काठमाडौं । रामेछाप र दोलखाको सिमानामा रहेको खिम्तीखोलामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाले एक महिनापछि निर्माण थाल्ने भएको छ । चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चिनियाँ कम्पनीले अहिले निर्माणअघिका पूर्वाधारका काम सम्पन्न गर्दै छ ।
एक महिनापछि कम्पनीले आयोजना मुख्य निर्माणको काम सुरु गर्ने आयोजनाका इन्जिनियर रामहरी शर्माले जानकारी दिए । ‘अहिले आयोजना सुरु गर्नुअघिका पूर्वाधारका कामहरु झन्डै निर्माण भइसकेका छन्,’ उनले भने, ‘एक महिनापछि कम्पनीले मुख्य निर्माणको काम सुरु गर्दै छ ।’ आयोजना अधिकांश संरचना भूमिगत हुनेछन् ।
इन्जिनियरिङ, प्रक्युपमेन्ट, कन्स्ट्रक्सन र वित्तीय व्यवस्थापन (ईपीसीएफ) मोडलमा बन्न लागेको यो पहिलो आयोजना हो । अहिलेसम्म आयोजनामा तीन ओटा पुल, १० किमि बाटो निर्माण, ९ किलोमिटर ट्रान्समिसन लाइन र १४ ओटा स्तरीय क्याम्प निर्माण गरिसकिएको शर्माले बताए । त्यस्तै पुरानो सडक मर्मत र स्तरोन्नति, वाटर सप्लाई र जग्गा खरिद गर्ने काम सकिएको उनले बताए । २०७५ माघमै आयोजनाको मुख्य काम सुरु गर्ने भनेपछि कम्पनीलाई ‘एड्भान्स पेमेन्ट’मार्फत १० प्रतिशत भुक्तानी प्रक्रियाका कारण ६ महिना ढिलाइ भएको आयोजनाले जनाएको छ । करिब ९ अर्ब रुपैयाँमा आयोजना निर्माण गर्न पिपल्स इनर्जी लिमिटेड र चिनियाँ कम्पनीबीच २०७४ फागुन ३० मा सम्झौता भएको थियो ।
सम्झौताबमोजिम आयोजनाले १० प्रतिशत अर्थात् ९० करोड रुपैयाँ चिनियाँ कम्पनीलाई अग्रिम भुक्तानी गर्नुपर्छ । बाँकी रकम विद्युत् उत्पादन भएपछिको २ वर्षभित्र भुक्तानी गर्नुपर्ने सम्झौता छ ।
सानिमा बैङ्कको अगुवाइमा विभिन्न ९ ओटा बैङ्कको सहलगानी हुनेछ । २ वर्षअघि निर्माण अनुमतिपत्र (लाइसेन्स) पाएको आयोजनाको ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।