काठमाडौं । नेपालमा कोरोना भाइरस महामारी फैलिनु अघि मानिसहरू अनलाइन व्यापार अर्थात् होमडेलिभरि सेवालाई अत्यावश्यकको रूपमा लिँदैनथे । सेवा भरपर्दो र समान भनेजस्तो नहुने भन्दै सर्वसाधारण आफैं बजारमा निस्किने र सामान खरिद गर्थे ।
त्यति मात्रै होइन, एक क्लिकको भरमा होटल रेष्टुरेन्टको खाना घरैमा आइपुग्ने भए पनि मानिसहरू बाहिर नै निस्किने गरेका हुन्थे । कोभिड–१९ को कारण गत चैत ११ गतेबाट लकडाउन भएपछि सबै व्यापार व्यवसाय ठप्प जस्तै भयो । सबै क्षेत्र प्रभावित भए ।
तर, बन्दाबन्दी भएपछि फुडमाण्डु, सस्तो डिल, दराजलगायत सयौं कम्पनीहरूले भने होमडेलिभरि सेवा दिइनै रहे । घरबाहिर निष्किने अवस्था नभएको र पहिलाको जस्तो माहोल नहुने देखेपछि मानिसहरू अनलाइनतर्फ नै बढी केन्द्रित भए ।
केन्द्रित मात्रै भएन बाध्यताले पनि अनलाइन सेवालाई रोज्न र सेवा लिन थाले । अनलाइन सेवामा ग्राहकको क्रेज बढ्न थाले पनि कोभिडकै बीचमा केही नयाँ कम्पनीहरू पनि सञ्चालनमा आएका छन् । पछिल्लो ८ महिनामा ‘ई–कमर्स’ अनलाइन व्यापार दोब्बर भएर अगाडि बढेको व्यवसायीहरू बताउँछन् ।
खासगरी कोभिडपछि कोरोना भाइरस संक्रमण जोखिम कम हुने भएपछि अनलाइन सेवामा ग्राहकको आकर्षण थप बढेको हो । पछिल्लो समय स्मार्टफोनको सहज प्रयोग र समयको मागसँगै स्टार्टअप कम्पनीहरू कोभिडपछि नयाँ फड्को मारेका छन् ।
ई–कमर्श कम्पनी फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले लकडाउन भएपछि सर्वसाधारणमा अनलाइन डेलिभरि सेवामा एकैचोटी आकर्षण बढेको बताए ।
‘पहिले अनलाइन कम्पनीहरूले आफंै नै इफोर्टमा मार्केट क्रियट गर्दै जानै पर्ने अवस्था थियो तर, अहिले परिस्थितिका कारण अनलाइन प्लाटर्फममा जान प्रेरित भइरहेका छन्,’ अधिकारीले भने ।
अहिले मात्रै नभई अबको ५ वर्षभित्र अनलाइन सेवाको पहुँच र सेवामा नयाँ आयाम थपिने उनको भनाइ छ । अधिकारी भन्छन्, ‘अहिले डिमान्ड अत्याधिक बढ्दै गएको तर सप्लाईलाई कसरी व्यवस्थापन गर्दै अघि बढ्ने भन्ने विषय चुनौतीपूर्ण छ ।
होमडेलिभरि कम्पनी सस्तो डिलका सञ्चालक आमल थापाले कोभिडका बीचमा केही समस्या आए पनि ८ महिनाको बीचमा नेपालका ई–कमर्श कम्पनीले नयाँ फड्को मारेको बताए ।
‘अहिले अनलाइन सेवा लिन्न भन्नेहरूले पनि बाध्यताले प्रयोग गर्नै पर्ने अवस्था छ भने इन्टरनेट डेटाको प्रयोग पनि त्यही रेसियोमा बढ्दै गएको छ,’ थापाले भने । अबको केही वर्षमा २ सय प्रतिशतसम्म बढ्ने अनुमान गरिएको थापाको भनाइ छ ।
कोरोना भाइरस संक्रमणको जोखिम झन–झन बढ्दै गइरहेको छ । संक्रमणको सन्त्रासकै कारण पछिल्लो समय सबै क्षेत्र डिजिटल प्लाटर्फममा रूपान्तरण भइरहेको छ ।
‘द बर्गर हाउस’का सञ्चालक विष्णु तामाङले पहिलाको तुलनामा होमडेलिभरिको माग अत्याधिक बढेको र माग धान्न नसक्ने अवस्था रहेको बताए । ‘होमडेलिभरि सेवाको डिमान्ड बढी रहेकाले नयाँ व्यवस्थापनका साथ अघि बढ्ने तयारी रहेको छ,’ उनले भने ।
महामारीबीच कतिपय व्यवसायीले नयाँ आइडिया फुराएर काम गरिरहेका छन् । त्यसैगरी केहीले मास्क र पीपीई उत्पादन गरेर अनलाइन सपिङ अघि बढाएका छन् ।