नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन निकै कठिन समयमा हुन लागेको छ । कोरोना भाइरस (कोभिड–१९)ले विश्वको अर्थतन्त्र नै धरासायी बनाइरहेको बेला नेपाल पनि त्यसबाट कुनै अछुतो रहन सकेको छैन । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ७० प्रतिशत योगदान रहेको निजी क्षेत्र कोरोनाले थला परेको छ ।
अबको नेतृत्वलाई कोभिडको बीचमा व्यापार–व्यवसाय सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्नेदेखि नयाँ लगानीकर्ताहरूलाई आकर्षण गराउन मुख्य भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । त्यसका लागि संक्षम नेतृत्व चयन गर्ने मौका आम उद्योग व्यवसायीहरू माझमा आएको छ ।
मैले महासंघमा तीन वर्ष वस्तुगत परिषदको सह–सभापतिको हैसियतमा काम गर्ने मौका पाएको थिएँ । त्यो बेला व्यवसायीहरूको दुःख र पीडाको सूक्ष्म तरिकाले विश्लेषण गर्ने मौका पाए । सरकारी निकायहरूसँग समन्वय गर्ने अवसर पनि पाए । त्यसैले फेरि म महासंघको नेतृत्वमा जाने अवसर पाएमा व्यवसायी र सरकारबीच पुलको काम गरेर आवश्यक नीति नियम बनाउनेदेखि भएका नीति नियममा के–के समस्याहरू छन् र तिनीहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सक्छु भन्ने विश्वास मसँग रहेको छ ।
हुन त व्यक्ति एक्लैले यी विषयहरूमा लडेर भिडेर हुने केही होइन । त्यसका लागि एउटा मजबुत टिम हुन आवश्यक छ । अहिले निर्वाचनका लागि जुन टिम बनेको छ । यो १३ गतेसम्मका लागि मात्र हो । १४ गतेपछि जसले जिते पनि हारे पनि हामी सबै उद्योगी व्यवसायीहरूकै हकहितका लागि आवाज उठाउन लाग्ने छौं ।
त्यसैले जबसम्म टिम बलियो हँुदैन तबसम्म एक्लैले बोलेर केही हुनेवाला छैन । महासंघभित्र पनि विभिन्न समितिहरू छ । ती समितिहरूमा रहेर उद्योगी व्यवसायीहरूको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नै सबैको ध्यान केन्द्रित हुनेछ ।
उद्योग समिति होस् वा वाणिज्य तथा आपूर्ति समिति जुनमार्फत भए पनि उद्योगी व्यवसायीहरूको समस्या सरकार समक्ष पुर्याएर आवश्यक नीति नियम परिमार्जन गर्नेदेखि नयाँ बनाउन मेरो बढी जोड हुनेछ ।
यतिबेला सबै उद्योगी व्यवसायीहरू कोरोना भाइरस (कोभिड–१९)को मारमा परेको छ । त्यसमा पनि विशेष गरेर डेरीसँग सम्बन्धित उद्योग व्यवसायहरू धेरै समस्यामा परेका छन् । केही समयअघि मात्र नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार कृषि क्षेत्रमा मात्र ४२ अर्बको नोक्सानी भएको छ । तीमध्ये डेरी क्षेत्रमा मात्र करिब २ अर्ब रुपैयाँ नोक्सानी भएको छ ।
कोभिडका कारण अहिले करिब १६ देखि १७ लाख नेपाली बेरोजगार भएका छन् । धेरै व्यवसायहरू बन्द हुने अवस्थामा छ । जसको कारण रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । त्यसैले हाम्रो ध्यान भनेको भएका उद्योगहरूको समस्याहरू के–के हुन्, सरकारी स्तरबाट कस्तो किसिमको समन्वय आवश्यक छ र नयाँ रोजगारी सिर्जना गर्न के–के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी त्यसको समाधानमा लाग्ने छौं ।
उद्योग वाणिज्य महासंघ भनेको एउटा बगंैचा हो । त्यहाँ एउटा फुल फुलिरहेको छ । अहिले त्यो फूलको स्याहरसुसार गर्नका लागि दुईवटा प्यानल देखिए पनि १४ गतेपछि हामी सबै एउटै परिवारभित्र रहने छौं । हामी त्यो बगैंचाको माली भइसकेपछि त्यो फूल बचाउने कर्तव्य सबैको रहन्छ । निर्वाचनको बेला जे जति एजेण्डाहरू देखिए तापनि जितहारपछि एकै ठाउँमा रहेर आर्थिक क्रान्तिका लागि लागिपर्नुपर्छ र लाग्ने छौं ।
केडिया, केन्द्रीय सदस्यका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ