काठमाडौं । त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयका विद्यार्थीले पुस्तक बोकेर खेतबारीमा कृषिउपज उत्पादन गर्दै आफ्नो पढाइ पूरा गर्ने भएका छन् । पहिलो सेमेस्टरमा विद्यालयमा रहेकामध्ये ४० विद्यार्थीले खेतबारीमा तरकारी फलाउँदै आफ्नो अध्ययन पूरा गर्ने भएका हुन् ।
सीटीईभीटीबाट मान्यता पाएपछि विद्यालयमा १८ महिने कृषिबाली विज्ञ ज्ञान पढाइ हुन थालेपछि विद्यार्थी विद्यालयको कक्षाकोठामा मात्रै सीमित नभई खेतमा रमाउने भएका छन् । आइतबार विद्यालयमा कृषि प्राविधिक विद्यालय सुचारु गरिएसँगै विद्यार्थीहरु खेतबारीमा कुटो, कोदालोसँगै अध्ययन गर्ने भएका हुन् । प्राविधिक विद्यालयलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले उद्घाटन गरे । वडा कार्यालयको पहल र गाउँपालिकाको सहयोगमा कृषि प्राविधिक विद्यालय स्थापना गरिएको हो ।
घर–घरमा प्राविधिक उत्पादन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी गाउँपालिका–३ मा प्राविधिक शिक्षाको पठनपाठन सुरु गरिएको हो । १८ महिने कोर्स अध्ययनका लागि यो वर्ष ४० जना विद्यार्थी छनोट भइसकेका छन् । सबैलाई साझा पर्ने गरी प्राविधिक विद्यालय सुनकोसीमा सञ्चालन गरिएको हो ।
विद्यार्थीलाई एक सिजनमा सहुलियत दरमा अध्यापन गराइनेछ । प्रतिविद्यार्थी बराबर १८ महिने कोर्ष ३६ हजारमै विद्यार्थीले अध्ययन गर्न पाउने विद्यालयले जनाएको छ । बाँकी खर्च गाउँपालिकाले बेहोर्नेछ । कृषि उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालित विद्यालयबाट कम्तीमा वार्षिक १ करोड माथिको उत्पादन गरेर बिक्री गर्ने लक्ष्य रहेको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । उत्पादनपछि बिक्री भएपछि ३३ प्रतिशत रकम विद्यार्थीले नै पाउनेछन् । उत्पादनको बजारीकरणका लागि वडासहित गाउँपालिकाले समन्वय गर्नेछ ।
खेतमा सिजन अनुसारको खेतीबाली विद्यार्थीहरुले आधुनिक तरिकाबाट गर्नेछन् । विद्यार्थीलाई बीउ छनोटदेखि बेर्ना उत्पादन, बेर्ना सार्ने, गोडमेल, मलखाद तथा रोग किरा नियन्त्रणका विषयमा औषधि तथा विषदीको बारेमा समेत शिक्षा दिइने वडाअध्यक्ष रिसाल बताउँछन् । ‘बाली लगाउन सिकाएर मात्रै हुँदैन, बीउ विषाधिबारे पनि जानकारी गराउनु आवश्यक छ,’ उनले भने ।
विद्यालयमा व्यावसायिक शिक्षाको पठनपाठन हुन थालेपछि विद्यार्थीहरु पनि उत्साहित छन् । १८ महिने कोर्ष पूरा गरेपछि जागिर नपाए पनि आफैंले आधुनिक तरिकाबाट खेतीपाती गरेर आर्थिक आम्दानीका लागि विदेश वा अन्यत्र गइरहनु नपर्ने भएकोले पनि विद्यार्थीको आकर्षण बढाउन यस्तो शिक्षा सुरुआत गरिएको वडाअध्यक्ष सुकदेवले बताए ।
सामान्य शिक्षा पढ्दा भविष्यमा अवसरका बाटोहरु कम हुने तर प्राविधिक कृिष विज्ञान पढेपछि आफैंले स्वरोजगार सिर्जना गरेर आत्मनिर्भर बन्न सकिने भएकाले पनि प्राविधिक विषय अध्ययन गर्नेको संख्या बढ्ने उनले विश्वास गरे ।
विद्यालयमा ऐच्छिक पेसा व्यवसाय विषयमा प्राविधिक तथा व्यवसायिक शिक्षाअन्तर्गतको बाली विज्ञानको अध्यापन गराइनेछ । प्रयोगात्मक शिक्षणका लागि १० रोपनी जग्गा भाडामा लिइएको छ । कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक भार गाउँपालिकाले गर्ने अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए ।