काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्नेबारे छलफल भएको हो ।
शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत् प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए ।
बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।
एडीबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ । जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ ।
ती योजनामा एडीबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो । सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा दिनेछ ।
निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गरे । उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।
यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रि«य रुपमै राम्रो सन्देश जाने बताए ।