काठमाडौं । नेपालले बढी भएको बिजुली भारतमा निर्यात गर्न पाउने भएको छ । आगामी तीन महिनाभित्र नेपालले बढी भएको बिजुली निर्यातको स्वीकृति दिन भारतीय पक्ष सहमत भएको छ ।
बिहीबार नेपाल र भारतका ऊर्जा मन्त्रालयका अधिकारीबीच भएको भर्चुअल छलफलमा निर्यातको स्वीकृति प्रदान गर्न कम्तीमा तीन महिना लाग्ने भारतीय पक्षले जानकारी गराएको थियो ।
‘हामीले भारतसँग विद्युत् निर्यातको स्वीकृृति र बिक्रीको प्रारम्भिक वार्ता सुरु गरिसक्यौं’ नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रेव शाक्यले क्यापिटल नेपालसँग भने, ‘भारतीय ऊर्जा मन्त्रालय र त्यहाँका निकायका अधिकारीबीच हाम्रो छलफल भयो । नेपालले बढी भएको विद्युत् निर्यातका लागि स्वीकृति लगायतका सबै काम पूरा गर्न कम्तीमा तीन महिना लाग्छ भन्ने जानकारी उहाँहरुबाट प्राप्त भएको छ । अब हामीले निकासीका लागि प्रारम्भिक वार्ता सुरु गरेका छौं ।’
उक्त छलफलमा भारतीय पक्षले एक महिनाभित्रमा नेपालले निर्यात गर्ने बिजुली भारतका ठूला तथा साना उद्योग र वितरण कम्पनीले अफर ‘म्याच’ गर्ने र के-कति मूल्यमा बिजुली किन्ने भन्ने जानकारी दिनेछन् ।
पहिले भारतसम्म बिजुलीको पहुँच पुर्याउन नेपालले निर्यातको अनुमति लिनुपर्छ । तर, अहिलेसम्म नेपालले भारतमा बिजुली प्रवेशको अनुमति पाएको छैन । भारतसँग बिजुली सटही रुपमा मात्रै कारोबार भएको छ । यता, नेपालमा बढी भएको बिजुली भारत र बंगलादेश निर्यात गर्न सरकारले यसअघि नै पूर्व स्वीकृति दिइसकेको छ ।
बिजुली निर्यातका लागि चाहिने पूर्वाधार र आधारहरु (गाइडलाइन)का बारेमा भारतसँग नेपालले निरन्तर छलफल गरिरहेको ऊर्जासचिव दिनेशकुमार घिमिरेले बताए । उनले छलफलबाट केही सकारात्मक सन्देशहरु पनि भारतीय पक्षबाट आएको जानकारी दिए।
विद्युत निर्यात गर्नुअघि अन्तर्राष्ट्रिय तबरमा ‘बिड अफर’ हुनुपर्ने सचिव घिमिरेको भनाई छ । नेपालको बिजुली भारतको प्रतिस्पर्धी बजारमा प्रवेश गराउन र खुला रुपमा बजारमा अफर गर्न पाउने वातावरण बनेको घिमिरेले बताए ।
अहिले प्राधिकरण र भारतीय विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)बीच सम्झौता पनि भइसकेको छ । भारतको क्रसबोर्डर आयात निर्यातका लागि व्यावसायिक नियमको सञ्चालन विधि (सीबीआर) बनाएर केन्द्रीय विद्युत प्राधिकरणमार्फत भारतीय ऊर्जा मन्त्रालय पेस भइसकेको छ ।
भारतको ऊर्जा मन्त्रालयले सो प्रस्ताव स्वीकृत गर्नासाथ प्राधिकरणले भारतको प्रतिस्पर्धी बजारमा भाग लिने प्रक्रिया अघि बढ्नेछ ।
बंगलादेशसँग पनि भारतकै संरचना प्रयोग गरेर मनसुनको समयमा विद्युत निर्यात हुनेछ । बंगलादेशले ढल्केबर मुजफ्फपुरकै भारतीय संरचना प्रयोग गरेर विद्युत आयात गर्ने जनाइसकेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएरपछि नेपालमा बिद्युत् बचत हुने अवस्था छ । त्यसका लागि बढी भएको बिजुली भारत निर्यात गर्ने सरकारको नीति छ ।