कोरोना भाइरसका कारण गत चैत ९ गतेदेखि बन्द रहेको सवारी अनुमतिपत्र(लाइसेन्स) आवेदन तथा प्रयोगात्मक ट्रायल परीक्षा खुलाउने विषय अझै अनिश्चित बनेको छ ।
यातायात व्यवस्था विभाग र बागमती प्रदेश सरकार अन्तर्गतको यातायात कार्यालयले तिहार लगत्तै ट्रायल खुलाउने गृहकार्य सुरु गरेका थिए । तर, काठमाडौं उपत्यका तथा देशैभर कोरोना भाइरसको जोखिम झनै बढ्दै गएकाले कहिलेदेखि खुलाउने भन्ने अन्योलता कायम नै रहेको हो । यातायात कार्यालयहरुका अनुसार हालसम्म कुनै पनि प्रक्रिया अघि बढेको छैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले ट्रायल परीक्षा खुलाउने विषयमा अन्योलता कायम नै रहेको र कहिलेदेखि खुल्ने यकिन भइनसकेको बताए । ‘ट्रायल खुलाउने बित्तिकै स्वाभाविक रूपमा थेग्न नसक्ने गरी चाप हुन्छ जसले गर्दा कोभिडको जोखिम बढ्छ,’ उनले भने ‘सधैंभरि रोकेर पनि समस्याको समाधान नहुने र कसरी, कुन मोडलमा अघि बढ्ने भन्ने विषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने क्रममा रहेका छौं ।’
ट्रायल परीक्षाका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको महानिर्देशक हमालको भनाइ छ । ‘हामीले लाइसेन्स ट्रायल खुलाउने भनेर मात्रै भएन, त्यसमा स्वास्थ्य मापदण्ड, सेफ्टी, स्वास्थ्य सुरक्षाका कुराहरु पनि आउँछन्,’ हमालले भने, ‘सम्भवत तिहार लगत्तै लाइसेन्स ट्रायल खुलाउने भने पनि सम्भावना झनै घट्दै गएको छ ।’
हाल लोकसेवा आयोग, लगायत स्कुल कलेजका सम्पूर्ण परीक्षाहरु बन्दै अवस्थामा छन् । खासगरी यातायातका सेवाअन्तर्गत अन्य क्षेत्रको तुलनामा लाइसेन्स आवेदन, लिखित परीक्षा, र ट्रायल परीक्षा सबैभन्दा बढी भीडभाड हुन्छ । भीडभाड कम गरी, स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तवरबाट कसरी सेवा दिन भन्ने विषयमा केही दिनभित्रै टुङ्गो लागउने विभागका महानिर्देशक हमालको भनाइ छ ।
उनका अनुसार कोभिडकाबीच लाइसेन्स परीक्षाको सन्दर्भमा नयाँ मापदण्ड खाका बनाएर अघि बढ्ने तयारी छ । यसै सन्दर्भमा विभिन्न निकाय, ट्राफिक प्रहरी, प्रदेश यातायात कार्यालय, स्टेकहोल्डरसँगको छलफलको क्रम अघि बढेको छ ।