काठमाडौं । यती एयलाइन्सले मंसिर २० (डिसेम्बर–५) बाट माउण्टेन फ्लाइट पुनः सुरु गर्ने भएको छ ।
आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न गन्तव्यहरुको लागि न्युनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको हो ।
‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
माउण्टेन फ्लाइटका लागि नेपाली यात्रुका लागि आठ हजार ९९९ र नेपालमा बसोवास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार ४९९ रुपैयाँमा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दासंगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन ।
कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुकालागी विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाईन्सले माउण्टेन फ्लाइटको लागी समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।
एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिने बताए । ‘हामिले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिदेखीनै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं ’,उनले भने ।
यो अवसरलाई सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम को साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ, प्रवक्ता बर्तौलाले भने । माउण्टेन फ्लाइट अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित हुने जनाएको छ ।
यती एयरलाईन्स संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ प्रबद्र्धनका लागी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनडिपी) को साझेदार संस्था हो । यो एयरलाईन्स दिगो विकास लक्ष्यको एक हिस्साको रुपमा रहेको ‘कार्बन न्यूटर्ल’ गर्ने दक्षिण एशियाकै पहिलो र एकमात्र एयरलाईन्स हो ।
यती र भगिनी संस्था तारा एयरले नेपालका सवैभन्दा धेरै गन्तव्यहरुमा उडान सेवालाई दिंदै आएको छ ।