बैंग्लाेर। भारतमा कर्नाटक राज्य सरकारले प्रोपर्टी रजिस्ट्रेसन दस्तुरको दर ४० प्रतिशतले घटाएको छ। भारतीय रुपैयाँ २० लाखभन्दा कम मूल्यका फ्ल्याट खरिदमा लागु हुने गरी राज्य सरकारले यो नयाँ सहुलियत ल्याएको बताएको छ।
कर्नाटक सरकारले आवास माग तथा खरिद प्रोत्साहित गर्ने उद्देश्यले रजिस्ट्रेशन दस्तुर विद्यमान ५ प्रतिशतबाट तीन प्रतिशतमा झारेको हो।
हाल २० लाखसम्मका फ्ल्याट खरिदमा गरिएको रजिस्ट्रेशन कर सहुलियतको निर्णय अफोर्डेबल हाउजिङ (सस्ता आवास) बजारमा माग बढाउनका लागि भएको बीएस यदीयुरप्पा क्याबिनेटले जनाएको छ।
तीन प्रतिशतको नयाँ रजिस्ट्रेशन दर तोकिएको रकम सीमाभित्रका प्रोपर्टी (भवन वा जमिन) खरिद गर्ने उद्योगहरुको हकमा पनि लागू हुने संसदीय मामिला मन्त्री जेसी मधुस्वामीले बताए।
रजिस्ट्रेसन शुल्कमा गरिएको कट्टीले नयाँ घर खरिदकर्ताको ४० हजार (भारतीय रुपैयाँ) सम्म बचत हुने बताइएको छ। तर, केही रियलटरहरु भने रजिस्ट्रेसन शुल्कमा गरिएको कटौतीले रियल स्टेट क्षेत्रलाई कुनै फाइदा पुग्नेमा त्यति आशावादी छैनन्।
किनकि, यस राज्यको बैंगलुरु लगायतका शहरमा यो सहुलियतको सीमाभित्र पर्ने २० लाख रुपैयाँसम्मका फ्ल्याट पाउनै मुस्किल रहेको उनीहरुको भनाइ छ। यसकारण नयाँ रजिस्ट्रेशन दर ५० लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिदमा लागु गरिनु उपयुक्त हुने सुझाव रियलटरहरुको छ।
वास्तवमा प्रोपर्टी किनबेच गराउने संस्थाहरु र आवास खरिदकर्ताहरुले २१ लाख रुपैयाँमाथिका सबै प्रोपर्टीमा रजिस्ट्रेसन शुल्क तीन प्रतिशतसम्म मात्र लागु गर्नका लागि सरकारसँग बारम्बार माग गर्दै आएका थिए । (एजेन्सी)