पछिल्लो समय मोटरसाइकल नचढ्ने कम नै छन् त्यमाथि पनि चलाउन नजान्ने थोरै मात्र होलान । नेपालमा मोटरसाइकल ब्रान्डहरु धेरै छन् । फरक ब्रान्डको बाइकमा फरक-फरक समस्या हुन्छन् । तर, मोटरसाइकलमा केही समस्या समान प्रकृतिका रहेका हुन्छन् ।
त्यसैले मोटरसाइकल चलाउँदा आउने सबैभन्दा बढी समस्याबारे तपाईंहरुलाई जानकारी दिएका छौं ।
चिसो मौसममा स्टार्ट नहुने समस्या प्रायः जाडो मौसममा बाइक स्टार्ट नहुने सबैको समस्या हो । खासगरी कार्बुरेटर इन्जिन भएका मोटरसाइकलमा देखापर्छ । यस्तो समस्याबाट बच्न मोटरसाइकलको स्पार्क प्लग सफा गर्नुपर्ने हुन्छ । स्पार्क प्लग सफा गरेपछि चोक तानेर मोटरसाइकल स्टार्ट गर्न सकिन्छ । यति गर्दा पनि तपाईको मोटरसाइकल स्टार्ट नभए सर्भिस सेन्टर नै लानुपर्ने हुन्छ ।
इलेक्ट्रिकल समस्या : इन्जिन, लाइट, सेल्फ स्टार्ट जस्ता कुरामा देखिने समस्या हो । यदि तपाईंलाई इलेक्ट्रीकल विषमा ज्ञान छ भने यस्ता समस्या घरमै समाधान गर्न सक्नुहुन्छ । छैन भने आफ्नो मोटरसाइकललाई वर्कसप वा आधिकारिक सर्भिस सेन्टर लग्नुपर्छ । साथै इलेक्ट्रिकल पार्टसमा व्याट्री पनी पर्ने भएकाले समय-समयमा यसको व्याट्री चेक गरिरहनुपर्छ । यदि डिस्क ब्रेक भएको मोटरसाइकल छ भने यसमा रहेको हाइड्रोलिक फ्यूल चेक गर्ने र ब्रेक प्याड पनि चेक गर्न सकिन्छ ।
कम माइलेजः सर्भिस सेन्टरमा अधिकांश समस्या माइलेज नदिएको भनेर आउने गरेको सर्भिस इन्जिनियरहरु बताउँछन् । यो कुनै एक विशेष मोडलमा होइन सबै कम्पनीका मोटरसाइकलमा आउने समान समस्या हो । यो समस्या औषत गतिमा मोटरसाइकल नचलाउँदा, ठीक समयमा गियर परिवर्तन नगर्दा आउने समस्या हुन् । यसबाट पार पाउन तपाईले आफ्नो ड्राइभिङलाई सुधार गर्नुपर्ने हुन्छ ।
उच्चगतिमा धेरै भाइब्रेसनः राम्रो बाटोमा पनि स्पीड बढी हुँदा धेरै भाइब्रेसन आउने समस्या धेरै मोटरसाइकलमा हुने समान समस्या हुन् । यो धेरै ठूलो समस्या भने होइन । तर, मोटरसाइकलमा उत्पन्न भएको भाइब्रेसन कत्तिको नेचुरल हो भन्ने बुझनु भने पर्छ ।
अधिकांश समयमा मोटरसाइकलका पाटर्स जोड्न प्रयोग भएका नटहरु फुस्केर पनि भाइब्रेसन आउने गर्छ त्यसैले यस्तो समस्या आए सबै पार्टस जोड्न प्रयोग भएका नट्सको निरिक्षण गर्नु पर्छ । यसरी निरिक्षण गर्दा सिट बोल्ट निरिक्षण गर्न नर्विसनु होला ।