काठमाडौं । काठमाडौं । विज्ञापनरहित (क्लीनफिड)ले बन्द भएका टेलिभिजन च्यानल अनलाइन (इन्टरनेट) मार्फत ग्राहकले हेर्न थालेपछि केबल टेलिभिजन सेटअप बक्स रिर्चाज घट्न थालेको छ ।
सरकारले गत कात्तिक ७ गतेबाट नेपालमा क्लीनफिड लागू गरेको थियो । तर, उक्त नीति लागू भएपछि प्रभाव सेटअफ बक्सको प्रभाव घटेको हो । अहिले टेलिभिजनका ग्राहक र रिचार्ज गर्नेको संख्या ह्वातै घटेको छ ।
नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष धु्रव शर्माले क्लीनफिड लागू हुनुअघि करिब २७ लाख सक्रिय ग्राहक भएकोमा अहिले सेटअप बक्स रिचार्ज गराउने ग्राहकको संख्यामा झन्डै ४० प्रतिशतले घटेको बताए ।
उनका अनुसार क्लीनफिड कार्यान्वयनका कारण यसअघि नेपालमा प्रसारण भइरहेका मध्ये १ सयभन्दा बढी च्यान बन्द छन् तर, इन्टरनेटको माध्यममार्फत रोकिएका टेलिभिजन च्यानल हेर्ने ग्राहक बढ्दै गएका छन् ।
शर्मा भन्छन्, ‘नेपालमा आईपी टिभी सञ्चालन गर्छु भनेर लाइसेन्स लिएका सेवा प्रदायकले गैरकानुनी रूपमा इन्टरनेट ओटीटीमार्फत सेवा दिइरहेका छन्, सरकारलाई क्लीनफिड लागू गर्ने हो भने यस्ता सेवा पनि रोक्नुपर्ने जानकारी गराएका छौं तर सरकारले सुनेको छैन ।’
‘केही वर्ष अघिसम्म केबल टेलिभिजनबाट विदेशी च्यानल हेर्ने संख्या ३५ लाखभन्दा बढी थियो,’ शर्माले क्यापिटल नेपाललाई भने, ‘अहिले क्लीनफिड र ओटीटीका कारण ग्राहक घट्दै गएका छन् ।’ पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले एन्ड्रोइड सेटअप बक्स दिने गरेका छन् जसले गर्दा जुनसुकै सामग्री हेर्न मिल्ने व्यवस्था छ । तर, केबल टेलिभिजन व्यवसायीले भने यो सेवा तत्काल रोक्नुपर्ने माग राख्दै सरकारलाई उजुरी दिएका छन् ।
सरकारले क्लीनफिड लागू गर्नुअघि महासंघले ११ बुँदे माग पूरा गर्न ज्ञापनपत्र बुझाएको थियो, जसमा इन्टरनेट सेवा प्रदायकले एन्ड्रोइड आईपीटीभी बक्स प्रयोग गरी नेपालमा डाउनलिंक अनुमति नभएका टेलिभिजनसमेत प्रसारण गरिरहेको भन्दै बन्द गर्न माग गरेको थियो ।
इन्टरनेटमार्फत आउने सामग्रीका कारण केबल टेलिभिजनका उपभोक्ता निष्क्रिय हुने र केबल व्यवसायीले डिजिटल सेटअप बक्समा गरेको लगानी संकटमा परेको अध्यक्ष शर्माको भनाइ छ ।
सरकारले केबल टेलिभिजन व्यवसायीको माग सम्बोधन नगरे मुद्दामा जाने महासंघको तयारी छ । केबल व्यवसायीले डिजिटल सेटअप बक्स प्रयोग गरी नेपालमा डाउनलिंक अनुमति भएका टेलिभिजन मात्र प्रसारण गर्न पाउने तर आईपी टिभिले डाउनलिंक अनुमति नपाए पनि टेलिभिजन प्रसारण गर्न पाउन व्यवस्था जायज नभएको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार नयाँ ग्राहक थपिने संकेत छैन भने पुरानाले रिचार्ज गरेका छैनन् ।
सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीले क्लीनफिड कार्यान्वयन पनि देखिएका समस्या र प्रभावका लागि कार्यदल बनाएर अघि बढेको बताए । उनका अनुसार सो कार्यदलले समस्याको समाधान गर्दै सरोकारवालाहरूले उठाएको विषय र समस्याबारे छलफल गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्नेछ ।