काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दावी गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए ।
तरपनि, युरोपियन आकाशमा भएको प्रतिवन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनको भनाई छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुइ भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढीसकेको बताए ।
उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको बताए ।
अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनरसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने उनको भनाई छ ।
प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्ट अनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक १ वटा दुर्घटना भएको र मानविय क्षति समेत कम भएको उनले बताए ।
हवाई उड्डयनलाई सुरक्षित बनाउन आइकाओको एभिएसन सेफ्टी रिपोर्ट अनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणा अनुसार सेफ्टी रिपोर्ट तयार पारिएको समेत जानकारी दिए ।