मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.६८ अंकले बढेर एक वर्षयताकै उच्च अंक १८१० विन्दुमा पुग्यो । २०७३ साउन १२ गते १८८१.४५ अंकको उचाइ छोएर निरन्तर घटेको बजार २०७५ फागुन १९ गते ११००.५८ विन्दुमा झरेपछि विस्तारै उकालो चढ्ने क्रममा छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अघिल्लो कार्यकालमा उच्च अंक कायम गरेको नेप्से फेरि उनकै कार्यकालमा नयाँ उचाइ प्राप्त गर्ने ढंगले अघि बढिरहेको छ ।
विश्वव्यापी रूपमा कोभिड–१९ (कोरोना भाइरस)ले अर्थतन्त्रको विस्तारमा संकुचन ल्याएको छ । त्यसको असर नेपालमा पनि देखिएको छ । नेपालमा पनि अर्थतन्त्रको विस्तार खुम्चिएको छ । केन्द्रीय तथ्यांक विभागले गत वर्षको आर्थिक वृद्धिदर २.२८ प्रतिशत हुने प्रक्षेपण गरे पनि राष्ट्रिय योजना आयोगले गरेको पछिल्लो अध्ययन (सार्वजनिक नभएको)मा आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने उल्लेख छ ।
उता, अर्थमन्त्री पौडेलले पनि कोभिड–१९ का कारण चालू आर्थिक वर्ष बजेटले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन मुस्किल रहेको क्यापिटल म्यागजिनसँगको अन्तर्वार्ताका क्रममा बताइसकेका छन् । यसले गर्दा चालू वर्ष पनि आशातित विकासले गति लिने सम्भावना कम छ । यस्तो बेलामा पनि सेयर बजारले भने नयाँ लय समाउन खोजिरहेको छ र दिनप्रतिदिन नयाँ उचाइ हासिल गर्ने दिशामा सूचक अघि बढेको छ । यद्यपि सूचक बढेकै भरमा लगानीकर्ताको आम्दानी बढी हाल्यो भन्ने अवस्था रहँदैन ।
सेयर बजार घट्दै गएका बेला सीमित चलाख लगानीकर्ताले मात्रै कमाउन सक्छन् भने बजार बढिरहेका बेला हरकोहीले कमाउने अवसर पाउँछ तर, लगानीकर्ता सचेत रहनुपर्छ ।
एकातिर सूचीकृत कम्पनीहरूले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ भने अर्कोतिर चालू वर्षकै तीन महिनाको वित्तीय विवरण पनि उत्साहजनक सार्वजनिक गरिरहेका छन् । कोभिड–१९ का कारण सूचीकृत कम्पनीहरूले समयमा लेखापरीक्षण गर्न नसक्दा आफ्ना वित्तीय विवरणलाई वास्तविक भनेर सार्वजनिक गर्न, लाभांश घोषणा गर्न र साधारणसभा गर्न केही ढिलाइ भए पनि सुरु भएको छ ।
अहिलेसम्म घोषित लाभांशले अपवादबाहेक लगानीकर्ता उत्साहित नै देखिन्छन् । यद्यपि कोरोना कहरकै बीचमा पनि सूचीकृत कम्पनीहरूले गत वर्ष साह्रै निरास बनाउने वित्तीय विवरण सार्वजनिक गरेनन् । त्यस कारणले गर्दा सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा कमी आउने अवस्था भएन र विस्तारै बजारै बजार उकालो लाग्न थाल्यो ।
सेयर बजारमा वित्तीय संस्थाहरूकै दबदबा छ । वित्तीय संस्थाहरूको आम्दानी विगत वर्षहरूको भन्दा वृद्धिदर कम भए पनि आम्दानीमा ठूलो कटौती भएन । बजार पुँजीकरणका आधारमा हेर्ने हो भने वित्तीय संस्थाहरू (बिमा कम्पनीसमेत)को हिस्सा ७५.८ प्रतिशत छ । वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले नगद लाभांशभन्दा बोनस सेयरलाई प्राथमिकता दिइरहेको छ । संस्थापक सेयरधनीहरूले नगद लाभांश चाहना राखे पनि सर्वसाधारण सेयरधनीहरू बोनस सेयरलाई बढी प्राथमिकता दिन्छन् ।
बोनस सेयरले दोस्रो बजारलाई केही ‘सपोर्ट’ गर्छ । अर्को महत्वपूर्ण हिस्सा ओगट्ने अन्य क्षेत्रअन्तर्गत समेटिएको नेपाल टेलिकम, नागरिक लगानी कोषजस्ता कम्पनीको पनि कोरोनाकै बहानामा आम्दानी घट्नुपर्ने कारण थिएन । त्यस्तै अवस्था जलविद्युत् कम्पनीहरूको पनि थियो । कोरोना कहरले निर्माणाधीन जलविद्युत् कम्पनीमा समस्या भए पनि निर्माण सम्पन्न आयोजनाहरूको आम्दानी घट्ने आधार बनेन ।
किन भने जलविद्युत् कम्पनीहरूले आयोजना सुरु गर्दा नै नेपाल विद्युत् प्राधिकरणसँग तोकिएको मूल्य विद्युत् खरिद सम्झौता गरेको हुन्छ । यसले गर्दा आम्दानीमा ठूलो असर पार्ने कुरा भएन । सेयर बजारमा क्रियाशील होटल र व्यापार तथा कतिपय उत्पादनमूलक र प्रशोधन उद्योगलाई कोरोना भाइरसले असर पु¥याए पनि त्यसको हिस्सा न्यून भएकाले सेयर सूचकमा ठूलो धपेडी पर्ने कुरै भएन ।
पछिल्लो समय औसत सेयर कारोबार बढ्दै गएको छ । कात्तिक तेस्रो साता (कात्तिक १६ देखि २१ सम्म) १२ अर्ब २२ करोड रुपैयाँको कारोबार भयो । यसलाई दैनिक औसत बदल्ने हो भने दैनिक २ अर्ब ४४ करोड ४६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको देखिन्छ । कात्तिकको ३ सातामा मात्रै १५ अर्ब १३ करोड रुपैयाँको कारोबार सेयर भएको छ । यो ३ सातामा १३ दिन भएको कारोबारलाई हेर्दा औसतमा दैनिक १ अर्ब ९३ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यसले पनि पछिल्लो समय सेयर कारोबार रकममा व्यापक वृद्धि भएको छ भन्ने देखाउँछ । सेयर बजार वृद्धि भएका बेला संस्थागत लगानीकर्ताहरू खासगरी बिमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता दोस्रो बजारका खेलाडीहरू बढी सक्रिय हुन्छन् । सामूहिक लगानी कोषहरू त सेयर बजारका मुख्य खेलाडी भएकाले बढ्दो बजारमा अझ बढी सक्रिय भएको पाइन्छ । यसले पनि बजार बढ्छ भन्ने संकेत गरिरहेको छ । तर, बजार विस्तारका लागि केही नीतिगत, प्राविधिक र व्यावहारिक सुधार आवश्यक छ ।
घटाउनुपर्ने ब्रोकर कमिसन
पछिल्लो समय दलाल व्यवसायी (ब्रोकर)ले लिने कमिसन बढी भएकाले घटाउनुपर्ने भनेर व्यापक बहस सुरु भएको छ । खासगरी सेयर कारोबार अनलाइन भएसँगै लगानीकर्ताहरूले ब्रोकरको खर्च व्यापक मात्रामा कटौती भएकाले त्यसको हिस्सा लगानीकर्ताले पनि पाउनुपर्ने माग उठेको छ । अर्थात् ब्रोकर कमिसन घटाउन चौतर्फी दबाब छ । लगानीकर्ताहरूले अन्य मुलुकको तुलनामा ब्रोकर कमिसन नेपालको महँगो भएको भन्दै घटाउनुको विकल्प नभएको सन्देश दिइरहेका छन् । तर, नियामक भने मौन छन् ।
पुँजी बजारमा समस्या देखिएर लगानीकर्ताहरूको एउटा आमरण अनशन बसेपछि तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, अर्थ मन्त्रालयका प्रतिनिधि र लगानीकर्ताका प्रतिनिधि सम्मिलित मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीका स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समिति गठन गरेका थिए । समितिले २०७५ पुस ४ गते ५८ बुँदे सुझाव खतिवडा समक्ष पेश गरेको थियो ।
त्यसअनुरुप नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक डा.नवराज अधिकारीले अनलाइन कारोबार सुरु भएपछि दलाल व्यवसायीहरूको कर्मचारी संख्यामा कटौती मात्र नभएर बढी संलग्नता (ब्रोकर व्यवसायी इन्गेज) हुनुनपर्ने अवस्था सिर्जना भएको बताए । ‘अनलाइन प्रणालीले कारोबारको आकारमा मात्र वृद्धि भएको छैन बजारमा लगानीकर्ताको संलग्नता पनि बढ्दै गएको छ,’ अधिकारीले भने, ‘यस्तो बेला शुल्कहरू पनि मितव्ययी हुनुपर्छ भन्ने मान्यता राखेर दलाल व्यवसायीको खुद आम्दानी नघटोस् भन्ने ध्येयअनुरूप बोर्डमा सुझाव पेश गरिएको छ ।’
बोर्डले अधिकारीको संयोजकत्वमा ट्रस्टी ऐनसम्बन्धी कार्य अघि बढाउन, दलाल व्यवसायीको सेवाशुल्क (ब्रोकर कमिसन) र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरेको थियो । व्यवसायीहरूले पनि परिवर्तित सन्दर्भमा सेवा सुविधालाई चुस्त दुरुस्त बनाउने र सेवाशुल्कलाई मितव्ययी बनाउनुपर्ने अधिकारीले जोड दिए । विगतमा दैनिक २०/३० करोडमा सीमित भएको सेयर कारोबार पछिल्लो समय अर्बभन्दा माथी रहेको भन्दै अधिकारीले लागत धेरै भएमा लगानीकर्ता निरुत्साहित हुने भएकाले सेवाशुल्क पुनरावलोकन गर्न सिफारिस गरिएको बताए ।
‘लगानीकर्ताको लागत घटेमा कारोबारको थप आकार (भोल्यूम) बढ्ने हुनाले दलाल व्यवसायी ऋणात्मक नहुने गरी नै सुझाव पेश गरेका छौं’, उनले भने, ‘लागत कम भएपछि सेयर धेरै होल्ड गरेर बस्ने लगानीकर्ता पनि बजार प्रवेश गर्ने भएकाले कारोबारको भोल्यूम झनै बढ्छ ।’ ग्राहक र लगानीकर्तालाई बढी सेवा सुविधा दिएर भोल्यूम बढाउन दलाल व्यवसायी नै सक्रिय हुनुपर्ने बताउँदै उपकार्यकारी निर्देशक अधिकारीले आफूहरूले दक्षिण एसियाली मुलुकहरूको सेवासुविधालाई पनि हेरेर सेवाशुल्क घटाउने सिफारिस भएको बताए । लगानीकर्ताहरूले भने ०.२५ प्रतिशत मात्रै कमिसन लिन पाउने व्यवस्था गर्न माग गर्दै आएका छन् । अधिकारीका अनुसार सार्क राष्ट्रमा कतिपयमा नेपालमा भन्दा कम सेवाशुल्क छ भने कतिपयमा नेपालको भन्दा बढी सेवाशुल्क छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ अनुसार २०७२ साउनदेखि नेपालमा सेयर खरिद बिक्री गर्दा ग्राहकबाट दलाल व्यवसायीले ५० हजारसम्मको कारोबार गर्दा ०.६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोड रुपैयाँमाथिको जतिसुकै कारोबारमा ०.४ प्रतिशत सेवशुल्क लिँदै आएका छन् । यसरी लिएको सेवाशुल्कको २० प्रतिशत शुल्क भने ब्रोकरहरूले नेप्सेलाई दिने गर्छन् ।
कतिपय अवस्थामा ब्रोकरहरूको कमिसन अन्य मुलुकसँग तुलना गर्न नमिल्ने पनि हुनसक्छ । ब्रोकर कमिसन सम्बन्धित ब्रोकरहरूले आफ्नो व्यवसाय वृद्धिका लागि तोकिएको दरभन्दा कम लगाउन पनि सक्छन् । नेपालमा तोकिएको दरभन्दा कम लगाउने पाउने गरी बाटो खोलिएको छैन । त्यसैले बाध्य भएर तोकिएको दर लिइरहेको कतिपय ब्रोकरहरू बताउँछन् ।
भारतमै हेर्ने हो भने कतिपय ब्रोकहरूले खाता खोल्दा र व्यवस्थापन (मेन्टिनेन्स)का लागि कुनै शुल्क लिने गरेको पाइँदैन भने कतिपय दुवै कामका लागि छुट्टाछुट्टै २ सयदेखि चार सयसम्म लिएको पाइन्छ । त्यस्तै कतिपय ब्रोकरले निःशुल्क कारोबार गरेको र कतिपयले प्रतिअर्डरमा शुल्क लगाउने गरेको पाइन्छ । भारतमा कतिपय ब्रोकरहरूले ‘इन्ट्रा डे’ (जुन दिन सेयर किन्यो त्यसै दिन बेच्ने) कारोबारमा २० रुपैयाँ वा ०.०१ प्रतिशत जुन थोरै हुन्छ त्यति कमिसन लगाउने गर्छन् भने सेयर डेलिभरि (डिम्याट खातामा सेयर पठाउने) कारोबार निःशुल्क गर्ने गर्दछन् ।
पाकिस्तानी रुपैयाँ ४.९९ सम्म ०.०३ प्रतिशत कसिमन लाग्छ भने त्यसभन्दा माथी सेयर मूल्यको ०.०५ देखि ०.१५ प्रतिशतसम्म कमिसन लाग्छ । यद्यपि श्रीलंकामा १० करोड श्रीलंकन रुपैयाँसम्म ०.६४ प्रतिशत र त्यसभन्दा माथी ०.२ प्रतिशत कमिसन तोकिएको छ । तथापि अधिकतम शुल्क भने सार्क राष्ट्रमै नेपालको भन्दा बढी छ । भारत र पाकिस्तानमा अधिकतम २.५ प्रतिशतसम्म कमिसन छ भने माल्दिभ्स र भुटानमा १.५ प्रतिशतसम्म छ । बंगलादेशमा ०.८५ प्रतिशत कमिसन छ ।
प्रविधिमार्फत नै पुँजी बजारको विस्तार
विश्व सेयर बजारलाई हेर्ने हो भने प्रविधिकै कारण धेरै ठूलो फड्को मारेको छ । नेपालले प्रविधि अवलम्बनको सुरुवात गर्नासाथ सेयर बजारमा धेरै नै परिवर्तन भएको छ । प्राथमिक निष्कासनमा आम नागरिकको सहभागिता बढ्दै मात्रै गएको छैन दोस्रो बजारमा पनि लगानीकर्ता आकर्षित देखिएका छन् । त्यसैले दोस्रो बजारमा पूर्णरूपमा प्रविधिको प्रयोग गरेर व्यापार÷कारोबार व्यवस्था प्रणाली (टीएमएस)लाई अझ माथिल्लो तहमा लैजानु आवश्यक छ । जसले लगानीकर्ता, बजार निर्माता, दलाल व्यवसायी र अन्य सरोकारवालाहरूको जोखिम न्यूनीकरण गरोस् ।
पुँजी बजारको गतिशील विकासका लागि २०७५ कात्तिक २० गतेदेखि नेप्सेले अनलाइन कारोबार प्रणाली (नट्स) सुरुवात गरेको छ । अनलाइन कारोबार सुरु भएसँगै सुरुवाती समय निकै समस्याहरू देखिए पनि पछिल्लो समय केही सुधारिएको छ । यद्यपि अझ समस्या समाधान भइसकेको छैन । अनलाइन कारोबार प्रणाली सुरु भएसँगै लगानीकर्ताहरूले पनि धितोपत्र दलाल व्यवसायी (ब्रोकर)बाट गेटवे लिएर अनलाइनमार्फत सेयर खरिद बिक्री गर्न सक्ने अवस्था बनेको छ । यसले बजारको आकार र विश्वसनीयता बढाउँदै लगेको छ ।
हामीले प्रविधिको अझै पूर्ण प्रयोग गरेका छैनौं भन्ने कुरा कारोबार प्रणालीले पनि देखाउँछ । अझै नेपालमा ‘इन्ट्रा डे टे«डिङ’ सुरु नभएको मात्र होइन यसबारे बहससम्म भएको छैन । नियामकहरू पनि यस विषयमा मौन छन् । ‘इन्ट्रा डे’ कारोबार सुरु भएमा लगानीकर्ताले बजार प्रवेश र वहिर्गमनमा कुनै अवरोधको अनुभव नगर्ने भएकाले थप विश्वास÷उत्साह जाग्रित हुन्छ । यसले बजारलाई अझ चलायमान बनाउन भूमिका खेल्छ ।
बजारको बाधक बेवारिसे सरकारी निर्णय
आर्थिक वर्ष २०७५/७६ मा तत्कालीन अर्थमन्त्री खतिवडाले ५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट लिमिटेड कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुन प्रोत्साहन स्वरूप ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने नीति अघि सारे । तर, त्यो नीति कुन वर्षदेखि कुन वर्षभित्र वा नियमित निरन्तरता भन्ने कुरा बजेटमा व्यक्त भएन । त्यसपछि आएका दुईवटा बजेटमा पनि यो कुरा समावेश भएन । यसले पब्लिक लिमिटेडमा रूपान्तरित हुने चाहना राख्ने प्राइभेट कम्पनीहरूले खुलेर सुविधा पाउँछन् भन्ने अवस्था रहेन ।
सेयर बजारलाई यथार्थपरक बनाउन धेरैभन्दा धेरै वास्तविक क्षेत्र (रियल सेक्टर)लाई प्रवेश गराउनु आवश्यक छ । तर, नेपालमा वास्तविक क्षेत्र प्रवेशमा खासै रुचि देखिँदैन । सरकारले वास्तविक क्षेत्रलाई बजार प्रवेश गराउन विभिन्न नीतिहरू अवलम्बन गरे पनि कार्यान्वयनमा भने उदारता देखिँदैन । तथापि धितोपत्र बोर्डले हालै रियल सेक्टरका कम्पनीहरूलाई बजार प्रवेश गराउने उद्देश्यले अंकित मूल्यभन्दा बढी मूल्यमा सर्वसाधारणलाई सेयर बिक्री गर्ने बाटो खोल्न ‘बुक विल्डिङ निर्देशिका, २०७७’ जारी गरेको छ ।
त्यस्तै अवस्था गैरआवासीय नेपाली (एनआरएन)हरूलाई पुँजी बजारमा प्रवेश गराउने सवाल छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा ‘गैरआवासीय नेपालीहरूले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइनेछ’ भन्ने उद्घोष गरिएको छ । तर, एनआरएनलाई पुँजी बजारमा प्रवेश गराउने विषय गफ गर्ने मेलो मात्रै बन्दै आएको छ । एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कुरा धेरै वर्षदेखि चल्दै आए पनि व्यवहारमा लागू हुने कुनै संकेत देखिएको छैन ।
उता, डेपुटी गभर्नरको समितिले एनआरएनहरूलाई सेयर बजारमा कम्तीमा ३ वर्षको ‘लक इन पिरियड’को सर्तमा र विदेशी संस्थागत लगानीकर्तालाई समेत निश्चित सर्तको अधिनमा रही दोस्रो बजारको लगानी खुला गर्ने र यस्तो लगानीमा प्राप्त हुने लाभांश रकम नियमित रूपमा आफूले लगानी ल्याएको विदेशी मुद्रामा सटही गरी लैजाने पाउने नीतिगत व्यवस्था गर्ने सुझाव दिएको थियो । यो सुझाव पनि कागजमै सीमित छ ।
ऊर्जा संकट निवारणका लागि भन्दै आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आयोजनाहरू समयमा सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र निर्यात गर्ने विद्युत् उत्पादकहरूलाई १० वर्षसम्म पूरै र त्यसपछि ५ वर्ष ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरे ।
त्यति मात्र होइन यस्ता उत्पादकहरूले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एकमुस्ट अनुदान दिने व्यवस्था मिलाएको मात्र भनेनन् आर्थिक वर्ष २०७४/७५ सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उत्पादकलाई यस्तो अनुदानमा १० प्रतिशत थप गरिनेसमेत उल्लेख गरे ।
तर, ऊर्जा उत्पादकहरूले सरकारले बजेटमा घोषित नीतिअनुसार रकम आफूहरूले नपाएको भन्दै सरकारको ढोका चाहारिरहेका छन् । सरकारी पक्षले भने बजेटको सो व्यवस्थालाई नै बेवास्ता गर्दै आएका छन् । अहिले धेरै जलविद्युत् कम्पनीहरूले सर्वसाधारणलाई सेयर जारी गरेका छन् । विगतमा अनुदान आउँछ र कम्पनीको लागत घट्छ भनेर सर्वसाधारणलाई सेयर बेचेका कम्पनीहरूले अहिले घोषित रकम नपाउँदा सर्वसाधारण लगानीकर्तासमेत ठगिएका छन् ।
कुनै बेला नगन्य अवस्थामा रहेको सेयर बजारमा जलविद्युत् क्षेत्रको हिस्सा पुँजीकरणका हिसावले गत भदौसम्म ५.९ प्रतिशत छ । अहिले नेप्सेमा ३३ कम्पनीको सेयर सूचीकृत छ । पुँजी बजारमा जलविद्युत् कम्पनीहरूको हिस्सा बढ्दो छ ।
नियामकको सक्रियता नै सुधारको आधार
अहिले पनि सेयर कारोबारमा धेरै नै चलखेल हुने गरेको गुनासो सुन्न पाइन्छ । खासगरी केही लगानीकर्ता र ब्रोकर मिलेर अमुक कम्पनीको सेयर मूल्य बढाउन वा घटाउन कर्नरिङ गर्ने गरेको चर्चा पछिल्लो समय व्यापक बढेको छ । यस्तो बेला नियामकहरू अझ चनाखो हुनुपर्ने आवश्यकता छ । गत साउनमा ब्रोकर नम्बर ४४ डाइनामिक मनि म्यानेजर सेक्युरिटीजलाई १० कित्ता सेयर टुक्रा पारेर बेचेको आरोपमा नेपाल स्टक एक्सचेन्जले एक दिन कारोबारमा रोक लगाएको थियो ।
उता, नेपाल धितोपत्र बोर्डले पनि हिमालय डिस्टिलरीकी पूर्वसञ्चालक रहिसा शाहलाई २०७५ चैतमा करिब २८ करोड बराबरको सेयर अनिधिकृत रूपमा बिक्री गरेको भन्दै ७५ हजार रुपैयाँ नगद जरिवाना र १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक लगाएको थियो । त्यस्तै शाहका नाममा गलत ढंगले सेयर कारोबार गरेको भन्दै धितोपत्र दलाल व्यवसायी श्री इन्भेस्टमेन्ट म्यानजमेन्ट नेपाल प्रालिलाई पनि १ लाख ५० हजार रुपैयाँ नगद जरिवाना गरेको थियो । यसरी नियामकले गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउन सके पुँजी बजारमा हुने अनियमित क्रियाकलापमा कमी आई लगानीकर्तालाई कारोबारमा सक्रिय हुन अझ हौसला मिल्नेछ ।
जसले लगानीकर्ताको मनोविज्ञान परिवर्तन गर्छ
सेयर बजारलाई कतातिर डो¥याउने भन्ने विषय लगानीकर्ताको मनोविज्ञानसँग सम्बन्धित भएकाले कुनै एउटा कारणले मात्र प्रभावित हुँदैन । सबै समयमा उस्तै कारण पनि पाइँदैन र लगानीकर्ताको मनोबल सधैं एउटै हुँदैन । तथापि बजार प्रभावित पार्ने सबैभन्दा ठूलो अस्त्र राजनीति हो । राजनीतिक घट्नाक्रमसँग सेयर बजार सबैभन्दा बढी जोडिन्छ ।
कुन दलको सरकार, को अर्थमन्त्री, को गभर्नर, को धितोपत्र बोर्डको अध्यक्ष बन्यो भन्ने कुराले बजार बढी प्रभावित हुन्छ । सत्तारुढ दलको किचलो तत्कालै नसल्टिए अल्पकालीन रूपमा बजार प्रभावित हुने संकेत गरेको छ तर, दीर्घकालीन असर भने पर्ने छैन ।
धेरै अध्ययनहरूले ब्याजदर र सेयर बजारबीचको सम्बन्ध विपरीत छ भनेर प्रमाणित गरिसकेका छन् । अर्थात् ब्याजदर बढ्दा सेयर बजार घट्छ र ब्याजदर घट्दा सेयर बजार बढ्छ । पछिल्लो केही समयदेखि नेपालमा ब्याजदर घट्दो क्रममा छ र अहिले एक हिसाबले भन्ने हो भने न्यून विन्दुतिर आइरहेको छ । उता, सेयर बजारले पनि एकपछि अर्को उचाइ प्राप्त गर्ने दिशामा अघि बढिरहेको छ ।
२०७३ देखि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने यसको पुष्टि हुन्छ । ब्याजदर घट्दा ऋणयोग्य रकम (लोनेबल फन्ड) प्रसस्त हुने भएकाले सेयर बजारमा लगानीकर्ताहरू ऋण लिएर पनि लगानी गर्छन् । खासमा लगानीकर्ताले प्रतिफलका आधारमा लगानी गर्ने हुन् ।
अहिले साधारण ब्याजदरभन्दा सेयरमा गरिएको लगानीबाट बढी प्रतिफल प्राप्त भएको अनुभव लगानीकर्ताको छ । बैंकको निक्षेपमा पाउने ब्याजबाटभन्दा सेयर खरिद गरेर बढी लाभ लिन लगानीकर्ता लालायित छन् । बैंकको ब्याजदर बढी भएका बेला अधिक लगानीकर्ताले निक्षेप राख्ने वा घरजग्गातर्फ लगानी ‘डाइभर्ट’ गर्छन् । जसले गर्दा सेयर बजारमा लगानी खुम्चिन जान्छ ।
बेला–बेलामा सेयर बजारमा करको विषयले पनि स्थान पाउँछ । नेपालमा पुँजीगत लाभकरका बारेमा खासै धेरै विवाद छैन । केही लगानीकर्ताहरूले कर लगाउँदा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीमा छुट्टाछुट्टै पुँजीगत लाभकर लगाउनुपर्ने माग गर्दै आएका छन् । वास्तवमा लगानीकर्ताहरूलाई दीर्घकालमा आकर्षित गर्न र बजारलाई स्थिरतातर्फ लैजान समयका आधार पुँजीगत लाभकर लगाउनु राम्रो हुन्छ ।
कतिपयले भने पुँजीगत लाभकरको सट्टा कारोबार कर लगाउनुपर्ने माग गर्दै आएका छन् । सरसर्ती हेर्दा दीर्घकालीन लगानीकर्तालाई बजारमा टिकाउन कारोबार कर (पटके) वा पुँजीगत लाभकरमा विविधता हुनु राम्रो हुन्छ । पाकिस्तानमा एक वर्षको सेयर कारोबारमा १५ प्रतिशत पुँजीगत लाभकर लाग्छ भने १ देखि २ वर्षसम्मको कारोबारमा १२.५ प्रतिशत, २ देखि ४ वर्षका लागि ७.५ प्रतिशत र ४ वर्ष पछिको कारोबारमा भने पुँजीगत लाभकर पूरै छुट दिइएको छ ।
भारतमा एक वर्षको अवधिका लागि १५ प्रतिशत पुँजीगत लाभकर छ भने लामो अवधिका लागि औसत १ लाखभन्दा बढी भएमा १० प्रतिशत लाग्ने व्यवस्था छ । नेपालमा भने सबै कारोबार र सबै समयमा व्यक्तिगत भए ५ प्रतिशत र संस्थागत भए १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।
सेयर बजारमा लगानीकर्ता आकर्षित हुने अर्को विषय हो, पुँजी वृद्धि । पुँजी वृद्धिका लागि अपनाइने हकप्रद सेयरका कारण लगानीकर्ता सम्बन्धित कम्पनीप्रति बढी लालायित हुन्छन् । बढी हकप्रद सेयर दिने कम्पनीमा लगानीकर्ताले बढी मूल्य लगाउँछन् र त्यस्तो सेयर खरिदमा ध्यान दिन्छन् । विगतमा ११७५ र १८८१ विन्दुको उचाइ छुँदा दुवै पटक हकप्रद सेयरले महत्पूर्ण भूमिका खेलेको थियो । केन्द्रीय बैंकले बैंक तथा संस्थाको पुँजी वृद्धि गर्ने निर्णयसँगै सूचकले नयाँ गति समाएको थियो ।
पछिल्लो समय सेयर बजारमा पनि दोहोरो करको विषयले प्रवेश पाएको छ । कम्पनीले नाफा गर्ने बित्तिकै आयकर तिरेको हुन्छ । तोकिएको आयकर तिरिसकेपछि लगानीकर्तालाई बाँडिने नाफा (लाभांश)मा सरकारले फेरि ५ प्रतिशत लिने गरेको छ । यसलाई लगानीकर्ताले दोहोरो करका रूपमा लिन थालेका छन् । कम्पनीले नै आयकर काटिसकेको अवस्थामा फेरि लगानीकर्ताबाट कर असुल्नु भने त्यति न्यायोचित जस्तो देखिँदैन ।
लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो । सूचना प्रवाहलाई पारदर्शी, यथार्थपरक र वास्तविकतामा आधारित बनाउने मात्रै होइन वास्तविक समयमा आधारित बनाउनुपर्छ । सूचना प्रवाह समयमै र यथार्थपरक भएमा लगानीकर्ता हल्लाको पछि लाग्नुपर्दैन र सही सूचना सही समयमा पाउँदा लगानीको निर्णय गर्न सहज हुन्छ ।
त्यसका लागि सूचीकृत कम्पनी र नियामक निकायहरूले विशेष सतर्कता अपनाउनुपर्छ र लगानीकर्तामा प्रशिक्षण तथा जनचेतना अभिवृद्धिका कार्यक्रम व्यापक रूपमा विस्तार गर्नुपर्छ । अहिले सीमित मात्रामा भएका लगानीकर्ता सचेतना कार्यक्रम सरोकारवालाको सहकार्यमा व्यापक बनाइनुपर्छ ।
सञ्चार माध्ययमा आउने सेयर बजारका विषयले लगानीकर्ताको सबैभन्दा बढी ध्यान तान्ने गरेको पाइन्छ । लगानीकर्ता बढी भ्रमित र आशावादी पनि सञ्चारमाध्यमले प्रस्तुत गरेका विषय वस्तुबाट हुने गरेका छन् । पछिल्ला वर्षहरूमा त झनै सामाजिक सञ्जालको बढ्दो प्रभावले सेयर बजार बढी नै चलायमान भएको पाइन्छ ।
सामाजिक सञ्जालमा कतिपय लगानीकर्ताहरूले आफूअनुकूलको सूचना सम्प्रेषण गर्ने गर्छन् र नयाँ तथा वास्तविकता अध्ययन नगरेका लगानीकर्ताले तिनै सूचनाहरूलाई आधिकारिक मानेर धारणा बनाउने र सेयर खरिद बिक्रीमा संलग्न हुँदा समस्या हुने गरेको पाइन्छ । अझ पछिल्लो समय आफूअनुकूलका अनलाइन र सामाजिक सञ्जालको बढ्दो अफवाहका सूचनाले सामान्य लगानीकर्ता मारमा पर्ने गरेको पाइन्छ ।
कतिपय लगानीकर्ता आफ्ना दाजुुभाइ, साथीभाइ, छिमेकी, सेयर बजारका दलाल वा विज्ञ नामधारी कतिपय व्यक्तिहरूको ‘टिप्स’लाई आधार मानेर सेयर बजारमा कारोबार गरेको पाइन्छ । जुन एकदमै गलत हो । अरूको लहैलहैमा लागेर सेयर खरिद वा बिक्री गर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउँछ । किनभने कथित साथीभाइ वा विज्ञको सल्लाह सही हुन्थ्यो भने पहिलो उनीहरू आफंैले ती सेयर किनेर करोडपति भइसक्थे । सेयरमा सबैका कुरा सुन्ने र वास्तविकता अध्ययन गरेर संभावना बढी क्षेत्रमा आफूले लगानी गर्ने हो । अरू कसैको सल्लाह वा उक्साहटमा सेयरमा लगानी गर्नु जूवा खेले सरह नै हो । लगानीकर्ताका सत्रु लोभ र डर, नभई नहुने अस्त्र धैर्यता
लोभ र डर/त्रास हरेक क्षेत्रका लगानीकर्ताका प्रमुख सत्रु हुन् । सेयर बजारमा यी दुई सत्रुले बढी नै खेल्न खोज्छन् । लगानीकर्ता लोभ र त्रासबाट सकेसम्म टाढा बसेर कारोबारमा सक्रिय भएमा बढी फाइदा हुन्छ । ‘लोभले लाभ, लाभले विलाप’ भन्ने नेपाली उखानलाई सेयर बजारका लगानीकर्ताले बढी ख्याल गर्नुपर्छ ।
बजार बढ्दा अझ बढ्छ भनेर उत्साहित भएर वास्तविकता नबुझी सेयर किन्दा र बजार घट्दा झनै घट्छ भनेर त्रासमा बिक्री गर्दा लगानीकर्ता नराम्ररी फस्छन् । लगानीकर्ताले बजार जुनसुकै बेला बढ्न वा घट्न सक्छ र त्यसबाट फाइदा वा घाटा जे पनि हुन्छ भनेर कारोबार गर्दा पछुताउनु पर्दैन ।
सेयर बजारका लगानीकर्तासँग नभई नहुने अर्को क्षमता हो, धैर्यता । सेयरको मूल्य घट्यो वा बढ्यो भनेर धैर्यता नराखी हतारमा खरिद वा बिक्री गर्दा जुनसुकै बेला फस्न सक्छन् । केही मूल्य बढ्दा वा घट्दा आत्तिनुपर्ने आवश्यकता छैन । समयले सबैलाई अवसर दिएको हुन्छ, खाली अवसर छोप्न जान्नुपर्छ र धैर्यता टुटाउनु हुँदैन । लगानीकर्तामा कम्पनीलाई बुझ्न सक्ने क्षमता र धैर्यता भएमा सेयर बजारबाट पछाडि फर्कनु पर्दैन ।
धैर्यता नराखी लोभ र त्रासमा फस्दा आफूसँग भएको राम्रो कम्पनीको सेयर मूल्य सोचेजस्तो नबढ्ने तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीव्र गतिमा बढेको अवस्थामा लगानीकर्ता निरुत्साहित भएर पोर्टफोलियो परिवर्तन गर्ने गरेको र पछि पछुताएको पनि पाइन्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा आँखा चिम्लेर लगानी गर्नु सबैभन्दा घातक हुन्छ । त्यसो त सेयर बजारमा लगानीकर्ताहरू छोटो समयमै हुने फाइदामा आकर्षित भएको पाइन्छ ।
तर, लामो समयसम्मका लागि दृष्टिकोण, योजना बनाएर सेयर बजारमा प्रवेश गर्दा बढी हितकर हुन्छ । सेयरको व्यापारमा जोखिम धेरै हुन्छ, सेयर होल्ड गर्ने लगानीकर्ताले जोखिम बेहोरेको हुँदैन भने अल्पकालीन लगानीकर्ताले बढी जोखिम बेहोर्ने गरेको पाइन्छ ।
‘ब्लू चिप’को खेल
कतिपय बेला बजारका ‘ब्लू चिप’ कम्पनी भनेर व्यापक चर्चा हुन्छ । ब्लू चिफ कम्पनी समय र परिस्थितिअनुसार बदलिँदै जान्छन् । सबै बेला एउटै कम्पनी ब्लू चिफ हुँदैनन् । केही समय अघिसम्म ब्लू चिफ मानिएका स्ट्याण्र्ड चार्टर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, युनिलिभरजस्ता कम्पनीहरू विस्तारै हराउँदै गएका छन् भने नयाँ कम्पनीहरूले स्थान लिन खोजिरहेका छन् । यद्यपि राम्रा कम्पनीहरू तत्कालको लाभांशमा विश्वास नगरी दीर्घकालमा कम्पनीलाई कसरी राम्रो अवस्थामा राख्ने भनेर डटिरहेका हुन्छन् ।
कम लाभांश दिएकै भरमा कम्पनीहरूको हैसियत सकियो भन्ने कुरा हुँदैन । तर, उनीहरूको व्यावसायिक अवस्था, नाफा गर्ने क्षमतालाई भने ख्याल गर्नुपर्छ । खासगरी कोभिड–१९ का कारण मुलुककै अर्थतन्त्र तहसनहस भएका बेला कम्पनीहरूले आफूलाई कसरी मजबुत र सुरक्षित राख्छन् भन्ने कुराले आगामी दिनमा ती कम्पनीको भविष्य निर्धारण हुन्छ र लगानीकर्ता पनि सुरक्षित हुन्छन् ।
अझै गर्नुपर्ने धेरै काम छन्
नेपालको पुँजी बजारमा सुधार हुँदै नभएको भने होइन । तर, २०३३ देखि औपचारिक सुरुवात भएको पुँजीबजारले साढे चार दशक बिताउँदा पनि पूर्णरूपमा विकसित हुन सकिरहेको छैन । अर्थात् अझै पनि पुँजीबजारले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नीतिगत, भौतिक र प्राविधिक सुधार खोजिरहेको छ । यद्यपि अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने २०५० पुस २९ गते १०० विन्दुबाट सुरु भएको हो । त्यसपछि नेप्से बढ्दै गएर २०५७ कात्तिक मसान्तमा ५ सय १९ विन्दुमा नेप्से रोकिएको थियो । त्यसपछि भने नेप्से फेरि घट्न थालेको थियो ।
बजार व्यवस्थित बनाउन अहिले नागरिक स्टक डिलर आइसकेको छ । तोकिएको आधार पूरा गरेर अरू कम्पनीहरू स्टक डिलरका रूपमा काम गर्न चाहन्छन् भने नियामकले ढोका खोलिदिनुपर्छ । अवश्य पनि यसअघि डेपुटी गभर्नरको संयोजकत्वमा गठित समितिले वाणिज्य बैंकका सहायक कम्पनीहरूलाई धितोपत्र दलाल व्यवसायीको अनुमति दिनुपर्ने पनि सुझाव दिएको छ । तर, अझै प्रक्रिया अघि नबढ्नु दुःखद् छ । बैंकका सहायक कम्पनीहरूलाई तत्काल ब्रोकर लाइसेन्सको अनुमति दिएर देशव्यापी रूपमा कारोबार गर्ने वातावरण मिलाउनु जरुरी छ ।
हुनत अनलाइन कारोबार सुरु भएपछि अहिलेकै ब्रोकरहरू पनि धेरै हुन्छन् भन्ने बहस अर्को पाटोबाट सुरु भएको छ । तर, कारोबारको दायरा विस्तार हुँदै जाँदा ब्रोकरको संख्या धेरै हुने सवालै हुँदैन । अर्कोतिर लगानीकर्ताहरूलाई ब्रोकर छनोटको पर्याप्त अवसर हुनु आवश्यक छ । त्यस्तै सेयरमा मार्जिन लेन्डिङ र सेयर धितोमा जाने कर्जालाई छुट्टाछुट्टै व्यवस्था गर्न सुझाव दिएको छ ।
मार्र्जिन लेन्डिङ ब्रोकरले मात्रै दिन पाउने भए पनि अझै यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । सेयर बजारमा हुने कारोबारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएसएल, डिम्याटको सेवा दिने मर्चेन्ट बैंकहरूसँग नेप्सेको अनलाइन कारोबारलाई पूर्णरूपमा आबद्ध गरी हाल रहेको टी प्लस ३ राफसाफ चक्रलाई टी प्लस १ मा २०७६ असारभित्र ल्याउने भने पनि अहिलेसम्म त्यसको सुनुवाइ नहुनु बिडम्बनापूर्ण छ ।
सेयर धितोमा राख्दा वा फुकुवा गर्दा पूर्णतः विद्युतीय माध्यमको उपयोग गरिनुपर्छ । सेयर धितोकर्जा लिएकाहरूको हकमा रोक्का भएको सेयरवापत प्राप्त हुने नगद लाभांश लगानीकर्ताकै बैंक खातामा जम्मा हुने व्यवस्था गर्नुपर्छ । बोनस सेयर र हकप्रद सेयर हितगाह्री खातामा पठाएर स्वतः रोक्का हुने भए पनि नगद लाभांशका लागि अझै पत्र बोकेर कुद्ने व्यवस्था ठीक छैन । नियमित ऋणीहरूको नगद लाभांश रोक्का राखिरहनु जरुरी छैन ।
स्थायी लेखा नम्बर (प्यान) लिएका लगानीकर्ताले सेयर खरिद बिक्री गर्दा तिर्नुपर्ने कर दाखिला गरेर सिधै लगानीकर्ताको खातामा अभिलेख हुने व्यवस्था सेटलमेन्टकै दिन गरिनुपर्छ । साथै लगानीकर्ता आफंैले विद्युतीय कर चुक्ता लिनसक्ने व्यवस्था गर्नुपर्छ । सूचीकृत कम्पनीहरूको साधारणसभा प्रयोजनका लागि प्रोक्सी संकलनमा बिकृति देखिएकाले तोकिएको विद्युतीय माध्यमबाट मात्र प्रोक्सी स्वीकार गर्ने व्यवस्था हुनुपर्छ ।
लगानीकर्ताहरूलाई पुँजी बजारमा आकर्षित गर्न वार्षिक न्यूनतम निश्चित रकमसम्म नगद लाभांश बुझ्ने लगानीकर्ताका लागि लाभांश करमा छुट दिनु राम्रो हुन्छ भने सामूहिक लगानी कोषहरूलाई दोहोरो करबाट मुक्त गर्नुपर्छ । सरकार र नियामक निकायहरूले विगतमा सर्वसाधारणलाई सेयर बिक्री गरी बजारबाट बेपत्ता भएका कम्पनीहरू खोजी गरी त्यसका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र उनीहरूका एकाघरका परिवारको समेतको सम्पत्तिबाट सेयरधनीलाई कम्तीमा अंकित मूल्यमा रकम फिर्ता गर्ने वातारण मिलाउनु आवश्क छ । त्यस्ता कम्पनीका सञ्चालक, सीईओ र ठूला लगानीकर्ताहरूलाई कालोसूचीमा राखेर राज्यबाट पाउने सम्पूर्ण सेवासुविधाहरू रोकिनुपर्छ ।
बढ्दो बजारले लगानीकर्तामा विश्वासको वातावरण पैदा गर्छ र थप लगानीका लागि प्रोत्साहित गर्छ । तर, घट्दो बजारले लगानीकर्ताको मनोबल कमजोर बनाउने भएकाले थप लगानीका लागि निरुत्साहित गराउँछ । बजारको बढ्दो सरगर्मीले पुराना, संस्थागत, अवसर कुरिरहेका र नवप्रवेशी लगानीकर्तालाई आकर्षित गर्ने भएकाले लगानीकर्ताहरूको संख्या ह्वात्तै बढ्ने मात्र होइन थप उचाइ छुने अवसर पनि सिर्जना गर्छ ।
लगानीकर्ताले जहिले पनि आफ्नो पोर्टफोलियो हेर्नुपर्छ । नेप्से सूचक बढ्यो वा घट्यो भनेर चिन्ता लिनुभन्दा आफ्नो पोर्टफोलियोमा कति परिवर्तन भयो भन्ने कुरा ध्यान दिन सके बढी फाइदा हुन्छ । लगानी गर्दा कम्पनीका आधारभूत पक्षका अतिरिक्त प्राविधिक विश्लेषणहरू हेर्ने गरिन्छ । तर, प्राविधिक विश्लेषणका आधारमा गरिने लगानी छोटो अवधिका लागि मात्रै उपयुक्त देखिएको छ । प्राविधिक विश्लेषणमा परिवर्तित घट्नाक्रम नसमेटिने हुनाले त्यसैका आधारमा मात्र लगानी गर्नु मूर्खता हुनेछ ।
राजनीतिक स्थिरता, कम तर स्थिर ब्याजदर, सरकारी खर्चमा वृद्धि र रोजगारीका अवसर सिर्जनाका साथै आम मानिसहरूको आम्दानीमा व्यापक वृद्धि, दलाल व्यवसायीमार्फत ऋण प्रवाह, मार्केट मेकरको बजारमा प्रवेश, सामूहिक लगानी कोषहरू सक्रिय रहनु सेयर बजारका लागि विश्वासका आधारहरू हुन् भने सूचीकृत कम्पनीका वित्तीय विवरण र कम्पनी सञ्चालक तथा लगानीकर्ताहरूको आधारभूत अवस्थाको विश्लेषण लगानीकर्ताका लागि अचुक अस्त्र हुन् । सेयर लगानीका लागि मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी, सेयरको किताबी मूल्यहरूलाई कम्पनी विश्लेषणको आधार बनाउनुपर्छ । तर, यिनै विश्लेषणका आधारमा मात्रै लगानी गर्ने भन्ने कुरा हुँदैन ।
सेयर बजारमा सामान्य लेखपढ गरेकादेखि उच्च तहमा अध्ययनरत, गृहस्थीमा रमाएका परिवारदेखि उच्च होहदामा कार्यरत, युवा देखी वृद्धि सबैले लगानी गर्न सक्छन् । सेयर बजार कुनै पनि विकल्प नहुँदा विकल्प हो । किनभने थोरै रकमले ब्यापार व्यवसाय गर्न सकिन्न तर सानोभन्दा सानो बचत पनि सेयरमा लगाएर आम्दानी गर्न सकिन्छ ।
खाजा खर्च, फजुल खर्च कटाएर पनि सेयर बजारमा लगानी सुरुवात गर्न सकिन्छ । सेयर बजारबाट सुरुमै धेरै कमाउन नसकिए पनि निरासै बनाउने अवस्था भने आउँदैन । सेयर बजारका लगानी गर्दा अन्य क्षेत्रमा जस्तो पूरै समय दिनुपर्दैन । थोरै समयमा धेरै अवसर सेयर बजारबाट लिन सकिन्छ ।
जग बलियो भए घर बलियो हुन्छ भनेजस्तै हो सेयर बजारको लगानी पनि । समग्रतामा भन्ने हो भने मुलुकको अर्थतन्त्र, उद्योग र कम्पनीको अवस्था मजबुत भएमा सेयर बजारले पनि गति लिन्छ । सूचीकृत कम्पनीहरूको अवस्था भने अर्थतन्त्र राम्रो हुँदा पनि कमजोर र अर्थतन्त्र खस्किएका बेला पनि राम्रो हुनसक्छ । त्यसैले लगानीकर्ताले कम्पनीको आधारभूत पक्षहरूलाई हेर्नुपर्छ भनिएको हो ।
कोरोना कहरलाई बिर्सने हो भने पुँजी बजारमा विस्तारै लगानीको वातावरण बन्दै गएको छ । लगानीकर्ताहरू कम्पनीमा लगानी गर्दा कति प्रतिफल पाउन सकिन्छ भन्दै कम्पनी छानिछानी लगानी गर्न थालेका छन् । विगतमा चक्रिय प्रभावका कारणले पनि बजार घट्दै गएको थियो । अहिले घट्ने चक्र सकिएर बढ्ने चक्र सुरु भएको आंकलन भएको छ ।