काठमाडौं । बंगलादेशबाट सरकारदेखि सरकार(जीटुजी) मार्फत खरिद गर्ने ५० हजार मेट्रिक टन मल आयात पनि अन्योलमा परेको छ । यसअघि मन्त्रिपरिषदले मल खरिद गर्ने सैद्धान्तिक निर्णय गरे पनि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन ।
जीटुजीमार्फत मल खरिद प्रक्रियामा केही अलमल परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
यसबारे क्यापिटल नेपालसँगको कुराकानीमा सुवेदीले भने, ‘खै, त्यस्तै–त्यस्तै भइरहेको छ, हामी छलफलमै छौं ।’
गहुँको सिजनका लागिसम्म बंगलादेशको मल आउने भए पनि त्यति बेलासम्म पनि आउन नसक्ने देखिएको हो ।
उनले पनि गहुँका लागि अरू देशबाट मल आउने बताए । ‘गहुँका लागि अरू मल आउँछ । बंगलादेशको मल नै किन आउन पर्यो । मल आए त भइहाल्यो नि ।’ गहुँ खेतीका लागि भारत वा अन्य मल आउने केसीले बताए ।
मन्त्रिपरिषदले सैद्धान्तिक रूपमा मल खरिद गर्न गरेको निर्णयको पत्र कृषि तथा पशुपन्छी मन्त्रालयमा नआएको प्रवक्ता केसीले बताए । यसले पनि मल खरिदमा ढिलाइ भएको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयको ड्राफ्ट बंगलादेश सरकारसँग आइनपुगेकाले पनि मल खरिदमा ढिलाइ हुन पुगेको नेपालका लागि बंगलादेशका राजदूत वंशीधर मिश्रले क्यापिटल नेपालसँग बताए ।
‘हामीले मल खरिदका लागि कूटनीतिक पहल गरिरहेका छौं । तर, जीटुजीमा खरिद गर्ने भनेर मन्त्रिपरिषद् जुन निर्णय गर्यो । त्यो निर्णय सहितको ड्राफ्ट नै बंगलादेश सरकारसमक्ष आउनुर्छ । त्यो नै आएन्,’ उनले भने ।
मन्त्रिपरिषद्ले जीटुजीमार्फत मल खरिद गर्न निर्णय गरे पनि त्यसको पत्र कृषि मन्त्रालयमा अहिलेसम्म किन गएन भन्ने प्रश्न उठेको छ ।
सरकारले छिटोभन्दा छिटो प्रक्रियाबाट जीटुजीमा खरिद प्रक्रिया अपनाएको हो । मन्त्रिपरिषद्ले गत कात्तिक २५ गते मल खरिद गर्ने निर्णय गरेको थियो ।
त्यतिबेला नै प्रक्रिया अघि बढेको भए अहिलेसम्म मल आइपुग्ने बेला हो । तर, मन्त्रिपरिषदले गरेको निर्णयको पत्र दुई सातासम्म मन्त्रालयसम्म नपुग्नु दुखद पक्ष हो ।