कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् ।
मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सचिव डा.कार्कीले यस्तो बताएका हुन् ।
आयोजनाहरुको विषेश किसिमको अवधी तथा विषेश किसिमको बजेट भएकाले अन्य कार्यालयका तुलनामा यिनीहरुले बढी प्रभावकारी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए । डा. कार्की आयोजना डिजाइन र कार्यान्वयनका च्याम्पियन मानिन्छन् ।
यसैगरी डा. कार्कीले पशुवस्तुमा देखिँदै आएको लम्पी स्किन रोग नियन्त्रणमा पनि सजक रहन पनि पशुसेवा विभागलाई निर्देशन दिएका छन् ।
बजार अनुगमन कार्यमा जाँदा सञ्चारकर्मीलाई अनिवार्य रुपमा समावेश गर्न पनि उनले निर्देशन दिएका छन् । कृषिमा भएका राम्रा कामहरु मिडियामा कम आउने गरेकाले पनि अनुगमनमा सञ्चारकर्मीलाई समावेश गर्नुपर्ने उनको तर्क थियो ।
आफूले सम्पादन गरेका राम्रा कामहरुलाई जनसमक्ष ल्याउन सञ्चारको सहयोग लिन पनि उनले निर्देशन दिएका थिए । करोडौं खर्च गरेर गरिएका राम्रा कामहरु मिडियामा ल्याउनका लागि केही रकम खर्चनु परे पनि पछि नहट्ने उनले सहकर्मीहरुलाई निर्देशन दिएका थिए ।
नेपालमा खाद्यान्नको कमी नभए पनि सबैतिर धानकै भात मात्र खान थालिएका कारण खाद्यान्न आयात बढेको उनले बताए । केही दिनअघि राष्ट्रपतिसँग भएको भेटमा पनि आफूले यही तथ्य बताएको सचिव कार्कीले बताए ।
उनले भने, नेपाली जनसंख्याका आधारमा वर्षमा १६ लाख टन खाद्यान्न बढी छ, तर भाते प्रवृत्तिले खाद्यान्नमा कमी देखिएको हो ।
कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्माले मासु र दुधमा नेपाल लगभग आत्म निर्भर रहेकाले यस्ता विषयमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने सुझाव दिएका थिए ।
उनले मलको समस्या समाधानका लागि नीजि क्षेत्रलाई पनि समावेश गराइनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा मन्त्रालयका सहसचिव डा. विमल निर्मलले पशुसेवाका क्षेत्रमा भएका उपलब्धीहरुलाई सर्वसाधारणसमक्ष पुर्याउनु पर्ने बताए ।
कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि विभागबीचको सम्बन्ध सुधार गरे बढी प्रभावकारी ढंगले काम गर्न सकिने बताए ।