काठमाडौं । बाढी र डुवानका कारण प्रदेश नम्वर २ को कृषिमा मात्रै ३ अर्ब ५९ करोड रुपैयाँको क्षति भएको छ । असारको अन्तिम साता लगातारको बर्षाले गर्दा बाढी र डुवानका कारण बाली तथा पशुपन्छीमा ठूलो क्षति भएको हो ।
पशुपन्छी तर्फ करिव १ अर्ब ६२ करोड रुपैयाँको क्षति भएको छ । प्रारम्भिक तथ्याँक भएकाले थप विवरण आउन बाँकी छ । बालीतर्फ करीब १ अर्ब ९७ करोड रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, अहिलेसम्म विभिन्न कृषि उत्पादन, पशुचौपायाँ र अन्य क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । मकै, तरकारी, चैतेधान, बर्षेधान, ब्याड, अलैँची लगायत पोल्ट्री फर्ममा क्षति भएको छ । सबैभन्दा बढि बालीमा क्षेत्रमा बढि क्षति पुर्याएको छ ।
प्रदेश नम्वर २ का ८ जिल्लामा बाढी र डुवानबाट बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ । रौतहट, पर्सा, बारा, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी र धनुषा बाढी र डुवानले बढि क्षति पुगेका जिल्ला हुन । त्यसबाहे प्रदेशका अन्य जिल्लामा पनि बाढी र डुवानले क्षति पुर्याएको छ ।