मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्छ ।
यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटको कारणले पनि गुणस्तरमा फरक पर्ने हुनसक्छ । ग्राहकहरुमा फोरजी मोबाइल सेटको प्रयोगका सम्बन्धमा थप जानकारीको आवश्यकता महशुस गरी यो जानकारी तयार पारिएको छ ।
हाल कम्पनीको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको छ ।
यसको अर्थ, फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा व्याण्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।
नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज व्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज व्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ । दुवै व्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको छ ।
यसरी गर्नुस सेट
यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण स्पेसिफिकेसन हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । साथै मोबाइल सेटको सेटिङ्मा गई मोबाइल नेटवर्कको अप्सन भित्र २ जी÷थ्रिजी÷थ्रिजी–टुजी(अटो कनेक्ट) एलटीइ–थ्रिजी÷टुजी अटो कनेक्ट जस्ता विकल्प मध्य एलटीई–थ्रजी–टुजी(अटो कनेक्ट अप्सन छनोट गर्नु उपयुक्त हुन्छ ।