काठमाडौं । नेपालमा कोरोना संक्रमण रोक्न लकडाउन गरेसँगै बन्द भएका पार्टी प्यालेसहरु मंसिर लागेसँगै धमाधम खुल्न थालेका छन् । ८ महिनादेखि बन्द भएका पार्टी प्यालेस तथा व्याङ्क्वेटहरु खुल्न थालेका हुन् ।
विवाह तथा व्रतबन्धको सिजन सुरु भएसँगै पार्टी प्यालेस सञ्चालकहरुले धमाधम बुकिङ लिन थालेका छन् । यद्यपि, अहिलेसम्म सरकारले पार्टी प्यालेस खोल्नका लागि अनुमति दिएका छैन ।
यो बेला पार्टी प्यालेसहरुको कमाउने ‘सिजन’ हो । सरकारले पार्टी प्यालेस सञ्चालनको अनुमति नदिए पनि स्वतःस्र्फुत रुपमा स्वास्थ्य मापदण्ड अपनाएर खुलाइएको व्यवसायीहरुले बताएका छन् ।
देशका मुख्य सहरमा सञ्चालित पार्टी प्यालेसमा मंसिर सुरु भएसँगै बुकिङ लिन थालेका छन् । विवाह तथा सभा, समारोह पनि स्वास्थ्य मापदण्ड पालना गर्दै पार्टी प्यालेसले सेवा दिन थालेका हुन् ।
मंसिर सुरु भएसँगै विवाहलगायतका कार्यक्रमका लागि बुकिङ आउन थालेको पोखरा पार्टी ब्राउन आइज रेष्टुरेन्ट तथा पार्टी प्यालेसका सञ्चालक सुवास श्रेष्ठ बताउँछन् ।
मंसिरका लागि ५०/६० वटा बुकिङ आएको उनले बताए । ‘साह्ै गाहे भएकाहरु आउनुभएको छ । त्यही पनि धेरै होइन्, ४०÷५० जना जति आउनुभएको छ,’ उनले भने ।
एक पार्टी सञ्चालकका अनुसार, सयजना भेला हुने गरी स्वास्थ्य मापदण्ड अपनाएर पार्टी प्यालेस खुलाउने पाउने निर्देशन आएको छ । तर, सरकारबाट भने अझै अनुमति दिएको छैन । यसले पनि केही व्यवसायीलाई पार्टी प्यालेस खुलाउने कि बन्द कै अवस्थामा राख्ने भन्ने दुविधा उत्पन्न भएको छ ।
‘लामो समयको बन्द पछि व्यवसायी नै टाट पल्टिने अवस्था आएको र मजदुरको समेत रोजीरोटी गुमेकाले पनि अब खुलाइएको हो,’ मल्लले भने, ‘अहिले छिटफुट रुपमा बुकिङ आउन थालेका छन् । किनभने यो मंसिरको लगनको महिना पनि भयो ।’
कतिपय पार्टी प्यालेसका सञ्चालहरुले प्रशासनसँग अनुमति लिएरै खोल्न थालेका छन् भने कतिपय व्यवसायीले संक्रमणको खतरा र प्रशासनको झमेलाका कारण आएका ‘बुकिङ’ पनि स्थगित गरेका छन् । सरकारले निश्चित स्वास्थ्य प्रोटोकल बनाएर पार्टी प्यालेस सञ्चालनको अनुमति दिनुपर्ने एलिस पार्टी प्यालेसका सञ्चालक नकुल शेरचनको सुझाव छ ।
मंसिर सुरु भएसँगै सरकारबाट पार्टी प्यालेस खुलाउन आवश्यक निर्णय आउने आशा गरिए पनि निर्णय नआउँदा आएका बुकिङहरु पनि ‘रद्द’ गर्नुपरेको उनी बताउँछन् ।
मंसिरमा आएका १७÷१८ वटा बुकिङसमेत रद्द गर्नुपरेको उनको तर्क छ । पार्टी प्यालेस बन्द हुँदा लाखौंको संख्यामा मजदुरको रोजीरोटी खोसिएको छ ।
८ महिनादेख पार्टी प्यालेस तथा व्याङ्क्वेटमा पनि कुनै पनि सामूहिक कार्यक्रम, विवाह, सभा, समारोह जस्ता गतिविधि भएनन् । जसका कारण पार्टी प्यालेसको भाडा, बैंकको लोन र ब्याजसमेत बुझाउनुपरेको छ । आम्दानीको अवस्था शून्य जस्तै रह्यो ।
लामो समय बन्दका कारण पार्टी प्यालेसमा गरिएको लगानीसमेत डुब्ने अवस्थामा आएको व्यवसायीको दुखेसो छ । अहिले पार्टी प्यालेसको झन्डै १६ अर्ब लगानी जोखिममा छ । त्यसमा काम गर्ने झन्डै ८० हजार कर्मचारीको कामसमेत खोसिएको छ ।
बन्दाबन्दीका कारण दर्जन बढी पार्टी प्यालेस भने सधैंका लागि बन्द भएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले जनाएको छ । अहिले देशभरका पार्टी प्यालेसमा औसतमा ३ करोडदेखि १० करोड रुपैयाँसम्म लगानी छ ।
अधिकांश पार्टी प्यालेसले बैंकबाट ऋण लिएर लगानी गरेका छन् । तर, कोरोना महामारीका बेला आम्दानीको बाटो सुकेपछि ऋणको ब्याज, भाडा र अन्य खर्च जुटाउन सक्ने अवस्थामा व्यवसायी छैनन् ।