काठमाडौं । बंगलादेशमा नियमित हवाई उडान भएपछि विद्युत् खरिदसम्वन्धी सम्झौता हुने भएको छ । बुधबार मन्त्रिपरिषद्ले बंगलादेशमा नियमति उडान गर्न दिने निर्णय गरेको थियो ।
कोरोना महामारीका कारण नेपाल र बंगलादेशबीच हुने विद्युत् खरिदसम्वन्धी सम्झौता र समझदारीहरु हुन सकेका छैनन् ।
खासगरी नेपालले बंगलादेशसँग बिजुली बेच्ने र बंगलादेशका लगानीकर्ताले नेपालका विभिन्न परियोजना छनोट गरेर लगानी गर्ने सहमति भएको थियो । तर, कोरोना महामारीका कारण त्यससम्वन्धी दुईदेशीय समझदारी हुन सकेको छैन् ।
बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्न तयार छ । ९०० मेगावाटको माथिल्लो कर्णालीबाट उत्पादित ५०० मेगावाट बिजुली बंगलादेशले भारतीय कम्पनी जीएमआरसँग सम्झौता गरिसकेको छ ।
बंगलादेशका लगानीकर्ताले नेपालमा विभिन्न परियोजना छनोट गरेर लगानी गर्न सम्झौता हुनेछ । बंगलादेशले बिजुली किन्न र निजी क्षेत्रले पनि बिजुली निर्यात गर्ने यसअघि भएको सम्झौता सम्वन्धी समझदारी हुनेछ ।
नेपाल–बंगलादेशबीच नियमित हवाई उडान भएको एक महिनापछि ऊर्जासम्वन्धी सम्पूर्ण सम्झौता र समझदारी हुने नेपालका लागि बंगलादेशका राजदूत बंशीधर मिश्रले बताए ।
यसअघि गत २०२० अक्टोबरमा सम्पन्न नेपाल भारतका अधिकारीबीचको भर्चुअल जुम मिटिङमा पनि यससम्वन्धी छलफल र वार्ता भएको थिए ।
बंगलादेशसँग व्यापारी सहकार्य गर्न बंगलादेश—नेपाल चेम्बर अफ कमर्श अफ एन्ड इन्डष्ट्रि स्थापना हुँदैछ । यसले नेपाल र बंगलादेशबीच व्यापार गर्ने उद्योगीलाई सहजीकरण गर्नेछ ।