अहिले सेयर बजार बढेको अवस्था छ । सेयर बजार बढ्नुमा केही कारणहरू पनि देखिन्छ । खासगरी ब्याजदर अहिले न्यून विन्दुमा झरेको छ । विगतमा १४/१५ प्रतिशतभन्दा बढी भएको ब्याजदर अहिले ७/८ प्रतिशतमा छ । कोरोना कहरका कारण बजारमा लगानीयोग्य रकम (तरलता) बढी छ ।
सेयर बजार बाहेक अन्य क्षेत्रको व्यापार अघि खासै छैन । कोरोना कहरले लगानीको वातावरण पनि अझ देखिएको छैन । जसले गर्दा पैसा सजिलैसँग पाइने अवस्था बनेको छ । खासगरी गृहणी, विद्यार्थी, कर्मचारी र शिक्षक सबै क्षेत्रका कोही न कोही अहिले बजारमा प्रवेश गरिरहेका छन् । सस्तो ब्याजदरमा ऋण लिएर सेयर कारोबार गर्नेहरूको संख्या बढ्न थालेको छ ।
दोस्रो अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) वृद्धिको ४ वर्षे चक्र पूरा हुने क्रममा छ । १८८१ बाट घटेर ११०० विन्दुसम्म झरेर बजार उकालो लागेको हो । बजार बढ्ने र घट्ने चक्र पूरा भएकाले पनि अब नयाँ विन्दुको खोजीमा बजार देखिन्छ ।
बजार बढ्ने अवस्था आउनुमा जलविद्युत् कम्पनीहरू अग्रमोर्चामा देखिएका छन् । विगतमा १८ वटा जलविद्युत् कम्पनीको सेयर अंकित मूल्यभन्दा कम (प्रतिकित्ता ६०/७० रुपैयाँ) थियो । त्यतिबेला जसले सेयर बेचेको थियो, उसको आफ्नो मजबुरी थियो सायद । अर्कोतिर जलविद्युत्मै पनि सञ्चालन अवधिका बारेमा नयाँ ढंगबाट कुरा उठेको छ ।
विगतको आयोजना अवधि ३५ वर्षेलाई बढाएर ६० वर्ष बनाउने कुरा उठिरहेको छ । विगतमा प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने कुरा फेरि सतहमा आएको छ । दुवै विषयमा ऊर्जामन्त्री सकारात्मक हुनुभएको कुरा आएको छ ।
विगतमा कति जलविद्युत् कम्पनीले उत्पादन गरेका थिएनन् । अहिले विद्युत् उत्पादन भइसकेको र नियमित आम्दानी गरिरहेका छन् । विद्युत् क्षेत्रको आम्दानीमा कोरोनाका कारण असर परेको छैन । जलविद्युत् क्षेत्रमा पनि विद्युत् नियमन आयोगले नियमनको काम सुरु गरेकाले आगामी दिनमा सकारात्मक प्रभाव पर्छ भन्ने मनोविज्ञान लगानीकर्तामा देखिन्छ ।
बिमा कम्पनीहरूको अवस्थालाई पनि कोरोनाको असर खासै देखिएको छैन । कोरोना कहरमा पनि बिमाशुल्क नियमित भइरहेको छ । यसले बिमा कम्पनीको आम्दानीमा खासै ठूलो असर गरेको छैन । अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरूको मूल्य अहिले पनि सबैभन्दा न्यून विन्दुमा छ । अहिले पनि नियमित राम्रै लाभांश दिइरहेका कम्पनीहरूको सेयर मूल्य २ सयदेखि ४ सयकै बीचमा छ ।
कोरोनाकै कारण बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत)हरूको आम्दानीमा पनि ठूलो गिरावट देखिएन । उनीहरूको प्रतिसेयर आम्दानी, किताबी मूल्य, सम्पत्तिको मूल्य, ‘रिजर्भ’, मूल्य आम्दानी अनुपात राम्रै देखिएको छ । केन्द्रीय बैंक, बिमा समिति र धितोपत्र बोर्डले नियमन र सुपरिवेक्षणलाई अझ व्यवस्थित गराउँदै गएकाले लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ ।
अहिले लगानीकर्ता उच्च मूल्य भए पनि कम पुँजी भएका लघुवित्त तिर बढी केन्द्रित भएको देखिन्छ । तर, वाणिज्य बैंकहरू (बैंकिङ समूह)को सेयर मूल्यमा वृद्धि नआएसम्म बजार टिकाउ हुँदैन । सेयर बजारमा लगानी गर्ने जहिले पनि सुअवसर हो । तर, हामीकहाँ छोटो अवधिलाई केन्द्रित गरेर लगानीकर्ता बजार प्रवेश गर्दा समस्या भएको हो । दीर्घकालीन सोचसहित अघि बढ्ने हो भने पुँजी बजारबाट पछुताउनु पर्दैन ।
अहिले बजार बढिरहे पनि सेयर बजारको सुधारमा धेरै काम गर्नुपर्ने छ । त्यसका लागि हामीले सरोकारवालाहरूलाई घच्घचाइरहेका छौं । ब्रोकर कमिसन घटाउन निरन्तर दबाब दिएका छौं । सायद छिट्टै यसबारेमा निर्णय हुनेछ । अनलाइन प्रणालीलाई राम्रोसँग कार्यान्वयनमा लगेर इन्ट्रा डे ट्रेडिङ गर्नुपर्ने छ । धेरै कामहरू गर्नुपर्ने छ, हामीले सरकार र नियामकहरूलाई ताकेता गरिरहेका छौं ।
(रैनियार नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष हुन)
क्यापिटल म्यागेजिनबाट