काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी (लकडाउन) हुँदा त्यसअवधिमा अनलाइनमार्फत बिजुलीको बिल भुक्तानी गर्ने ग्राहक १२ प्रतिशतले बढेका छन् । २०७६ चैत ११ यता विद्युतीय माध्यमबाट बिजुलीको महसुल तिर्ने ग्राहकको संख्या बढेको हो ।
लकडाउनअघि फागुन महिनासम्म विद्युतीय माध्यमबाट बिजुलीको महसुल तिर्ने ग्राहकको संख्या ६ लाख ५३ हजार हाराहारी थियो । त्यसयता पछिल्लो २०७७ कात्तिक महिनाको अवधिमा आइपुग्दा ग्राहक संख्या बढेर ७ लाख ९० हजार पुगेको नेपाल विद्युत् प्राधिकरणअन्र्तगत कम्प्युटराइज बिलिङ तथा नेटवर्क महाशाखाका प्रमु्ख सजुनकुमार श्रेष्ठले बताए ।
लकडाउनको अवधि ७ महिना(चैतदेखि कात्तिकसम्म) १ लाख ३१ हजार विद्युतीय माध्यमबाट महसुल तिर्ने ग्राहक थपिएका छन् । जुन, लकडाउन हुनुअघिको तुलनामा १२ प्रतिशतले बढी हो ।
गएको कात्तिक महिनामा मात्रै अनलाइनमार्फत ग्राहकले भुक्तानी गर्दा १ अर्ब ३१ करोड रुपैयाँ महसुल संकलन भएको श्रेष्ठले जानकारी दिए । चैतदेखि जेठसम्म अनलाइनमार्फत बिजुलीको महसुल तिर्ने ग्राहकमा कमी आए पनि त्यसपछि पनि विस्तारै बढ्दै गएको उनले बताए ।
घरेलु ग्राहकहरुले विद्युतीय भुक्तानी र प्रविधिका बारेमा जानकारी नुहँदा लक्ष्यअनुसार ग्राहक बढ्न नसकेको उनी बताउँछन् । उनका अनुसार, अहिले विद्युत् प्राधिकरणमार्फत बिजुली प्रयोग गर्ने ४० लाखभन्दा बढी ग्राहक छन् । अनलाइनमार्फत बिजुलीको बिल कसरी तिर्ने भनेर ग्राहकलाई अझै जानकारी छैन ।
उनका अनुसार, चैतदेखि जेठ मसान्तसम्म अहिले औसत प्रतिमहिना विद्युतीय माध्यमबाट ३० देखि ६० करोड रुपैयाँसम्म महशुल संकलन हुँदै आएको थियो । त्यसपछि भने विद्युती प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या बढ्दा १ अर्ब रुपैयाँ माथि महसुल उठ्न थालेको हो । गत असोज महिनामा मात्र १ अर्ब रुपैयाँ हाराहारीमा महसुल उठेको थियो ।
कोरोना संक्रमण फैलिने त्रासका कारण अहिले विद्युत् प्राधिकरणले पनि अनलाईनमार्फत बिजुलीको महसुल भुक्तानी गर्न तिर्न मिल्ने गरी तीन वर्षअघि ‘स्मार्ट बिलिङ सिस्टम’ सुरु गरेको थियो ।
अहिले कोरोना कारण सबै मिटररिडरहरु ग्राहकको घरमा जाँदैनन् । ग्राहक पनि बिद्युत् कार्यालयसम्म पुग्ने अवस्था छैन । अहिले ग्राहकले आफ्नो मिटर उठेको विद्युत् खपत युनिट आफैंले जानकारी दिने गरी प्राधिकरणले ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ ।
देशभरका कुल १७२ विद्युत् आय संकलन केन्द्रमध्ये १६० केन्द्रका ग्राहकले विद्युतीय माध्यमबाट भुक्तानीको सुविधा लिइरहेका छन् ।
विभिन्न ८ वटा सेवाप्रदायक संस्थासँग समन्वय गरी अनलाइनमार्फत विद्युत् महसुल तिर्न सकिन्छ ।
खासगरी, ई–सेवा, पे—पोइन्ट नेपाल, सिटी एक्सप्रेस, सीएफस रेमिट, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक र हिमाल बैंकको मोबाइल एप्स डाउनलोड गरी त्यसमार्फत बिजुलीको भुक्तानी गर्न सकिन्छ । यी एप्समार्फत बिहान ८ बजेदेखि राती ११ बजेसम्म बिजुलीको बिल तिर्न सकिन्छ ।