काठमाडौं । करिब सात वर्षपछि गुण एयरलाइन्स आफ्नै ब्रान्डमा फर्किने भएको छ । सन् २००९ बाट सुरु भएको गुण एयरलाइन्स सन् २०१३ मा रामेश्वर थापा साझेदारीमा आएपछि सिम्रिक एयरलाइन्स भएको थियो ।
गुण एयरलाइन्सको व्यवस्थापनबाट केही समयअघि रामेश्वर थापा बाहिरिएपछि व्यवस्थापनको पूरै जिम्मा राजेन्द्र शाक्यले लिएका थिए । थापाको सिम्रिक हेलिकप्टर कम्पनी पनि रहेकाले शाक्यले पुरानो नामबाट नै एयरलाइन्स सञ्चालन गर्न तयारी गरेका हुन् ।
सात वर्षअघि घरजग्गा व्यवसायमा मन्दी आएपछि घर जग्गा व्यवसायीसमेत रहेका शाक्य आर्थिक संकटमा परेका थिए । शाक्यले आर्थिक समस्यामा परेपछि गुण एयरलाइन्स थापालाई बिक्री गरेका थिए । थापाले शाक्यको ऋण सकारेर गुण एयरलाइन्स लिएका थिए ।
शाक्यले त्यो बेला घरजग्गा व्यवसायमा ठूलो लगानी गरेका थिए । शाक्यले अहिले पनि अपार्टमेन्ट, हाउजिङ्ग र जग्गाको व्यवसाय गर्दै आइरहेका छन् ।
गुण कोलोनी, गुण सिनेमा, गुण ज्वेलरी, गुण कोपरेटिभ, सनसाइन अपार्टमेन्ट, डेज इन होटल, किस्ट मेडिकल कलेज, एपीवान टेलिभिजन, हिरो मोटरसाइकल, दरबारमललगायत दर्जनौं क्षेत्रमा लगानी गरेका शाक्य पछिल्लो पटक हरेक व्यवसायमा सफलता प्राप्त गरेका छन् । व्यवसायमा सुधार आएपछि शाक्यले लगानीको दायरलाई अझ फराकिलो बनाएका छन् ।
व्यवसाय सफल हुँदै गएपछि शाक्यले थापालाई सेयर फिर्ता गर्दै आफ्नै ब्रान्डमा एयरलाइन्स सञ्चालन गर्न लागेका हुन् । एयरलाइन्समा शाक्यको योजना आक्रामक ढंगबाट अगाडी बढ्ने समेत रहेको छ । अब एयरलाइन्समा करिब ९० करोड रुपैयाँ लगानी गर्नेसमेत योजना बनाएका छन् ।
सिम्रिकबाट गुण एयरलाइन्समा नामाकरण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन समेत दिइसकेको सिम्रिक एयरलाइन्सका मार्केटिङ चिफ प्रज्वल थापाले जानकारी दिए ।
मन्त्रालयले स्वीकृति दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सहमति दिनुपर्ने हुन्छ । प्राधिकरणको स्वीकृतिपछि जहाजमा नाम परिवर्तन गरिन्छ ।
अहिले सिम्रिकको नाममा १८ सिट क्षमताको दुईवटा जहाज सञ्चालनमा रहेको छ । पोखरा र भरतपुरमा उडान गर्दै आएको सो एयरलाइन्सले २०२१ को मार्च भित्रमा दुईवटा ट्वीनअटर जहाज ल्याउने तयारी गरेको छ । जहाजको लागी आवश्यक तयारी गरिसकेको र नयाँ जहाज आएको ५/६ महिना भित्रै अर्को ट्वीनअटर जहाज ल्याउने तयारी समेत गरेको छ ।
नयाँ जहाज थपेपछि नयाँ गन्तव्यमा उडान भर्ने योजना बनाएको छ । दुर्गम क्षेत्रलाई मध्यनजर गरी गुणले तुम्लिङटार, लुक्ला, पोखराबाट जोमसोम, नेपालगन्जबाट सिमिकोट, जुम्ला र डोल्पामा उडान गर्ने थापाले जानकारी दिए ।