काठमाडौं । पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने दुई म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । विभागले डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारेर कागजपत्रसमेत जफत गरेको छ ।
म्यानपावरले विदेश पठाउनुअघि विभागबाट पूर्व श्रमस्वीकृति लिनुपर्छ । त्यसपछि कामदार छनौट गरेपछि अन्तिम श्रमस्वीकृति लिई पठाउने नियम भए पनि स्वीकृति बिना नै कामदार छनौट प्रक्रिया सुरु गरेको भन्दै विभागले छापा मारेको हो ।
विभागका महानिर्देशक कुमार दाहालले पूर्व श्रमस्वीकृति बिना दुई म्यानपावरले कामदारसँग अन्तर्वार्ता लिएको उजुरीको आधारमा छापा मारेको र केही कागजपत्र लिएको बताए । ‘हामीले यसमा कागजपत्रको आधारमा र केही कामदारसँग सोधपुछको आधारमा अनुसन्धान गरेका छौं, सोहीअनुसार म्यानपावरलाई कारबाही हुन्छ,’ उनले भने ।
एसओएस म्यानपावरमा करिब ४ सय र डीडी म्यानपावरमा करिब ४ सय जना युवाहरु अन्तर्वार्ताका लागि लाइनमा रहेको विभागले जनाएको छ । म्यानपावर कम्पनीले युवाहरुबाट डकुमेन्टसमेत जम्मा गरिसकेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार दुई म्यानपावर कम्पनीले युवाहरुलाई मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेका थिए ।
विभागका अनुसार म्यानपावर कम्पनीले युवाहरुलाई मासिक ३ हजार र ३ महिनापछि ६ हजार कतारी रियल तलब हुने भन्दै प्रलोभन देखाएको युवाहरुले बताएको विभागले जानकारी दिएको छ ।
एसओएस म्यानपावरका सञ्चालक भरत खड्काले आफूहरुले कुनै पनि कामदारको अन्तर्वार्ता नलिएको बताए । ‘हाम्रो एक सञ्चालकको बुबाको निधनका कारण कार्यालय बन्द छ, केही कामदार अफिस बाहिर आएकाले विभागलाई भ्रम भएको हुनसक्छ,’ उनले भने ।
कतारमा सुरक्षागार्डमा कामदार पठाउनका लागि पछिल्लो पटक १७ वटा म्यानपावर कम्पनीमात्र सूचिकृत भएपछि सिन्डिकेट भयो भन्दै त्यसको विरोध हुँदै आएको छ । सिन्डिकेटकै विरोध भइरहेकै बेला १७ वटा मध्येका एसओएस र डीडीले गैरकानुनी रुपमा कामदारको अन्तर्वार्ता लिएका हुन् ।