काठमाडौं । सिंगो मुलुक नै कोरोना महामारीबाट प्रभावित भइरहँदा नेपाली उपभोक्ता भने चर्को महँगीको मार खेप्न बाध्य भएका छन् । अहिले बजारमा अधिकांश खाद्य वस्तुको भाउ अचाक्ली बढेको छ । तरकारी, फलफूल, उपभोग्य वस्तुको भाउ छोइनसक्नु छ ।
कोरोना महामारीले झन्डै ६ महिना मुलुकमा बन्दाबन्दी हुँदा धेरै नेपालीको रोजीरोटी गुम्यो, काम खोसिएर आम्दानीको बाटो बन्द हुँदा क्रयशक्ति घट्यो । त्यसमाथि अझ दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
अझै पनि कोभिड महामारीले अवस्था सामान्य अवस्थामा फर्कन सकेको छैन । तर, उपभोक्ताका दैनिक आवश्यकताका वस्तुको मूल्यवृद्धि हुने क्रम बढ्दो छ ।
केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको त्रैमासिक प्रतिवेदनमा समेत तरकारी तथा खाद्य वस्तुमा ३.७९ प्रतिशत मूल्यवृद्धि भएको उल्लेख गरेको छ ।
लामो समय कोरोनाले ठप्प भएको बजार लकडाउन खुलेसँगै वस्तु तथा सेवाको मूल्य पनि बढेको देखिन्छ । व्यापारीले कोरोनाका कारण ढुवानी समस्या र आपूर्ति नभएको बाहना बनाएर वस्तुको मूल्य बढाइरहेका छन् । पुनः लकडाउन हुने हल्ला पिटाएर वस्तुको भाउ बढाएर पनि व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् ।
कोरोना महामारीबाट तंग्रिन खोजेका उपभोक्ता बढ्दो महँगीले झनै पिल्सिएका छन् । महँगी बढेर उपभोक्ता ठगिँदासमेत सरकार तथा नियामक निकाय मुकदर्शक बनिरहेको छ ।
बेला–बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले महँगी र कालोबजारी नियन्त्रण सरकारको दायित्व हो । र, त्यो गर्छ भनेर भाषण दिइरहेका हुन्छन् । तर, व्यवहार त त्यो फगत भाषणमै सीमित छ । नियमनकारी निकायको झारा टार्ने खालको बजार अनुगमन मूल्यवृद्धि रोक्न सकेको छैन । उल्टै बिचौलिया व्यापारीलाई नै कमाउने धन्दा बनेको छ । बजार कत्ति पनि सुध्रन सकेको छैन ।
अघिल्ला वर्षभन्दा यसवर्ष कोरोना महामारीले वस्तु तथा सेवाको ढुवानीमा केही समस्या आयो । यद्यपि, अहिले त्यस्तो अवस्था भने छैन । खासगरी तरकारी, फलफूल र खाद्य वस्तुको मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा अहिले अचाक्ली बढेको छ ।
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा अघिल्लो वर्ष (२०७६ मंसिर १५) र अहिले(२०७७ मंसिर १५) गतेको तरकारी तथा फलफूलको मूल्य अत्यधिक बढेको देखिन्छ ।
सबैभन्दा बढी आलूको मूल्य अकासिएको छ । भारतबाट आयात हुने आलुसमेत महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्ष(२०७६ मंसिर १५) मा ४६ रुपैयाँ प्रतिकेजी पर्ने रातो आलु अहिले(२०७७ मंसिर १५ गते) ८८ रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा आलूको मूल्य ९१ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष ३६ रुपैयाँ प्रतिकेजी थोक मूल्यमा पाइने भारतीय आलु यसवर्ष ७७ रुपैयाँ पुगेको छ । जुन, गत वर्षको तुलनामा ११३ प्रतिशतले मूल्य वृद्धि हो ।
यता, गत वर्ष ५५ रुपैयाँमा पाइने बोडी(तुने)को मूल्य अहिले १०५ रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा बोडी ९१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ११५ रुपैयाँ प्रतिकेजी पर्ने मोटरकोसा अहिले २०३ रुपैयाँ पुगेको छ । तुलनात्मक रूपमा मोटरकोसामा पनि ७७ प्रतिशतले मूल्यवृद्धि भएको देखिन्छ ।
त्यस्तै, चम्सुरको सागको पनि मूल्य गत वर्षको तुलनामा बढी छ । ९५ रुपैयाँ प्रतिकेजी पर्ने चम्सुर अहिले बजारमा १४५ रुपैयाँ पुगेको छ । यसको पनि मूल्य ५३ प्रतिशतले बढेको छ ।
त्यस्तै, अघिल्लो वर्ष २४५ रुपैयाँ प्रतिकेजी पर्ने पार्सले अहिले बजारमा ३७५ रुपैयाँसम्म पर्छ । तुलनात्मक रूपमा पार्सले पनि ५३ प्रतिशतले मूल्यवृद्धि भएको देखिन्छ । हरियो धनियाँ प्रतिकेजी ८५ रुपैयाँमा पाइन्थ्यो । अहिले बजारमा २२५ रुपैयाँ पुगेको छ । गत वर्षका तुलनामा धनियाँमा १६५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
यता, सुकेको लोकल लसुनको मूल्य पनि गत वर्षको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको छ । यति मात्र होइन, लोकल गोलभेडा, सानो गोलभेडा, ठूलो गोलभेडा(टनेल), भन्टा, ब्रोकाउली, गान्टे मुला, हरियो खुर्सानी लगायतका तरकारीको मूल्य २० देखि ५० प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिन्छ ।
यता, उपभोग्य वस्तुहरू दाल, गेडागुडी, तेल, चिनी लगायतका वस्तुको मूल्य पनि बढेको छ । जसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई पर्न गएको देखिन्छ । अहिले चिनीको मूल्य ९० रुपैयाँ प्रतिकेजी पुगेको छ । आम उपभोक्ता संकट परेको अवस्थामा चाहिने सरकार महँगीले पिल्सिदासमेत मुकदर्शक बनेको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन् ।
‘संकट बेला नागरिकलाई सरकार चाहिने हो । तर, बजारमा दैनिक आवश्यकताका वस्तुको मूल्य अचाक्ली बढेको छ । तर, सरकारी निकायहरूले बजार हस्तक्षेप गर्न सकेका छैनन,’ उनले भने, ‘साँच्चिकै नागरिकले राज्य भएको अनुभूति गर्न पाएका छैनन् ।’
वाणिज्य विभागको निकम्मापनका कारणले उपभोक्ता संकटको अवस्थामा पनि पीडित हुनुपरेको उनी बताउँछन् । अहिले बजारमा निर्माण सामग्रीकोका वस्तुको मूल्य पनि बढेको छ । निर्माण व्यवसायी महासंघले निर्माणजन्य वस्तुको मूल्यवृद्धि प्रतिखबरदारी गरे पनि अवस्था ज्यूँको त्यूँ छ ।
यता, नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भने विगतमा भन्दा अहिले संख्यात्मक र गुणात्मक रूपमा बजार अनुगमन भइरहेको दाबी गर्छ । उसले दाबी गरेको जस्तो बजारको अवस्था सुध्रेको छैन ।
बजार अनुगमन गर्दैमा र एकल प्रयासले मात्र महँगी नियन्त्रण हुन नसक्ने विभागका प्रवक्ता शिवराज सेढाईंले बताए । ‘महँगीको कुरामा विभागले अनुगमन गर्दैमा, विभागको बजारमा उपस्थिति हुँदैमा, विभागले एकल प्रयास गर्दैमा नियन्त्रण हुने विषय नै होइन्,’ उनले भने, ‘विभागको कार्यक्षेत्रमा हामी जति क्रियाशील भए पनि अरू धेरै ‘फ्याक्टर’ ले असर गरिरहेको हुन्छ ।’