काठमाडौं । कोरोना महामारीले विकास निर्माण ठप्प भइरहेका बेला ऊर्जा क्षेत्रमा भने दर्जन जलविद्युत् आयोजना सम्पन्न भएका छन् । गत २०७६ चैत सुरु भएयता हालसम्म १२ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भए ।
मुलुक नै कोरोना भाइरसका कारण बन्दाबन्दी(लकडाउन) भएपछि सकिनै लागेको जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन थालेका हुन् ।
कोरोना महामारीका बीचमा १२ वटा जलविद्युत् आयोजनाबाट झन्डै ८६ मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।
उनका अनुसार, चैत सुरु भएदेखि असार मसान्तसम्म ५६.६ मेगावाटका ७ वटा जलविद्युत् आयोजना सम्पन्न भए । साउनदेखि हालसम्म ५ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर २९.३७७ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको प्रवक्ता तिम्सिनाले क्यापिटल नेपाललाई जानकारी दिए ।
कोरोना महामारीका बीचमा चैत सुरु भएदेखि असार मसान्तसम्म ६.६ मेगावाटको रुदीखोला ‘बी’ जलविद्युत् आयोजना, ५ मेगावाटको घलेम्दीखोला, ७.५ मेगावाटको अपर खोरुङ्गा, ६०० किलोवाटको झाँक्रेखोला(सानो), २३.५ मेगावाटको सोलुखोला, ९.६०० मेगावाटको सुपर माई ‘ए’ र ३.८ मेगावाटको सुपर माई(क्यासकेड) जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन भएको हो ।
त्यस्तै, साउन सुरुदेखि मंसिर १६ गतेसम्म आइपुग्दा ९९७ किलोवाटको हाँडीखोला ‘ए’, ३ मेगावाटको अपर रावा, ११.८८ मेगावाटको नागार्जुन मादी, ८.५ मेगावाटको बुटवल सोलार प्रोजेक्ट र ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजना सम्पन्न भएको हो ।
हालसम्म निजीक्षेत्रबाट प्रवद्र्धित जलविद्युत् आयोजनाबाट ७२५.५ मेगावाट, विद्युत् प्राधिकरणका सहायक कम्पनीबाट ५८२ मेगावाट गरी कुल १३६२.५ मेगावाट उत्पादन जडित क्षमता पुगेको प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले १ हजार मेगावाट बिजुली उत्पादन हुने प्रक्षेपण गरेको थियो । तर, कोभिड–१९ का कारणले लक्ष्यअनुसार बिजुली उत्पादन हुन सकेन् । गत आवमा १३५ मेगावाट बिजुली मात्र राष्ट्रिय प्रणालीमा जोडिएको थियो ।
चालू आर्थिक वर्षमा पनि सरकारले १५०० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि सो लक्ष्य हासिल नहुने पक्का छ । किनभने, कोरोना महामारीका कारण निर्माणको अन्तिम चरणमा रहेको आयोजना ठप्प छन् । कामदार अभाव र निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा चालू आवका लागि विद्युत् उत्पादन मिति(सीओडी)तोकेका आयोजना पनि सम्पन्न हुने अवस्था देखिँदैन ।
प्राधिकरणका अनुसार चालू आवमा कम्तीमा ६ देखि ७ सय मेगावाट मात्र बिजुली उत्पादन हुन सक्ने आकंलन गरेको छ । निकै महत्वपूर्ण र गेमचेन्जर परियोजनाका रूपमा रहेको ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजना यसै वर्षभित्र सम्पन्न हुने चरणमा छ । तामाकोसी र निजी क्षेत्रका अन्य जलविद्युत् आयोजना सम्पन्न हुँदा नेपालमा बिजुलीको बढी हुने(सरप्लस) हुने अवस्था छ ।
स्वदेश खपत भएर बढी भएको बिजुली सरकारले भारत र बंगलादेश निर्यात गर्ने नीति लिएको छ । बिजुली निर्यातका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन केही दिन पहिले ४०० केभीमा चार्ज भइसकेको छ ।
उक्त प्रसारण लाइनमार्फत बिजुली निर्यातको ‘ब्रेक थ्रु’ भएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘यसवर्ष केही न केही मात्रमा बिजुली निर्यात गर्छौं ।त्यसका लागि ढल्केबर सवस्टेसन ४०० केभीमा चार्ज भइसकेको छ । निर्यातको बाटो खुलिसकेको छ,’ उनले भने, ‘स्वदेशमा पनि बढीभन्दा बढी बिजुलीको खपत बढाउने र गुणस्तरीय बिजुली आपूर्ति गर्ने दायित्व हाम्रो काँधमा छ ।’
सरकारले १० वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको छ ।