दमौली । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एसियामै नमुना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबीआई बैंक र एनएमबी बैंकले कर्जा लगानी गर्ने भएका हुन् ।
बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेड र बैंकबीच कर्जा लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । बैंकिङ पार्टनरका रुपमा एसबीआई र एनएमबीसहितले एकार्कासँग सहवित्तीयकरण गरेका छन् । नेपाल एसबीआई बैंकका कमर्सियल शाखा काठमाडौँका चिफ म्यानेजर विनोद ढुङ्गेल र एनएमबी बैंक प्रोजेक्ट फाइनान्स हेड विशाल थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
बन्दीपुर केबलकार एण्ड टुरिज्मको लागत १ अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९ः ६१ छ । आगामी असोज मसान्तभित्र पहिलो चरणको कमर्सियल अप्रेशन गर्ने गरी जम्मा ७० करोड रुपैयाँ व्यवस्थापन गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । सोअन्तर्गत केबलकार, रेष्ट्रो जोन र मनोरञ्जनस्थल व्यावसायिक रुपमा खुला हुनेछन् । कर्जा विभाजनअनुरुप ७२ः८५ प्रतिशत एसबीआई र २७ः१४ प्रतिशत एनएमबी बैंकले प्रवाह गर्नेछन् ।
त्यस्तै दोस्रो चरणको होटलसहितको पूर्वाधार सञ्चालन ल्याउने गरी निर्माण गर्न एसबीआई र एनएमबी बैंकको सहवित्तीयकरणमा थप ३५ करोड रुपैयाँ को कर्जाको सुनिश्चितता गरिएको छ जसमा एनएमबीको ३१.४३ प्रतिशत लगानी रहनेछ । साथै सो पूँजी व्यवस्थापनका लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहने शर्माले जानकारी दिए।
आर्थिक व्यवस्थापनका विषयमा कम्पनी प्रष्ट र योजनाबद्धसहित अगाडि बढेको शर्माले बताए । यसले आगामी १० वर्षभित्र बन्दीपुर पर्यटन अवधारणा देशव्यापी रुपमा स्थापित हुने र १० हजारमाथिको रोजगारीको सुनिश्चितता गर्नेछ ।
एसबीआई बैंकका तर्फबाट उक्त लक्ष्य पूरा गर्न बन्दीपुर परियोजनासँग जोडिएका स्थानीयवासी सेयरधनीलाई थप व्यावसायिक रुपमा प्रवद्र्धन गर्न ३ प्रतिशत ब्याजदर निर्धारण गरी २० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ । सो कर्जाका लागि बन्दीपुर केबलकारले यसअघि नै बैंकसँग प्रस्ताव र जमानीको सुनिश्चितता गर्ने सहमति जनाएको थियो ।