काठमाडौं । सरकारले किसानको १२ हजार १०० मेट्रिक टन धान खरिद गरेको छ । मंसिर ८ गतेसम्म देशैभर कृषि सहकारीहरुले १२ हजार मेट्रिक टन धान न्युनतम समर्थन मुल्यमा खरिद गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, हालसम्म नवलपरासी, रुपन्देही र बर्दिया जिल्लाका साना किसान कृषि सहकारीहरुले करिव ४ हजार १० मेट्रिक टन धान खरिद गरिसकेका छन् । त्यस्तै, नवलपरासीमा ५००, रुपन्देहीमा ११३० र बर्दिया(२३८० मेट्रिक टन धान सहकारीले खरिद गरिसकेका छन् ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिव ४ हजार ८० मेट्रिक टन धान खरिद गरिसकेको छ ।
यसवर्ष देशभर साना किसान कृषि सहकारीहरुले ९५ हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेका छन् ।
यस वर्ष सरकारले न्यूनतम समर्थम मूल्यमा धान खरिद गर्न सहकारीहरुलाई परिचालन गरेको हो । विगत वर्षमा सरकारले धानको न्यूनतम समर्थम मूल्य तोके पनि कृषकहरु आफूले उत्पादन गरेको धान वजार मूल्य पाएका थिएनन् । फलस्वरुप, बजार नपाएर व्यापारीहरुलाई सस्तोमा विक्रि गर्नु पर्ने बाध्य थिए ।
यस वर्ष सहकारीमार्फत न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न गत कार्तिक ४ गतेको बैठकले “न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, ०७७”स्वीकृत गरेको थियो।
निर्देशिका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले खरिद गरेको धानको भण्डारण, सुरक्षा र प्याकेजिङ्ग लगायनका खर्च ब्यवस्थापनका लागि प्रति क्वीण्टल ११२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । तर, यसरी खरिद हुने धानको भण्डारण, प्रशोधन, एवम् विक्रिको प्रवन्ध भने स्वयम् सम्वन्धित सहकारीले नै गर्नु पर्नेछ ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्यक्रम कार्यान्वयन एवम् व्यवस्थापन गर्न जिल्लास्तरमा जिल्ला कार्यान्वयन समिति र मार्गदर्शनको लागि केन्द्रिय स्तरमा निर्देशक समितिको रहनेछ ।
उत्पादक कृषकबाट धान खरिद भएको १५ दिन भित्र खरिदकर्ताले सम्बन्धित कृषकको बैंक खातामा रकम भुक्तानी दिनुपर्नेछ।सो को आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको जिल्लास्थित परियोजना कार्यान्वयन इकाईमार्फत अनुदान बापतको एकमुष्ट रकम सम्बन्धित खरिदकर्ता सहकारीको बैक खातामा भुक्तानी गरिने प्रवन्ध गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।
सरकारले ली लगाउनु पूर्व नै प्रमुख बालीहरुको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अनुसार २०७७ असार २ गतेको मन्त्रिपरिषद्को वैठकले यस आर्थिक वर्षको लागि मोटा धानको प्रति क्वीण्टल २,७३५ रुपैयाँ र मध्यम धानको प्रति क्वीण्टल २,८८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।