महासंघ भनेको नितान्त उद्योगी व्यवसायीको साझा संगठन हो । यहाँ अनावश्यक राजनीति गर्नेहरूलाई कुनै पनि स्थान दिनुहुँदैन । ठूलो र सानो व्यवसायी, ठूलो र सानो उद्योगी भन्ने हुँदैन । सबै उद्योगी व्यवसायी नै हुन् ।
सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको संगठन भनेको नेपाल उद्योग वाणिज्य महासंघ नै हो । अहिले ७६ वटै जिल्लामा आफ्नो शाखा छ । उद्योग व्यवसाय फरक–फरक छ । देशभरि साना, मझौला र ठूलो उद्योग व्यवसायहरू फैलिएका छन् । त्यहीअनुसार फरक–फरक समस्याहरू छ । व्यवसाय र ठाउँअनुसार आ–आफ्नो समस्याहरू फरक हुनु स्वाभाविकनै हो ।
ती सबै क्षेत्र र वर्गको उद्योगी व्यवसायीको समस्यालाई महासंघको नेतृत्वकर्ताहरूले बुझ्न आवश्यक छ । त्यसका लागि नेतृत्वले समस्याको वास्तविक पहिचान गर्न सक्नुपर्छ । समस्याको वास्तविक पहिचान र प्रक्षेपण गर्न सक्ने क्षमता भनेको जसलाई समस्या परेको हुन्छ र त्यो समस्यालाई समाधान गरिसकेकाहरूसँग मात्र हुन्छ ।
जसलाई चोट लागेको हुन्छ, त्यसलाई मात्र थाहा हुन्छ चोटको व्यथा । चोट नै नलागेको मान्छेलाई त्यो बेथाको विषयमा केही ज्ञान हुँदैन । त्यसैले व्यावसायिक समस्या व्यवसाय गरेको मान्छेले मात्र बुझ्छ । वास्तविक व्यवसाय गर्नेहरूले मात्र आम व्यवसायीहरूको दुःख पीडा बुझ्न सक्छ ।
महासंघको गरिमा अहिलेसम्म यो अवस्थामा आइपुग्न पूर्वअध्यक्षहरूको त्याग र तपस्या धेरै छ । उहाँहरूले बगाउनुभएको थोपाथोपा पसिना र दिनुभएको योगदानकै कारण अहिले हामी छाती फुलाएर महासंघको नाम लिएर हिँड्न पाएका छौं ।
विभिन्न कालखण्डमा व्यवसायहरू फरक–फरक हुँदै जान्छ र व्यावसायिक समस्याहरू पनि फरक हुन्छ । सामाजिक, राजनीतिक परिवर्तनसँगै विश्वको अर्थतन्त्रको प्रभावसमेत यहाँ पनि आउँछ र व्यवसायमा नयाँ–नयाँ समस्याहरू आउँदै गर्छ ।
नेतृत्वमा जानेहरूले भइरहेको समस्या र भोलि आउने विश्वव्यापी अर्थतन्त्रको प्रभावले नेपालमा पर्ने समस्याको पहिचान गरी समयमै त्यसको समाधानको लागि तयारी अवस्थामा रहनुपर्छ र नयाँ ढंगबाट कसरी अघि बढ्न सकिन्छ भन्ने चिन्तन गर्नुपर्छ ।
महासंघको नेतृत्वकर्ताहरूबाट केही कमजोरीहरू भएकै छन् । म एक कार्यकाल कार्यसमितिमा बसेर हेर्दा हामीबाट कहाँ कमीकमजोरी भयो भन्ने एकिन गरेको छु । हामीसँग समस्याहरूका डाटावेश नै भएन ।
महासंघभित्र रहेको वस्तुगत, एसोसिएट र जिल्ला नगरतर्फको समस्याहरूलाई एकीकृत रुपमा ल्याएर एकमुष्ट अध्ययन गर्न नसकिएकै हो । अब, महासंघले यस्ता समस्याहरूको एकीकृत गरी प्राथमिकताका आधारमा समाधानका लागि पर्ने छौं ।
हाम्रो आवाज तब मात्र बुलुन्द हुन्छ, जब हामी एक हुन्छौं । सबै जना एक भएर सरकारसँग लबिङ गरेयौं भनेमात्र उद्योगी व्यवसायीहरूको माग सुनुवाइ हुन्छ । हामी सधैं नेतृत्वमा आउनका लागि एक अर्काबीच आरोप प्रत्यारोप लगाउने, व्यवसायीबीच लड्ने काम छोडेर सबैले एउटै मात्र उद्देश्य राखेर अघि बढ्न सक्नुपर्छ ।
त्यो उद्देश्य भनेको उद्योगी व्यवसायीको हकहितको सुरक्षा गर्नु हो । चाहे त्यो ठाउँमा आफू रहूँ वा नरहूँ । आफु नहुँदा पनि बाहिर बसेर सहयोग गर्नुपर्छ भन्ने सबैले बुझ्न जरुरी छ । आफू भए सबै ठीक नभए बेठीक भन्ने धारणा परिवर्तन गर्नुपर्छ, यो सोच सबैले त्याग्न सक्नुपर्छ ।
अहिलेको अर्थतन्त्रको अवस्था जटिल मोडमा छ । कोरोनाका कारण धेरै उद्योगी व्यवसायीहरू समस्यामा परेका छन् । उनीहरूको समस्या समाधानका लागि सरकारी निकायहरूसँग समन्वय गर्न आवश्यक छ । व्यवसायीहरूलाई सरकारी राहतका प्याकेजहरू ल्याउनका लागि पहल गर्नुपर्छ ।
व्यावसायिक एकता बिना अहिलेको यो जटिल मोडबाट अघि बढ्न सक्ने स्थिति छैन । सबैभन्दा बढी पर्यटन क्षेत्र तहसनहस भएको छ । त्यसैले सरकारले निर्माण र पर्यटन क्षेत्रलाई विशेष जोड दिन आवश्यक छ । सरकारले यी दुई क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्यो भने अरु क्षेत्र विस्तारै अघि बढाउन सकिन्छ । त्यसका लागि महासंघको नेतृत्वकर्ताहरूले विशेष जोड दिनुपर्ने बेला आएको छ ।
( पाण्डे यसअघि लोमश ग्रुपबाट एसोसिएटतर्फका कार्यकारी सदस्य हुन र अहिले पनि सोही ग्रुपबाट कार्यकारी सदस्यमा उम्मेदवारी दर्ता गराएका पाण्डेसंग सुवास योञ्जनले गरेको कुराकानीमा आधारित)