काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चौमासिक अवघिमा विभाग र मातहतका कार्यालयबाट ११८९ नमुना संकलन गरेकोमा ७० ओटा नमुना मापदण्ड विपरीत रहेको पाइएको छ ।
बजार निरीक्षण अनुगमन गरी ऐन नियमअनुसार ७० ओटा नमुना मापदण्डअनुसार नभएको र त्यसमध्ये सवैभन्दा बढी प्रशोधित पिउने पानीका नमुना मापदण्डअनुसार नभएको पाइएको हो ।
प्रशोधित पिउने पानीका २१ ओटा नमुना मापदण्डअनुसार नभएको पाइएको विभागले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । त्यस्तै, दानाका १६ ओटा, तेल तथा घ्यूजन्य नमुना १४ ओटा, खाद्यान्नका १० ओटा लगायतका खाद्य पदार्थ मापदण्डअनुसार नभएको विभागले जनाएको छ ।
विभाग र मातहका कार्यालयबाट सो अवधिमा खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ नमुना संकलन गरिएको थियो ।
सो अवधिमा न्युनस्तरका तथा दूषित उत्पादन तथा बिक्रिावितरण गरेको कसूरमा २६ थान मुद्धा विभिन्न जिल्ला प्रशासनमा तथा जिल्ला अदालतमा दायर गरेको छ ।
दायर गरिएका २६ थान मुद्धा मध्ये सवैभन्दा बढी प्रशोधित पिउने पानीका छन् । मुद्धा दायर भएकामध्ये ७ ओटा दूषित तथा न्युन गुणस्तर, ७ ओटा लेबल लगायतका विवरण नमिलेका र ४ ओटा खाद्य ऐन नियम निर्देशिका उल्लंघनका मुद्धा छन् ।
सो अवधिमा विभागले खाद्य, दाना उद्योग, होटल, रेष्टुरेन्ट, राजमार्गका होटल लगायत १८७३ पटक निरीक्षण गरेको थियो ।
चौमासिक अवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, ६३० उद्योगलाई अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारीस गरिएको छ ।
कागजात पूरा नभएका ६३ ओटा गेडागुडी र मसलाजन्य खाद्य पदार्थको कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको विभागले जनाएको छ ।