झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।
वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्यका साथ सघन शहरी तथा भवन निर्माण आयोजनाले दमक नगरपालिका वडा नं ३ दापगाँछीमा स्थानीयवासीबाट निःशुल्क प्राप्त ५ बिगाहा जग्गामा भ्यूटावर निर्माण गरिरहेको छ ।
चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्याटसहित १ अर्ब ५६ करोड १४ लाख रुपैयाँमा भ्यूटावर निर्माणको ठेक्का लिएका छन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भुपेन्द्रकुमार यादवका अनुसार २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्का सम्झौता विसं २०७६ असार २७ गते भएको थियो ।
अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए । बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ ।
दमक चोकबाट छ किलोमिटर पश्चिमोत्तर दापगाँछी भन्ने गाउँमा यसको निर्माण भइरहेको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ ।
टावरको सबैभन्दा तल्लो तलामा सावरी साधन पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ । टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्य चौकी बनाइने प्रोजेक्ट मेनेजर बिडारीले जानकारी दिनुभयो । पश्चिमतिर ‘ओपन एयर थिएटर’ र उत्तरतिर फाउन्टेन पार्क, बाल उद्यान आदि लगायतका संरचना बनाइने भएको छ ।