काठमाडौं । हिमालय एयरलाइन्सले कात्तिकदेखि चीनको बेइजिङमा सीधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले लामो समयदेखि बेइजिङमा उडान गर्न अनुमति माग्दा स्लट नभएको जवाफ पाइरहेका बेला चीन सरकारले हिमालयलाई उडान अनुमति दिएको छ । अनुमति पाएपछि हिमालयले उडानका लागि आन्तरिक तयारी थालेको हो ।
एयरलाइन्स उच्च अधिकारीका अनुसार अक्टोबरबाट उडानका लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपि उडान सङ्ख्या र मिति तय हुन बाँकी छ । हिमालयमा यती वल्र्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलायन्सको ४९ प्रतिशत स्वामित्व छ । हिमालयले हाल ढाका, दोहा, दुबई, आबुधाबी र दमाममा उडान गर्दै आएको छ । हिमालयले चीन उडानका लागि लामो समयदेखि अनुमति माग्दै आएको थियो ।
नेपाललाई युरोपियन युनियन (ईयू)ले कालोसूचीमा राखेपछि चीनले हिमालयको सेफ्टी अडिट गरेको थियो । सेफ्टी अडिटमा पास भएपछि चीन उडानको तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च स्रोतको भनाइ छ ।
चीनले सेफ्टी अडिटपछि मात्र नेपाल वायुसेवालाई उडान अनुमति दिने वा नदिने भन्ने विषया टुङ्गो लगाउनेछ । नेपाल वायुसेवाको सेफ्टी अडिटका लागि अक्टोबरमा चिनियाँ टोली नेपाल आउने बुझिएको छ ।
हिमालयको सञ्चित नोक्सान बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगिरहेको बेला नयाँ गन्तव्य थप गरेको छ । केही दिनअघि मात्र बङ्गलादेशको ढाकामा उडान सुरु गरेको हिमालयले चीनमा उडान थप गर्न लागेको हो ।
पछिल्लो समय भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट आउने गरेका छन् भने नेपालबाट पनि धेरै नेपालीहरु चीनमा जाने गरेका छन् ।
३ ओटा न्यारोबडी रहेको हिमालयले जहाज पूर्ण रुपमा सञ्चालन गर्न नसकेपछि केही महिनाअघि १ ओटा जहाज भुटानको बेम्बो एयरवेजलाई १ वर्षका लागि भाडामा दिएको छ । हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १९ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ ।
हिमालय एयरलाइन्समा १५० इकोनोमी क्लास र ८ ओटा प्रिमियम इकनोमी क्लासको सिट क्षमता छ ।