पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । सांगठनिक हिसावले पार्टी न फुट्ने न जुट्ने अवस्थामा छ । सत्तारुढ दल नै यस्तो अवस्थामा भएपछि सरकारी कामकाज कुन हिसावले अघि बढ्ला अनुमान गर्न गाह्रो हुँदैन । प्रायः मानिसहरूको स्वभाव बलेको आगो ताप्ने नै हुन्छ । अर्थात् जो शक्तिमा छ, धेरै व्यक्तिहरू अवसरका लागि शक्तिकै भक्तिगानमा लिप्त हुन्छन् । नेपालीहरू पनि त्यसबाट टाढा रहने कुरै भएन ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो । मुख्यमन्त्री शाहीका विपक्षमा सांसदहरूको संख्या बढी देखियो । संघमा शक्तिका लागि युद्ध जारी रहेकै बेला दुईतिहाइ बहुमत भएको कर्णाली प्रदेशको सरकार कतिखेर ढल्छ भन्ने आशंका उब्जियो । नेकपाभित्रका पूर्वखेमाहरू के माओवादी, के एमालेभित्रका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्माओली वा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल सबै समूहबाट शाहीविरुद्ध मोर्चाबन्दी भयो ।
तर, नेपाल पक्षकालाई ३ जना मन्त्री दिने सहमतिपछि बहुमत शाहीका पक्षमा जुटेन मात्र अविश्वास प्रस्ताव रद्धिको टोकरीको पुग्यो । शाहीले ओली पक्षका मन्त्री हट्न भने । यसले संघमा पार्टी र सरकारबीचको अन्तरसंघर्ष झनै चर्कियो । तर, कर्णालीमा ओली पक्षका मन्त्री न हटे न त नेपाल पक्षका व्यक्ति नै मन्त्री भए । आखिर कर्णालीको लडाइँ ‘टाइटाइ फिस’ मात्र भएन विधि र पद्धतिका आवाज उठाउनेहरू पनि भागबन्डाकै लागि मरिहत्ते गरेका रहेछन् भन्ने घट्नाक्रमले पुष्टि ग¥यो ।
नेकपामा सालिन र विधि पद्धतिलाई पालना गर्नुपर्छ भनेर आवाज उठाउँदै आएका वरिष्ठ नेता नेपाल पनि कर्णाली प्रदेशमा भागबन्डामा सामेल भएपछि विधि र पद्धति भन्ने कुरा उपहासको अस्त्र बन्यो । विधि र पद्धति अरूले प्रयोग गर्नुपर्ने तर, आफूले कार्यान्वयन गर्नुनपर्ने विषय हो भन्ने ढंगले व्याख्या भयो ।
अहिले नेकपाभित्र विधि र पद्धतिको खुबै चर्चा हुन्छ । खासगरी प्रधानमन्त्री ओलीले विधि र पद्धतिलाई लत्याएर एकलौटी गरेको भन्ने नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षको भनाइ छ । विगतमा विधि र पद्धति उठाउने तिनै ओली अग्रमोर्चामा थिए । विगतमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पार्टीको निर्देशन नमाने र विधिलाई लत्याएको भन्दै नेपाल र ओलीसहितको टिमले खनालको ध्यानाकर्षण गराएको थियो । त्यतिबेलाको ध्यानाकर्षण पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेकपाका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई ओली पक्षमा बस्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएको भनेर चर्चा सुरु भए । राजनीति गरेरै बुढ्यौली लागेका नेताहरूलाई पनि फकाउनुपर्ने अवस्था आएको छ भनेपछि नेपाल मुलुकको भाग्य कस्तो होला सोचनीय छ । अहिले नेकपाभित्र नेताहरूलाई ललाइफकाइ गरी आफ्नो पक्षमा पार्ने काम तीब्र रूपले भइरहेको छ । बच्चालाई फकाउन चक्लेट दिएको जस्तो गरी राजनीतिक नेताहरूलाई फकाएर आफ्नो पक्षमा पार्ने सामाथ्र्य साँच्चिकै मान्नुपर्छ ।
अर्कोतिर नेकपाभित्रै गुन र बैगुनका कुरा खुब सुनिन्छ । खासगरी नेकपा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई २० औं पटक गुन लगाएको तर, ओलीले आफूलाई सधैं बैगुन मात्रै लगाएको भनेको भन्दै सामाजिक सञ्जालमा छरपस्ट भएको छ । पार्टी अध्यक्ष बनाउनेदेखि प्रधानमन्त्री बनाउँदा र पछिल्लो पटक प्रधानमन्त्री टिकाउने अस्त्र प्रयोग गर्दासम्म गौतमले धेरै गुन लगाए पनि ओलीले गौतमको गुन बिर्सेको आरोप लाग्ने गरेको छ ।
पार्टीले सिफारिस गरेको निर्णय ७ महिनाभन्दा बढी थन्क्याएर बल्ल ओलीले राष्ट्रियसभा सदस्य बनाएका छन् । गौतम अर्थमन्त्री हुन चाहेका थिए, तर, मन्त्री बन्न रोक्न अदालतमा मुद्दा दायर गरिएको छ र अदालतले अझै मुद्दा छिनोफानो गरेको छैन । त्यसमा पनि ओलीकै हात छ भनिँदैछ । त्यस्तै स्थिति नेपाल र ओलीबीच पनि छ । विगतमा ओलीले नेपाललाई सदाबहार गुन लगाएर पार्टीमा एकछत्र राज गर्न दिए पनि आफू अध्यक्ष भएपछि नेपालले सधैं बखेडा झिकेको भनेर आरोप लगाइरहेको अवस्था छ । यद्यपि नेपाल पक्षले भने ओलीले सधंै पेल्न खोजेको भनेर बसिरहेको छ ।
२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा ओली निर्वाचित हुँदा जनताले राहतको सास फेरेका थिए । ५ वर्ष एउटै सरकार बन्ने र चुनावी घोषणापत्र कार्यान्वयन भएमा मुलुकको कायापलट हुने आशा गरिएको थियो । तर, व्यवहारमा त्यस्तो देखिएन । संवैधानिक व्यवस्थाअनुसार दुई वर्ष सरकार परिवर्तन गर्न नसकिने व्यवस्थाका कारण मात्र सबैजना चुप बसेको भन्ने देखियो । त्यसलगत्तै सरकार परिवर्तनका खेल तीव्र भए । मन्त्रिपरिषद् विस्तारमा पनि धेरै झमेलाहरू भए ।
यसबीचमा दुई पटक मन्त्रिपरिषद् पुनर्गठन भयो भने दसौंपटक मन्त्रीहरू हेरफेर भए । यसले स्थायी सरकारको अस्थायी चरित्र नराम्रो गरी उदाङ्गियो । अहिले पनि सरकार कहिले ढल्ने वा कुन मन्त्री कतिखेर हट्ने भन्ने चर्चाले निर्धक्क काम गर्ने अवस्था देखिएको छैन । मन्त्रीहरू काममा भन्दा नेताहरूलाई रिझाउनमा व्यवस्त छन् । सत्तामा टिकिरहने उपायको खोजीमा छन् । परिस्थितिले करिब दुईतिहाइ बहुमतसहित सत्तासीन दलको सरकार मिलीजुली सरकारभन्दा अस्थिर देखिएको छ ।
विगतमा मिलीजुली सरकार बन्दा पनि यति अस्थिर देखिएको थिएन् । सरकारबाट राजीनामा दिएर पनि थप ९ महिना सरकारमा माधव नेपालले हल्लाएका थिए । साढे २ दसकमा २७ जना प्रधानमन्त्री मुलुकले फेरे पनि समयमै फेरिन्थे । अहिलेको जस्तो कहिले भन्ने सवाल थिएन । किनभने अस्थिर सरकारका बेला बरु छोटो समयमै सरकार परिवर्तन भए पनि कम्तीमा सरकार ६ महिना चल्छ भन्ने निश्चितता जस्तो थियो । ६ महिना एकले अर्कोलाई विश्वास गरेर काम गर्थे त्यसपछि भने सरकार फेरिने बेला भो भनेर कर्मचारीहरू पनि पुरानै स्वरूपमा फर्किन्थे ।
अहिले त न सरकार फेरिन्छ न काम गर्ने वातावरण छ । न कर्मचारीले आत्मविश्वासका साथ मन्त्रीहरूलाई सघाएका छन् न त मन्त्रीहरू नै दिल खोलेर कार्यक्षेत्रमा जाने वातावरण बनेको छ । कतिखेर कहाँ पुग्दा ‘कु’ हुने हो वा हटाइने हो भन्ने डर मन्त्रीहरूलाई छ । छोडेर जाने मन्त्रीको धेरै पछि किन लाग्नु भनेर कर्मचारी आफ्नै सुरमा मस्त छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा सबैभन्दा बढी प्रयोग हुने शब्दका रूपमा धोकाधडी, दाउपेच, गुन÷बैगुन र भागबन्डा देखिएका छन् । यसैका प्रभावले नेपालको विकास पद्धति नै ओझेलमा परेको छ । जब केन्द्रमा भागबन्डा हुन्छ तल्लो तहमा पनि त्यसको सिको हुने नै भयो । भागबन्डा राजनीतिज्ञले मात्रै प्रयोग गर्ने र अरूले नगर्ने भन्ने कुरा भएन ।
राजीतिक पहुँचले भ्याएसम्म राजनीतिक आधारमा र त्यहाँबाट बाहिरियो भने उच्च पदस्त कर्मचारीको तर्फबाट भागबन्डा हुने गरेको छ । त्यसैले जब भागबन्डा हुन्छ, गुनरबैगुनको कुरा आउँछ त्यतिबेला विकास गौण बन्छ । किनभने कसैलाई पनि अहिले विकास चाहिएको छैन । सबैलाई आ–आफ्नो स्वार्थ पूरा गर्नु छ । स्वार्थ पूरा गर्दा कुनै काम भइहाल्यो भने त्यसलाई विकासको नाम दिए भइगो ।
वास्तवमा अहिलेको संकट सिद्धान्त र संगठनात्मक हिसाबले होइन रहेछ भन्ने घट्नाक्रमले देखाइसकेको छ । मैले के पाउँछु र मेरोभन्दा बढी उसको हो कि होइन ? मेरो थोरै हो भने किन थोरै भन्नेबाहेक अरू कुनै मुद्दा छैन । लेनदेनको व्यापारिक स्वार्थमा अडिएको सत्तारुढ दलको चरित्रले नेपालको विकासको आयामलाई नदेखिने गरी खोक्रो बनाउँदै लगेको छ । विधि र पद्धति मुखौटा बनेका छन् । हरेकको ध्यान आफू, आफ्नो परिवारमा केन्द्रित भएको छ । यसले विकासका तमाम प्रक्रियालाई छायाँमा पारेको छ ।
करिब दुईतिहाइ बहुमतसहित बनेको सरकारले मुलुकमा स्थायित्व, सुशासन, शान्ति र समृद्धिका लागि ढोका खोल्छ भन्ने अपेक्षामा रहेका जनसाधारणलाई सत्तारुढभित्रै देखिएको किचलो, खिचातानी र शक्ति प्रदर्शनले चरम निरासामा बदलिदिएको छ । यही अस्थिरताको फाइदा उठाउँदै सरकारमा सरिक भएका व्यक्तिहरू भ्रष्टाचार र अनियमित तबरले कमाउ धन्दामा सक्रिय भएका छन् । अवाञ्च्छित गतिविधि रोक्ने ताकत सरकारमै रहेर पनि कसैको छैन । भ्रष्टाचार र अनियमितताका घटना अस्थिर सरकारमा भन्दा झन स्थिर सरकारमा बढी देखिएको छ ।
सरकार ओलीले एकलौटी चलाएको र आफ्ना पक्षमा भागबन्डा नभएको भनेर सत्तारुढ दलभित्रको किचलो जग हँसाई नै गरेको छ । उता, संवैधानिक आयोग, विश्वविद्यालय र अन्य निकायहरूको नियुक्तिहरूमा एकलौटी गर्न नपाउने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भागबन्डा गर्न खोजिरहेको छ । संवैधानिक परिषद्मा कांग्रेसले विभिन्न बखेडा झिकेर कमसेकम आफ्ना मानिसहरू संवैधानिक निकायमा पठाउन खोजिरहेको छ । त्यसलाई सरकारले वेवास्ता गर्न खोज्दा कतिपय संवैधानिक आयोगहरू पदाधिकारीविहीन छन् ।
उता, सरकारले गर्ने हरेक नियुक्तिहरूमा सक्षम र योग्य व्यक्तिभन्दा पनि आफ्नो घरभित्रको, परिवारभित्रको, नातागोताभित्र, टोलभित्रको, नभए पालिका भित्रको, त्यो पनि नभए जिल्ला भित्रको र प्रदेशभित्रको व्यक्ति छनोट गर्ने विधिले प्रस्रय पाइरहेको छ र दक्ष, अनुभवि र योग्य व्यक्तिहरूलाई तिरस्कृत गरिरहेको छ । यस्तो विधिले मुलुक परिवर्तनको दिशामा काम गर्ने होइन आफ्ना पक्षमा कसरी फाइदा प्राप्त हुन्छ भन्ने ढंगले काम अघि बढ्छन् नै ।
जनताप्रति उत्तरदायी हुनुपर्ने राजनीतिक दलहरू नै निर्लज्ज ढंगले प्रस्तुत भएपछि विकास खोज्ने, गरिबीबाट मुक्त हुने आकांक्षा पालेका जनताहरू बेवारिसे पर्ने नै भए ।यस्तो अवस्थामा विकासे परियोजनाहरूका प्रमुखले पनि आफूअनुकुलका कदम चाल्नै पर्यो । आफ्ना हाकिम र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई खुसी बनाउनै पर्यो ।
त्यसले गर्दा तोकिएका काम तोकिएको समयमा र गुणस्तरीय ढंगले पूरा गर्ने सम्भावना नै रहेन । राजनीतिक दलभित्र देखिएको लडाइँको असर मुलुकको पुँजीगत खर्चमा पनि परेको छ । राज्य संयन्त्रले आफ्नो सम्पूर्ण ध्यान विकास निर्मणमा लगाउनुपर्ने बेलामा आफ्नो सत्ता जोगाउन केन्द्रित हुनुपर्ने भएपछि मुलुकको भविष्य के होला जनसाधारणको चिन्ता त्यसैमा छ ।