काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लगानी जोखिममा परिरहेको गुनासो गरिरहेको बेला चितवनमा नयाँ होटल निर्माण हुने भएको छ ।
कोभिडपछिको न्यू नर्मलसँगै हुने पर्यटकीय गतिविधिलाई ध्यानमा राख्दै चितवनमा २५ करोड रुपैयाँ लगानीमा बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’ निर्माण हुने भएको हो । रिसोर्टको शिलन्यास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका हुन् ।
सन् २०२२ को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण सुरु गरिएको सो रिसोर्ट साढे १२ कठ्ठा जग्गामा फैलिएको अध्यक्ष एवं प्रबन्ध निर्देशक रामेश्वर साहले जानकारी दिए ।
पहिलो चरणमा ३४ वटा कोठा सञ्चालनमा ल्याउने गरी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५, बछ्यौलीमा रिसोर्ट निर्माण भएको हो । रिसोर्टमा अत्याधुनिक स्पा, स्वीमिङ पुल, कन्फरेन्स हल, मिटिङ रुम, बिजनेस सेन्टर, रेष्टुराँ, बार, लाइभ म्युजिकसहितको साँस्कृतिक कार्यक्रम गर्ने व्यवस्था हुनेछ ।
कोभिडले गर्दा लामो समयसम्म घर भित्रै थुनिएर बसेको र कोभिडपछिको अर्को संसार हुने भएकाले आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट निर्माण गर्न थालिएको अध्यक्ष साहको भनाइ छ ।
होटल निर्माणको तयारी कोभिड संक्रमण फैलिनु अघिबाटै सुरुवात गर्न खोजिए पनि लकडाउनका कारण रोकिएको थियो । अहिले लकडाउन खुला भएकाले रिसोर्ट निर्माणको काम अघि बढाएको उनले जानकारी दिए ।
नेपालमा ६० प्रतिशत पर्यटकहरु आन्तरिक रहेको हुँदा त्यसैलाई विशेष ध्यानमा राखेर काठमाडौंबाट नजिकको गन्तव्यको रुपमा रहेको चितवनमा नयाँ लगानी गरिएको अध्यक्ष साहको भनाइ छ ।
यहाँका होटलहरुलाई ६० प्रतिशत पर्यटक भएमा सञ्चालन गर्न सहज हुने भएकाले तत्कालै विदेशी पर्यटकहरु नआए पनि नेपालीहरु मात्र घुम्न निस्किएमा सहज हुने अनुमानका साथ निर्माणको काम अघि बढाइएको उनले बताए । रिसोर्टको दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्ज रहेकाले दिउँसै हरिण, चराचुरुङ्गीहरु र गैंडालाई प्रत्यक्ष रुपमा हेर्न पाइने छ ।
लामो समयसम्म आउटसोर्सिङ क्षेत्रमा काम गर्दै आएका साहको होटल क्षेत्र पहिलो हो । साह गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार एवं नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष हुन् ।