटन क्षेत्र उठाउनुपर्ने छ । व्यवसायीहरूलाई व्यवसाय गर्न टिकाउन पर्ने छ । त्यसका लागि सरकारले विभिन्न नीतिहरू लिएको छ । बजेटमार्फत पुनर्कर्जादेखि सहुलियत ऋणको व्यवस्थामा राष्ट्र बैंकले आफ्नो वित्तीय नीतिमार्फत पनि विभिन्न कार्यक्रमहरू ल्याएको छ ।
५० अर्ब रुपैयाँको कोष खडा गरेर कार्यविधिहरू तयार पारेर कार्यान्वयनको चरणमा समेत प्रवेश गरेको अवस्था । यद्यपि, क्षतिको तुलनामा पर्याप्त छैन । यो रकम ठूलो पनि होइन । तर, सरकारले आफ्नो क्षमताअनुसार यो रकम दिएको हो । यसले पनि केही राहत अवस्य पुग्नेछ । अहिले बजेटहरू बढीभन्दा बढी स्वास्थ्यमा विनियोजन गर्नु परेको छ ।
औषधी र उपकरण खरिदमा ठूलो रकम राज्यले लगानी गर्नुपरेको छ । यसमा केही सहयोग गरेर सरकारको तर्फबाट आम व्यवसायीहरूलाई मनोवैज्ञानिक साथ दिन मात्रै खोजिएको हो । व्यवसायीहरूले त्यसबाट आफ्नो व्यवसायलाई टिकाउन सक्छन । आफ्नो मजदुरहरूलाई केही समय थेग्न सक्नेछन् ।
सरकारले एयरलाइन्सहरूलाई केही सहुलियत हवाई इन्धनमार्फत गरेका छौं । आन्तरिकतर्फ भारी मात्रामा हवाई इन्धनको मूल्य कटौती गर्दा धेरै सहज भएको छ । सरकारले अब अन्तर्राष्ट्रिय उडानमा पनि इन्धनको मूल्य घटाउने योजना छ । यो हुन सकेमा पर्यटकलाई नेपालको प्याकेज केही सस्तो हुने र नेपाली यात्रुलाई पनि हवाई भाडा सस्तो भई राहत हुनेछ ।
एकदशक पर्यटनको पूर्वाधारमा सरकारको लगानी
सरकारले पर्यटन पूर्वाधारमा एकदशकसम्म ठूलो लगानी गर्ने योजना बनाएको छ । त्यहीअनुरूप सडकदेखि विमानस्थल निर्माण र नयाँ गन्तव्यहरूको विकासमा सरकार लागेको छ । काठमाडौंको विमानस्थलको क्षमता विस्तारसँगै यतिवेला पोखरा र भैरहवामा निणर्माधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको । निजगढ विमानस्थल निर्माणको कामसमेत सन् २०३० सम्म सम्पन्न भएर सञ्चालनमा आइसकेको हुनेछ । विमानस्थल मात्रै होइन स्थानीय सरकारहरूसँग साझेदारी कार्यक्रम समेत अगाडि सारेका छौं ।
अहिले पर्यटन उपज साझेदारी कार्यक्रमका लागि देशभरबाट ७ सय १३ वटा आयोजनाको प्रस्ताव परेको छ । ७ सय १३ वटा योजनाका लागि ३३ अर्ब १ करोड ८१ लाख ३५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा प्रदेश र स्थानीय तहले करिब १२ अर्ब रुपैयाँ लागत बेहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी प्रदेश र स्थानीय तहबाट पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो । भदौ १ देखि मसान्तसम्मको समयसीमा राखेर गरिएको आह्वानमा प्रदेशबाट १०, महानगरपालिकाबाट ९, उपमहानगरपालिकाबाट १०, नगरपालिकाहरूबाट ३०७ र गाउँपालिकाबाट ३७७ गरी ७१३ वटा आयोजनाको प्रस्ताव परेको छ
यो योजना कार्यान्वयनका लागि गाउँपलिकाले ३० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत, उपमहानगरपालिकाले ४० प्रतिशत, महानगरपालिका र प्रदेशले ५० प्रतिशत लागत बेहोर्नुपर्नेछ । बाँकी संघीय सरकारले बेहोर्नेछ ।
आउने सन् २०३० सम्ममा पर्यटन क्षेत्रका मुख्य पूर्वाधाहरू निर्माण गरिसकेका हुनेछौ । ठूला होटलहरू निर्माण भइसकेका हुनेछन् । रेष्टुरेन्टहरू सबै गन्तव्यहरू विकास हुनेछन् । सरकारको तर्फबाट गर्नुपर्ने विमानस्थल, सडक र गन्तव्यमा पु¥याउने पहुँच मार्गसहित आन्तरिक विमानस्थलको क्षमता विस्तार पनि भइसकेको हुनेछ । सबै पूर्वाधार खडासँगै सन् २०३० सम्म पुग्दा नेपालमा वार्षिक ५० लाख विदेशी पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएको छ । यसमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्छ ।
सन् २०२१ को मध्यबाट पर्यटन क्षेत्र लयमा
अहिले पछिल्लो दिनमा कोभिड–१९ सँगै जीवनयापन गर्नुपर्ने अवस्था छ । विश्वले सोहीअनुसार आफूलाई अगाडि बढाउँदै लगेको छ । नेपालले पनि सोही विकल्पमा जानु बाध्यता भइसकेको छ । सोही सिलसिलामा नेपाललले पनि गत भदौ १७ देखि नियमित अन्तर्राष्ट्रिय उडानहरू सुचारु गरेका छांै । असोज १ देखि आन्तरिक उडानहरूसमेत खुलाएका छौं । यसले आन्तरिक उडानमा निकै ठूलो उत्साह ल्याएको छ । आन्तरिक उडानले विगतको ‘पिकआवर’कै हारहारीमा यात्रुलाई सेवा दिइरहेका छन् । अहिले ६५ प्रतिशत उडानहरू सुचारु भइरहेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा भने विदेशी पर्यटक नआएकाले त्यतिधेरै उत्साह छैन । विगतमा दैनिक १२० उडान/अवतरण हुने गरेकोमा अहिले दैनिक ३० वटा मात्रै हुने गरेको छ । क्रमशः अब यसको संकेत के हो भने जीवन सामान्य बनाउँदै छौं । सुरक्षा अपनाएर सुरक्षित रहेर व्यवसाय सञ्चालन गर्दै जाने हो । गत कात्तिक १ सरकारले हिमाल आरोहण र पदयात्रा खुला गरेको थियो । यसको सकारात्मक सन्देश प्रवाह भएको छ । अन्तिम सयमा आरोहण खुला गर्दासमेत एक दर्जनभन्दा बढी आरोहण दललले अनुमति लिएर विभिन्न हिमालहरू आरोहण गरेका छन् ।
जुन सकारात्मक हो । यसले अर्को सिजनलाई राम्रो सन्देश दिएको छ । मुख्य कुराहरू केही भीभीआईपी टिमहरू यो सिजनमा हिमाल आरोहणमा आएका छन् । बहराइन र कतारका राजकुमार हिमाल आरोणमा गरेर फर्किएपछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देहरू प्रवाह भएको छ । अरु विभिन्न मुलुकका नागरिकहरू हिमाल आरोहणमा आएका थिए । केही दिन अघिदेखि सरकारले अन्य गन्तव्यहरू पनि खुला गर्ने नीति लिएको छ । मंसिर १ देखि पर्यटनका सबै गतिविधिहरू खुलाएका छौ । अब बन्जीजम्प, प्याराग्लाइडिङ, ¥याफ्टिङ, ट्रेकिङसहित जंगल सफारीहरूसमेत खुला भएको छ । यसले अब विस्तारै पुरानो लयमा फर्कंदै छौं । तर, पनि कोरोनाको खतराबाट मुक्त भएका छैनौं ।
अझ काठमाडौं जस्तो स्थानहरू अझै जोखिम न्यूनीकरण हुन सकेको छैन । यद्यपि, कोरोनाबाट हुने मृत्युको दर भने उच्च छैन । कोरोनाबाट निको भएर फर्कनेको संख्या बढ्दो छ । अझै पनि ८५ प्रतिशत संक्रमणमुक्त भइरहेको अवस्था छ । यसले अझै पनि ढुक्कसित घुम्नसक्ने अवस्था छैन । सरकारले भनेको छ कि स्वास्थ्य सम्बन्धीहरू पालन गरेर सबै कार्यहरू पुरानो लयमा फर्काउने । अब सन् २०२० लाई त हामी बिदा गर्दै छांै । सन् २०२१ को मध्यसम्ममा आउँदा पर्यटन लयमा फर्कनेछ । किनभने कोभिड–१९ विरुद्धको खोप संसारभर बन्दै छ । परीक्षणहरू सफल भइरहेका छन् । सरकारले पनि भ्याक्सिनलाई नजिकबाट हेरिरहेको छ । भ्याक्सिनहरू आएको अवस्थामा सन् २०२२ मा पूर्णरूपमा पुरानै अवस्थामा फर्कनेछ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘देश दर्शन’
सन् २०२० को नेपाल भ्रमण वर्ष कोरोनाका कारण स्थगित गर्न पुगे पनि सन् २०२१ को मध्यबाट लयमा फर्कनेछ । अहिले विज्ञ र पर्यटन क्षेत्रका व्यवसायीहरूसँग छलफलहरू गरिरहेका छौं । सुझाव अनुसार अगाडि बढ्ने छौं । अन्य देशहरूले पर्यटन गतिविधि र प्रवद्र्धन कसरी अगाडि बढाउँछन् । त्यसमा पनि हामीले हेर्नेपर्ने हुन्छ । कतिपय क्षेत्रले सन् २०२२ लाई पुनः नेपाल भ्रमण वर्षको रूपमा मनाउनुपर्ने सुझावहरू पनि आइरहेका छन् । तर, बाँकी वर्षहरूका विषयभन्दा पनि अहिले तत्काल गर्ने भनेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने योजना छ ।
सरकारले नीति तथा कार्यक्रम देश दर्शन कार्यक्रम ल्याएका छौं । तर, अहिले नै कार्यविधिहरू ल्याएका छैनौं । किन भने अहिलेनै आन्तरिक पर्यटक पनि सबै गन्तव्यमा जाने सबै घुम्न निस्कने अवस्था छैन । तर, पनि आगामी केही समयपछि देश दर्शन कार्यक्रम मार्फत संस्थागतहरू घुमफिरमा पठाउने कार्ययोजना तयार पार्दै छौं ।
सरकारी निकायदेखि कर्पोरेट हाउस, वित्तीय क्षेत्रका कर्मचारीलाई विशेष प्याकेज दिएर एकैपटक देशका सबै गन्तव्यमा समानुपतिक रूपमा घुम्न पठाउने योजना सरकारको छ । यो क्याप्नेबाट ३० लाख मानिस योजनाबद्ध रूपमा आफ्नै देशका गन्तव्य घुम्न निस्कने छन् । यसले पर्यटन क्षेत्रमा नयाँ आशा जाग्ने छ । अब सन् २०२२ लाख ठ्याक्कै नेपाल भ्रमण वर्ष भन्ने भन्दा पनि सन् २०३० सम्म प्रत्येक वर्ष विभिन्न गतिविधि गर्ने योजना रहेको छ । सन् २०३० सम्म जाँदा पूर्वाधारहरू पनि खडा हुने र वार्षिक ५० लाख पर्यटकहरू भित्र्याउने अवस्थामा सिर्जना गर्ने नै हो ।
(सेजन स्मारिकाबाट)