निजी क्षेत्रलाई सुदृढ, सबल र सफल बनाउन अहिलेको प्रमुख आवश्यकता हो । यही आवश्यकता पूरा गर्नका लागि महासंघको नेतृत्वमा आउन लागेको छु । कोरोना भाइरस महामारीका कारण अहिले नेपालसहित विश्वको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा छ । त्यसलाई मध्यनजर गरी पुनः आर्थिक गतिविधि बढाएर अघि लानुपर्ने अवस्था आएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा कुल गार्हस्थ्य उत्पादन(जीडीपी) ८ प्रतिशतको प्रक्षेपण गरिएको थियो त्यसमा कोरोनाको प्रभावले घटेर २ प्रतिशतमा आएको छ । अहिले अन्तराष्ट्रिय मुद्रा कोषले नेपालको जीडीपी वृद्धि ०.६ प्रतिशतमा आएको प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोनाको असर अझै लम्बिदै गयो भने जीडीपीको विस्तार ऋणात्मक हुँदै जाने देखिन्छ ।
विश्वव्यापी र नेपालमा पनि निजी क्षेत्रको जीडीपीमा योगदान ७० प्रतिशतभन्दा बढी छ । सरकारले सन् २०२२ मा अल्पविकसितबाट विकासशील राष्ट्रको रूपमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । २०२२ सम्म भनेकोमा यो अवधि बढेर २०३० सम्म पुग्ने देखिएको छ । यसका लागि निजी क्षेत्रले बढी लगानी गर्नुपर्ने देखिएको छ । त्यसैले यो लक्ष्य हासिल गर्नलाई निजी क्षेत्रलाई सुदृढ, सबल र सफल बनाउनुपर्छ ।
सरकारले १५ औं पञ्चवर्षीय योजनामा औसत १० प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । त्यसलाई सहयोग पुर्याउने निजी क्षेत्रको पनि अहम दायित्व हो । हामीले १० वर्षको योजनासहितको अवधारणा बनाएर निर्वाचनमा होमिएका छौं । हाम्रो मुख्य लक्ष्य भनेकै सरकारको औसत १० प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सफल बनाउने हो । त्यहीअनुसार कामहरू गर्दै जाने छौं । यद्यपी, कोरोना कहरका कारण लक्ष्य परिवर्तन गर्ने सरकारको तयारी छ ।
कोरोनाले गर्दा अहिले धेरैको रोजगारी गुमेको छ । विदेशबाट धेरै नेपालीहरू बेरोजगार भएर फर्र्किएका छन् । उनीहरूलाई नयाँ रोजगारी सिर्जना गर्न आवश्यक छ । त्यसका लागि सरकारसँग समन्वय गरेर रोजगारीका लागि लगानीको वातावरणहरू बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ ।
सरकारले लगानीमैत्री वातावरण बनाउनका लागि आवश्यक नीति नियमहरूलाई सहजीकरण गरिदिनुपर्छ । अहिले भएका केही नीति नियमहरूले व्यवसायीहरूलाई समस्या परेको देखिन्छ । व्यवसायीलाई सहजता बनाउन निजी क्षेत्र र सरकारबीच आपसी छलफल गरी विभिन्न बाधा अड्चनहरू फुकाउनेतर्फ लाग्नेछु ।
कच्चा पदार्थ स्वदेशमै उपलब्ध गराउन आवश्यक भूमिका निर्वाह गर्नेछु । अहिले अधिकांश कच्चापदार्थहरू विदेशबाट ल्याउने गरिएको छ । त्यसका लागि कृषिलाई विशेष प्राथमिकता दिनुपर्छ । कृषिका लागि सबैभन्दा बढी आवश्यक भनेको मल नै हो । अहिले किसानहरूले समयमै मल नपाउने अवस्था छ ।
त्यसलाई समाधान गर्नका लागि नेपालमै मल उद्योग खोल्नुपर्छ । अहिले सरकारले पनि यस विषयमा अध्ययन गरिरहेको छ । मल उद्योग खोल्नका लागि सरकारसँग निजी क्षेत्रले समन्वय गर्न तयार छ । जबसम्म कृषिमा स्वाबलम्बन बन्न सकिँदैन तबसम्म कच्चापदार्थ यहाँ उत्पादन गर्न सकिँदैन । त्यति मात्र होइन, विदेशबाट आयात हुने वस्तुहरूलाई रोक्नसमेत कृषिले ठूलो भूमिका निर्वाह गर्छ ।
महासंघभित्र राजनीति गर्नेभन्दा व्यवसायीहरूलाई परेको समस्याहरूलाई समाधान गर्न विभिन्न निकायहरूसँग छलफल र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । अहिले कोरोना भाइरसका कारण थला परेको व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्नुनै मेरो उम्मेदवारीको आधार हो ।
कोभिड–१९ ले साना, मझौला र ठूला व्यवसायीहरूमा पारेको समस्याको निक्र्यौल गर्ने र सरकारी स्तरमा समन्वय गरी बैंक तथा वित्तीय संस्थाहरूसँग गहन छलफल गरी उपयुक्त ढंगले निकास खोज्न पहल गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि महासंघको नेतृत्वमा आउने व्यक्ति समय पनि बढी छुट्ट्याउनुपर्ने हुन्छ । सबै क्षेत्रमा हाम्रो आवाजलाई जोडतोडका साथ राख्नुपर्छ । त्यसका लागि म आफूले सकेसम्म प्रयत्न गर्ने प्रतिबद्धता गर्छु ।
निजी क्षेत्र र सरकारबीच एकआपसमा सुमधुर सम्बन्ध कायम गराउन मैले अग्रणी भूमिका खेल्नेछु । महासंघको नेतृत्वका लागि प्यानलकै हिसाबले अघि बढिएकाले हामीले दीर्घकालीन योजनाहरू पनि बनाएका छौं । अहिलेको विषम परिस्थितिमा सबै क्षेत्रसँग समन्वय गरेर अर्थतन्त्रलाई बलियो बनाउन यो प्यानल सक्रिय हुन्छ ।
म आफ्नो भूमिका अझ बढाउनेछु । अहिले निजी क्षेत्रलाई सरकारले हेर्ने बेला आएको छ । त्यसका लागि आवश्यक योजनासहित अर्थमन्त्री, गभर्नरसहित सरकारका अन्य निकायहरूमा व्यापक छलफल गर्ने र त्यसबाट आएका निश्कर्षहरूलाई कार्यान्वयनमा लगेर गुमेको निजी क्षेत्रको आत्मविश्वालाई जागृत गराउनुपर्ने छ । यसका लागि म सदैव कटिबद्ध रहनेछु ।
म महासंघमा १६ वर्षदेखि आबद्ध छु । मैले विगतमा महासंघमा निर्वाह गरेको भूमिका, व्यवसायको अनुभव र नेतृत्वलाई यहाँ प्रयोग गर्ने सोच बनाएको छु । वस्तुगत संघमा अटोमोबाइल संघ, प्लास्टिक उद्योग संघमा नेतृत्व गरेर गरेका कामहरू र मैले महासंघको विभिन्न गतिविधिहरूमा सहभागिता जनाएको छु ।
महासंघकै तर्फबाट उद्योग समितिको सभापति भएर उद्योग व्यवसायसँग सम्बन्धित ऐन नियमहरूलाई परिस्कृत गर्न र नयाँ ढंगबाट लैजान जुन किसिमको कामहरू गरेको छु । त्यही कामहरूलाई हेरेर सशक्त उम्मेदवारका रूपमा छु भन्ने मेरो दाबी छ । हामी सबैको लक्ष्य भनेको देशलाई आर्थिक र सामाजिक रुपान्तरण नै हो । त्यसका लागि लगानीको सुरक्षा गर्न, व्यवसायीको सुरक्षा र व्यवसायको प्रवद्र्धनका लागि सबै मिलेर जानुपर्छ ।
(नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगततर्फको उपाध्यक्षका उम्मेदवार श्रेष्ठसंग सवास योञ्जनले गरेको कुराकानीमा आधारित)