म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो
ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनियर जितेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन २ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सीधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन । राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि शुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युतको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युतगृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच थिएन । पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँगै रघुगङ्गा गाउँपालिकाको वडा नं ५ को झिँ र वडा नं ६ को पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सिधा सडक सञ्जालमा जोडिएका छन् ।
मौवाफाँट हुँदै बुग्लसम्म पुगेको सडकको ट्र्याक राहुघाट जलविद्युत् आयोजनाकै सहयोगमा झिँसम्म विस्तार भइसकेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्रा अवधि एक घण्टामा छोटिने झिँका स्थानीय युवा मीनबहादुर रोकाले बताए ।
तीन वर्षअघि ठेक्का सम्झौता भएको राहुघाट जलविद्युत् आयोजनाको एक चौथाइभन्दा बढी निर्माण सकिएको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३ वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) बन्दाबन्दी र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ ।
सिभिलतर्फ १८ र इलेक्ट्रोमेकानिकल तर्फ १० प्रतिशत भौतिक प्रगति भएको छ । पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट ५०० मिटर मुख्य सुरुङ खनिएको छ । पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ ।
बाँध रहने ठाउँमा बन्ने अडिट १ को पोर्टल (सुरुङ खन्ने ठाउँ) तयार बनाएको छ । बर्खामा बुग्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवतजावतलाई निरन्तरता दिइएको थियो । सिभिल ठेकेदारका ५०० मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् । विसं २०७४ मङ्सिर ५ गते ६ अर्ब रुपैयाँमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युत्गृह र बाँध निर्माणस्थल रघुगङ्गा गाउँपालिकामा पर्दछ । भारतीय एक्जिम बैङ्कको सहुलियत ब्याजदरसहित ४ करोड ४० लाख अमेरिकी डलर ऋणमा राहुघाट निर्माण हुन लागेको हो । पैँतालीस महिनाको ठेक्का अवधि भएको आयोजनाको ३६ महिना पूरा भएको छ ।
आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । घुमाउने तालदेखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ ।
१ करोड २ लाख ९३ हजार अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ । कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपीसी) प्रारूपमा राहुघाट बनाउन लागिएको हो ।
विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
विसं २०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट शुरु भएको थियो । राहुघाट जलविद्युत् आयोजनामा उत्पादन हुने विद्युत् नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना छ ।